OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ५, २०७७ सुर्खेत
५९१ पटक

सुर्खेत, ५ जेठ २०७७ : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नागरिकको जीवन सुरक्षा सरकारको पहिलो काम भएको बताउनुभएको छ ।

लकडाउनको कारण उद्योग व्यवसायमा परेको असरका विषयमा जानकारी गराउन आज मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेका उद्योग बाणिज्य संघ सुर्खेतका प्रतिनिधिहरुसँगको छलफलमा मुख्यमन्त्री शाहीले कोरोनाले निम्त्याएको संकटका सामु अरु सबै समस्या गौण रहेको प्रतिक्रिया दिनुभयो । “विश्वव्यापी संकटका रुपमा देखिएको कोरोनाका विरुद्ध सरकार सबै शक्तिका साथ लडिरहेको छ,” मुख्यमन्त्री शाहीले भन्नुभयो, “यो घडीमा सबै क्षेत्रको सहयोग आवश्यक छ ।”

उहाँले कोरोनाको संकट समाधानका लागि एकतावद्ध प्रयास आवश्यक भएकोप्रति जोड दिनुभयो । अत्यावश्यक सामाग्रीको आपूर्ति बाहेकका अन्य व्यापार व्यवसाय तत्कालका लागि सञ्चालन गर्न नसकिने भन्दै मुख्यमन्त्री शाहीले नागरिकको जीवन सुरक्षा नै सरकारको प्राथमिक दायित्व भएको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, “अहिले हामीले निकै नै संकटपूर्ण अवस्था गुज्रिरहेका छौं । यो संकट व्यवस्थापनमा सरकारले गरेका निर्णय कार्यान्वयन गर्नु सबै नागरिकको कर्तव्य हो ।”

उक्त छलफलको क्रममा मुख्यमन्त्री शाहीले प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि नीति, कार्यक्रम र बजेटको तयारी गरिरहेको अवस्थामा सरकारले लिने नीतिका सम्बन्धमा नीजि क्षेत्रलाई सुझाव दिन आग्रह गर्नुभयो । उहाँले थप्नुभयो, “कर्णालीको वस्तुगत अवस्थामा टेकेर पारदर्शीरुपमा आगामी नीति कार्यक्रम र बजेट निर्माण गर्ने सरकार सोच छ । अहिलेको संकटले नीजि क्षेत्रलाई पारेको असर सम्बोधन कसरी गर्न सकिन्छ ? हामीलाई नीजि क्षेत्रको सुझाव चाहिएको छ ।”

कर्णालीको विकास र समृद्धिका लागि नीजि क्षेत्रको सहभागिता अनिवार्य रहेको बताउनुभएका मुख्यमन्त्री शाहीले यहाँको विकास र समृद्धिको अभियानमा नीजि क्षेत्रलाई पनि साथमा लिएर सरकार अघि बढ्ने विश्वास दिलाउनुभएको थियो ।

प्रतिकृया दिनुहोस्