OnlinePana

आज : २०८२ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
साउन ५, २०८१
११७ पटक

 ५ साउन २०८१, शनिबार

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले काक्रेबिहारलाई खुला प्राकृतिक चिडियाखानाका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

उद्योग बाणिज्य संघ सुर्खेतद्वारा आज आयोजित ‘कर्णाली बृहत् वृक्षरोपण उत्सव’ उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले पुरातात्विक तथा ऐतिहाँसिक महत्व बोकेको काक्रेबिहार जंगललाई हिंस्रक बाहेक अन्य वन्यजन्तुसँग मित्रवत् सम्बन्ध कायम हुने वातावरण तयार गर्नुपर्नेमा जोड दिनुभयो । “पूर्वाधार विकास निर्माण हुँदैछ,” उहाँले भन्नुभयो, “यहाँ ट्री–गार्ड र बाटोसँग जोडिएका रुखमा सोलारको व्यवस्था गर्न सकिएमा यसको सुन्दरता अँझ बढ्छ ।”

वृक्षरोपण गरेर मात्र नपुग्ने भन्दै उहाँले त्यसको जगेर्ना र संरक्षण तथा सदुपयोग गर्न नसक्दा कर्णाली पछि परेको जिकिर गर्नुभयो । काक्रेबिहारका साथै बुलबुलेमा गरिँदै आएको वनभोजका गतिविधि आगामी दिनबाट बदल्नुपर्ने मुख्यमन्त्री कँडेलको भनाई थियो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा.केदार बरालले वन जंगल जोगाउन पछिल्लो समयमा सबै क्षेत्रको सरोकार बढेको बताउनुभयो । सचिव बरालले भन्नुभयो, “पृथ्वी हामी सबैको साझा घर हो । यसलाई जोगाउनु हामी सबैको साझा दायित्व हो ।” पृथ्वी जोगाउनमा वनको प्रधान भूमिका हुनुका साथै पर्यावरणीय सुन्दरता कायम राख्नसमेत यसले ठूलो योगदान पुर्याएको उहाँको भनाई थियो ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतका बालरोग विशेषज्ञ तथा हरित क्रान्तिका अभियान्ता डा.नवराज केसीले भोलिका पुस्ताको सुख र खुशीका लागि आज वृक्षरोपण गर्न आवश्यक रहेको बताउनुभयो । वीरेन्द्रनगर नगरपालिका ९ सुर्खेतका वडाध्यक्ष ऋषि गिरीले सुर्खेतको प्रमुख पर्यटकीय गन्तव्य काक्रेबिहारको संरक्षण, सम्वद्र्धन र विकासमा सबै सरोकारवालाहरुले विशेष जोड दिनुपर्ने बताउनुभयो ।

डिभिजन वन कार्यालय सुर्खेतका डिभिजन वन अधिकृत वसन्तबाबु श्रेष्ठले विसं.२०५९ बैशाख १ गते नेपालकै पहिलो संरक्षित वनका रुपमा घोषित काक्रेबिहारको पर्यावरण जोगाउने उद्देश्यले वृक्षरोपण गरिएको बताउनुभयो । उहाँका अनुसार धार्मिक महत्व र सुन्दरतासँग जोडिएका ज्याकाराण्डा, वीरेन्द्रफुल, मसला, कपुर, नीम र छतिवनका करिब तीन सय वृक्षरोपण गरिएका छन् । वीरेन्द्रनगर २ को आदर्श सामुदायिक वनमा एक हजार छ सय र ५ नं वडाको रामजानकी सामुदायिक वनमा दश हजार सात सय वृक्षरोपण गरिएको वन कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्