OnlinePana

आज : २०८१ पौष १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन १५, २०८१सुर्खेत
८१ पटक

१५ साउन २०८१ मंगलबार

कर्णाली प्रदेशले आर्थिक वर्ष २०८०÷०८१ मा रु.चार अर्ब ११ करोडको कृषि तथा पशुपंक्षीजन्य उपज प्रदेश बाहिर निर्यात गरेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा साेमबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममार्फत रु.चार अर्ब ११ करोड ७७ लाख ८१ हजार रकम बराबरको कृषि तथा पशुपंक्षीजन्य उपज कर्णाली प्रदेशबाट निर्यात भएको तथ्याङ्क सार्वजनिक गरिएको हो । मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले उक्त तथ्याङ्क सार्वजनिक गर्दै कृषिजन्य उपज (तरकारी, सुन्तला, फलफुल, मसलाबाली, मह आदि) रु.दुई अर्ब २६ करोड ६७ लाख ११ हजारको प्रदेशबाहिर निर्यात गरिएको जनाउनुभयो ।

त्यस्तै, पशुपंक्षीजन्य उपज (खसी, दुध, माछा, मासु, घ्यू, राडीपाखा, छुर्पी आदि) रु.एक अर्ब ८४ करोड ९० लाख ७० हजारको निर्यात गरिएको उहाँको भनाई थियो । कर्णाली प्रदेशको मूल प्रवेशद्वारा बबई र कपुरकोटको नाकाबाट लिइएको तथ्याङ्क अनुसार कृषि तथा पशुपंक्षीजन्य उपजबाट रु.चार अर्ब ११ करोड ७७ लाख ८१ हजार रकम बराबरको कर्णाली प्रदेशबाट निर्यात गरेको मन्त्रालयका सचिव टिकाराम थापाले जानकारी दिनुभयो ।

कर्णालीका युवा व्यवसायीहरुका लागि यहाँका छ बैंक तथा आठ सहकारीबाट रु.९९ करोड ९७ लाख १४ हजार पूँजी परिचालन गरी प्रदेश सरकारले रु.तीन करोड ४० लाख २३ हजार ब्याज अनुदान भुक्तानी गर्दा सोबाट कर्णालीका नौ सय ७१ व्यवसायिक कृषकहरु लाभान्वित भएको सचिव थापाले बताउनुभयो ।

पत्रकार भेटघाट कार्यक्रममा कृषिमन्त्री विनोदकुमार शाहले कृषक र कृषि व्यवसायीलाई उपलब्ध गराईने अनुदानलाई व्यवस्थित एवं प्रभावकारी बनाउन उत्पादनमा आधारित प्रोत्साहन र साना तथा मझौला कृषिमा आधारित उद्योग एवं उद्यमीहरुलाई ब्याज अनुदान सहयोग गरिने बताउनुभयो । उहाँका अनुसार कृषि क्षेत्रमा ठूला खालका भौतिक पूवाधारहरु शीत भण्डार, संकलन केन्द्र, सेलार स्टोर, प्रशोधन उद्योग आदि निर्माणपूर्व संभाव्यता अध्ययन गर्ने र ठूला योजनाहरु भन्दा साना तथा मध्यम योजनाहरुको कार्यान्वयनलाई प्राथमिकता दिइनेछ ।

 

प्रतिकृया दिनुहोस्