OnlinePana

आज : २०८१ भाद्र २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन १, २०८१सुर्खेत
११८ पटक

१ साउन २०८१, मंगलबार

नेकपा (माओवादी केन्द्र)का नेता तथा सांसद महेन्द्रबहादुर शाहीले नेपाली जनताको संघर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्नु प्रमुख जिम्मेवारी भएको बताउनुभएको छ ।

कटेरा मिडिया हाउस प्रा.लिद्वारा सञ्चालित झिल्को खबर डटकमद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित दोस्रो स्थापना दिवसको अवसरमा बोल्दै सांसद शाहीले जनताको त्याग, संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि रक्षा गर्न चुनौति बढ्दै गएको बताउनुभयो । कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्रीसमेत रहनुभएका शाहीले समाजमा रहेका थुप्रै विभेदको अन्त्य गर्न र सबै वर्ग, जाति, लिङ्ग, धर्म मान्नेहरुको अधिकार स्थापनाका लागि मुलुक एकात्मकबाट संघात्मक राज्यमा गएको धारणा व्यक्त गर्नुभयो ।

एकात्मक राज्यबाट न्यायोचित विकास हुन नसकेका कारण मुलुक संघीय संरचनामा बदलिएको बताउँदै सांसद शाहीले भन्नुभयो, “अहिलेको मूल जिम्मेवारी भनेकै सुशासन कायम, पूर्वाधार विकास र आर्थिक समृद्धि हो । अस्थिरताको अन्त्यगरी नेपाली जनतालाई दुःखबाट मुक्त गर्नु हो । दोहन भईरहेको राज्यको स्रोत शक्तिलाई बचाउनु हो ।” उहाँले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले ‘हाई प्रोफाईलहरुलाई जेलमा कोचेर ईतिहासमै पहिलो र गर्विलो काम गरेको दावी गर्नुभयो ।

उहाँले सरकारहरु बदलिएपनि राष्ट्र निर्माणको यात्रा र आयोजना बदलिन नहुने तर्क राख्नुभयो । उहाँले भेरी नदीबाट लिफ्टिङबाट पानी ल्याउन भन्दा वीरेन्द्रनगर नगरपालिकाको १४ नम्बर वडास्थित सुतखोलामा ड्याम बनाएर वीरेन्द्रनगरबासीलाई पानी आपूर्ति गरे खानेपानीमा दीगो व्यवस्थापन हुनुका साथै कृत्रिम ताल निर्माण गरी पर्यटक भित्र्याएर आर्थिक आम्दानी बढाउन बताउनुभयो । सांसद शाहीले प्रविधिको विकाससँगै डिजिटल माध्यमको पत्रकारिताले नयाँ आयम लिइरहेका बेला झिल्को खबरले सत्य, तथ्य समाचारहरु पस्किनुपर्ने सुझाव दिनुभयो ।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले खबर जनताको आवाज बनाउने मर्मका साथ अगाडि बढ्न सुझाउनुभयो । उक्त स्थापना दिवसमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दीपेन्द्र शर्मा महासंघ कर्णाली प्रदेशका अध्यक्ष देवीराम देवकोटा, सुर्खेत जिल्ला शाखा अध्यक्ष ललित बसेल, कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र संज्याल, एसओएस हर्मन माइनर स्कुलका प्रधानाध्यापक हरिहर बस्नेतसहित पत्रकार तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्