OnlinePana

आज : २०८२ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
साउन २६, २०८१
१६२ पटक

२७ साउन २०८१, शनिबार

आगामी मंसिर २–९ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आउन १०० दिन बाँकी हुँदा आजदेखि दिनगन्ती सुरु भएको छ ।

कर्णाली प्रदेश आयोजक रहेको उक्त खेलकुद प्रतियोगिताका एक सय दिन बाँकी रहेको पूर्वसन्ध्यामा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णालीले आफैले बनाएको गीत सार्वजनिक गरेको छ । उक्त गीत सार्वजनिक गर्दै कर्णाली सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले प्रतियोगितामा स्वर्ण पदक जित्ने गरी तयारी गर्न परिषद् र खेलकुदसँग सम्बन्धित सबै संघहरुलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “राजनीतिले विभाजित देशलाई खेलकुदका माध्यमबाट जोड्ने गर्दैछौं । यसमा कर्णाली सक्षम छ भन्ने सन्देश दिने प्रयास हुँदैछ । तोकिएको मितिमै खेलकुद प्रतियोगिता सम्पन्न हुने गरी युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद आवश्यक समन्वय गरी थप कार्य अगाडि बढाउँछौं । उहाँले रंगाशाला निर्माण कार्य जिम्मा लिएको निर्माण कम्पनीलाई समय पूर्वाधार निर्माणको काम सम्पन्न गर्न निर्देशन दिनुभयो ।

कर्णाली प्रदेश खेलकुद परिषदका सदस्य सचिव विश्वमित्र सञ्ज्यालले रंगशालाको निर्माण कार्य ९० प्रतिशत भएको यद्यपि वर्षाका कारण १० प्रतिशत काम बाँकी रहेको बताउनुभयो । “दशौं खेलकुद प्रतियोगिताको १०० दिनमा हामीले पूर्वाधार निर्माण सम्पन्न मात्र नभई बसोबास र यातायातको सबै तयारी गर्नुछ,” उहाँले भन्नुभयो, “अब दिन होइन, घण्टाको हिसाबले युद्धस्तरमा काम हुन्छ ।”

दुई अंकको स्वर्ण पदक प्राप्त गर्ने लक्ष्यका साथ तयारी भइरहेको बताउँदै सदस्य सचिव सञ्ज्यालले कर्णालीमा २४ खेल प्रतियोगिता सञ्चालन गर्न सकिने बताउनुभयो । उहाँका अनुसार त्यही अनुसार यहाँका दश जिल्लामा खेलकुद प्रतियोगिता सञ्चालनका लागि पूर्वाधार निर्माणका काम धमाधम भइरहेको छ ।

परिषद्ले प्रतियोगिताको लोगो (प्रतीक चिन्ह) र मस्कट सार्वजनिक केही दिनमा हुने भएकोले आज गीतमात्रै सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको गीतको शब्द क्षितिज समर्पण, संगीत सन्तोष श्रेष्ठ र स्वर सन्तोष श्रेष्ठ, दुर्गा परियार, कृष्ण बस्याल र धनमाया रानाको रहेको जनाईएको छ ।

प्रतिकृया दिनुहोस्