OnlinePana

आज : २०८१ पौष २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १५, २०८१सुर्खेत
५२६ पटक

१४ असार २०८१, शुक्रबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले ‘हरित कर्णाली र दीगो वन व्यवस्थापनका लागि वृक्षारोपण’ गरिएको बताउनुभएको छ ।

डिभिजन वन कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा आज देखि सुरु गरेको ‘प्रदेश राजधानी हरियाली कार्यक्रम २०८१’ को शुभारम्भ गर्दै मुख्यमन्त्री कँडेलले भावी सन्तति, सिंगो मानव समुदाय, वन्यजन्तु र प्रकृति संरक्षणका लागि वृक्षारोपण आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “वृक्ष रोप्ने तर त्यसको हेरचाह, दीगो व्यवस्थापन, संरक्षणमा वेवास्ता गर्ने अहिलेसम्मको परम्परालाई बदल्नुपर्छ । वृक्षारोपण कर्मकाण्ड पुरा गर्न होइन, यहाँका नागरिकहरुको स्वस्थ जीवन र समृद्धिका लागि हो ।”

सरकारीस्तरबाट गरिएका कार्यहरु क्या राम्रो हुँदा रहेछन भन्ने अनुभूति हुने गरि वृक्षारोपण कार्य गर्न सम्बन्धित निकायलाई उहाँले निर्देशन दिनुभयो । डिभिजन वन कार्यालयले वीरेन्द्रनगर ११ सुर्खेतस्थित सुब्बाकुनादेखि वडा नं. १ बाङ्गेसिमलसम्मको रोडको डिभाइडरमा ‘भावी सन्तती र समृद्धिका लागि वृक्षारोपण’ भन्ने मूल नाराका साथ स्वामी, कल्की फूल, पारिजात लगायतका सौन्दर्य मूल प्रजातिका वृक्षाहरु रोप्ने कार्य सुरु गरेको डिभिजन वन अधिकृत वसन्तबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यालयले अघि सारेको ‘प्रदेश राजधानी हरियाली कार्यक्रम २०८१’ मा सहकार्य तथा समन्वयका लागि हातेमालो गर्न वातावरणप्रेमी व्यक्तित्वहरुसँग आग्रह गरिएको छ । त्यस्तै, ११ दिने प्रदेश राजधानी वृक्षारोपण कार्यक्रमअन्तरगत ट्रिगार्डसहित एक हजार एक सय ११ वटा बिरुवा वीरेन्द्रनगरका मुख्य सडकहरुका डिभाइडरमा रोपिने लक्ष्य रहेको छ ।

डिभिजन वन अधिकृत श्रेष्ठले रु.२० लाख बजेटमा सञ्चालन हुने उक्त कार्यक्रमबाट रोपेका बिरुवाहरुको उचित हेरचाह, व्यवस्थापन एवं संरक्षणका लागि ‘वन हेरालु’ समेत परिचालन गरिने बताउनुभयो । वृक्षारोपण कार्यक्रममा कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गबहादुर रावत, प्रदेश सचिवलगायत वातावरणप्रेमीहरुको सहभागिता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्