OnlinePana

आज : २०८१ पौष ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २५, २०८१जुम्ला,
७९ पटक

साउन २५ गते । बाजुरास्थित बडिमालिका मन्दिरको पूजा आराधना गर्न जुम्लाको सरकारी डोली बडिमालिका तिर प्रस्थान गरेको छ । तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्त रुपमा पूजा गर्ने प्रचलन अनुसार जुम्लाबाट सरकारी टोली प्रस्थान गरेको हो ।

जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रशासकीय अधिकृत मीनबहादुर रावलको नेतृत्वमा पुजारी विष्णुप्रसाद उपाध्याय लगायतको सरकारी टोली बडिमालिका प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय अगाडी रहेको दरबार मालिका मन्दिरमा झोलीको पूजा गरेर यात्रा सुरु भएको थियो ।

दिउँसोे जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे लगायतको सरकारी उच्च अधिकारीहरूले टोलीको बिदाइ गरेका थिए । नेपाली सेनाको एक टुकडीले बटुक भैरवनाथ, चन्दननाथ बाबा र दरवार मालिकाको सलामी अर्पण गरेपछि टोली अघि बढेको थियो । जिल्ला प्रहरी कार्यालय भित्र रहेको बडिमालिका माईको मन्दिरमा पूजाआजा पछिको अन्तिम सलामी अर्पण गरेर टोली प्रस्थान गरेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

नाग पञ्चमीका दिनमा बडिमालिका तर्फ प्रस्थान गर्ने परम्परा अनुसार जुम्लाको टोली त्यस तर्फ प्रस्थान गरेको स्थानीय चित्रलाल श्रेष्ठले जानकारी दिए । सरकारी टोली १८ दिनको पैदल यात्रापछि बडिमालिकामा पुगेर पूजा आजा गरेर जुम्ला सदरमुकाम खलङ्गामै फर्कन्छ । परम्परा देखि अञ्चलाधीश कार्यालयको मातहमा चालिआएको पूजाआजा अहिले जिल्ला प्रशासन कार्यालयको मातहमा चलिरहेको छ ।

बडिमालिका माईको पूजा आजा गरेमा मनको इच्छा पुरा हुने धार्मिक विश्वास रही आएको छ । तत्कालीन बडा हाकिमको नेतृत्वमा बडिमालिका जाने चलन रहे पनि हाल जिल्ला प्रशासन कार्यालयले प्रतिनिधि पठाउने गरेको छ । शुक्रवार प्रस्थान गरेको टोली कृष्ण जन्माष्टमीको अघिल्लो दिनमा फर्किने गरेको छ । टोली फर्किएको भोलिपल्ट लाख्य काट्ने चलन छ । स्थानीयले आफ्नो मनको इच्छा पुरा हुने आसमा ध्वजा, अक्षता नासो पठाएका छन् । जुम्लाबाट लिएको अक्षता, फूलपाती बडिमालिकामा लिएर चढाइन्छ ।

शुक्रवार मध्यान्ह हिँडेको टोलीको पहिलो बास तातोपानीमा हुन्छ । नेपाली सेनाको देवीदत्त गणबाट आएको टोली र जिल्ला प्रहरी कार्यालयबाट आएको टोली र सशस्त्र प्रहरी बलको टोलीले बाजागाजा सहित निशान भगवती, चन्दननाथ, भैरवनाथ र बडिमालिका माईलाई ब्यान्ड बाजा, डोल बजाएर बिगुल फुकेका थिए । हरेक वर्ष भगवतीको लागी सुनको टिका, चाँदीको बिनायो, चाँदीको मुरली, चाँदीको काँगियो र चाँदीको छत्र बनाएर पठाइने गरिन्छ ।

बडिमालिकाको डोली पठाउनको लागि गाउँ‘गाउँ‘बाट दर्शनालुहरु खलङ्गामा आएका थिए । यो सँगै यो वर्षको जात्रा औपचारिक रुपमा सुरु भएको छ । डोली ल्याएर फर्कदा खस भाषाको केन्द्र विन्दुमा रहेको जुम्ला सिजाको कनकासुन्दरी मन्दिरमा पूजाआजा गरेर फर्कने परम्परा छ । बडिमालिकाको डोली पठाउन हजारौँ जुम्ला बासी सदरमुकाम खलङ्गामा जमघट भएका हुन ।

फोटो : बडिमालिका जानुपूर्व जुम्लामा भक्तजनको भिड तस्बिर : नेत्र शाही जुम्ला ।

प्रतिकृया दिनुहोस्