OnlinePana

आज : २०८२ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
साउन २, २०८१
२३४ पटक

१ साउन २०८१, मंगलबार

कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगर सुर्खेतमा पनि धुमधामका साथ ‘साउने संक्रान्ति तथा देउडा पर्व’ मनाइएको छ ।

जुम्ली एकता सेवा समाजको आयोजनामा सुर्खेत वीरेन्द्रनगरको खुला मञ्चमा ‘साउने संक्रान्ति तथा देउडा पर्व’ मनाइएको हो । कर्णाली प्रदेशका उपसभामुख यशोदा न्यौपानेले राँको सल्काएर ‘साउने संक्रान्ति तथा देउडा पर्व’ उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै उहाँले कर्णालीको संस्कृति र इतिहाससँग जोडिएको साउने संक्रान्तिको महत्वले हाम्रो मौलिक पहिचान दिँदै आएको बताउनुभयो ।

“‘साउने संक्रान्ति तथा देउडा पर्व’को महत्वलाई उजागर गर्दै संरक्षणमा जोड दिनुपर्दछ,” उपसभामुख न्यौपानेले भन्नुभयो, “हाम्रो पुर्खाको इतिहास र बिरासतसँग जोडिएका संस्कार, संस्कृति जोगाउनु आजको पुस्ताको जिम्मेवारी पनि हो ।” नेकपा एमाले कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक टेकराज पछाईले सिंजा सभ्यताको परिचय झल्काउने ‘साउने संक्रान्ति तथा देउडा पर्व’को जगेर्ना गर्नु आवश्यक रहेको जनाउनुभयो । उहाँका अनुसार सिंजा सभ्यतासँग सम्पन्न संस्कृति, संस्कार र रितिथितिहरु जोडिएका छन् ।

उच्च अदालत सुर्खेतका बरिष्ठ न्यायधीश कृष्णलाल भट्टराईले समाजका रहेका विकृति, बेथिति र विसंगतिका स्वरुपहरु खरानी भएर जाउन् र सकरात्मक सोच, सृजनशील कामहरु हुँदै जाउन् भन्ने सन्देश यो पर्वले दिँदै आएको बताउनुभयो । यो पर्वले भातृत्व, भगिनित्व कायम गर्नुका साथै आफ्न्त र ईष्टमित्रहरुको मिलनको अवसर प्रदान गरेको उहाँको भनाई थियो । समाजका सल्लाहकार सदस्य शेरबहादुर रोकायले चार वर्षदेखि सुर्खेतमा पनि ‘साउने संक्रान्ति तथा देउडा पर्व’लाई निरन्तरता दिँदै आएको जनाउनुभयो ।

समाजका अध्यक्ष अमृत पाण्डेले कर्णालीका मौलिक संस्कृति, संस्कार, प्रथा र रितिरिवाजहरुको संरक्षण र प्रवद्र्धनका क्षेत्रमा काम गर्दै आएको बताउनुभयो । उक्त अवसरमा राँको बालेर लुतोपुतो फाल्नुका साथै देउडा खेलिएको थियो । कार्यक्रममा सुर्खेतमा बस्दै आएका जुम्लाबासीहरुको उपस्थिति रहेको थियो । ‘साउने संक्रान्ति तथा देउडा पर्व’ काे अवसरमा कर्णाली प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिएकाे थियाे ।

प्रतिकृया दिनुहोस्