OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ३, २०७७काठमाडौं
४३७ पटक

२०७७ जेठ ३ शनिबार । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड-१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । नेपालमा कोभिड-१९ बाट मृत्युभएको यो पहिलो घटना हो ।

मृतक महिलाको १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो । आमाछोरा दुबैको स्वास्थ्य सामान्य थियो र उनीहरू २५ गते डिस्चार्ज भएर घर फर्किएका थिए । तर उनलाई ज्वरो र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आएपछि बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्न लगिएको र त्यहाँ पनि निको नभएपछि धुलिखेल अस्पताल ल्याउने क्रममा बाटैमा उनको निधन भएको थियो ।

महिलाको मृत्युको रोग कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको र पछि उनको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको यियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि उनको रिपोर्ट पोजेटिभ नै आएको छ । यद्यपि उनको मृत्यु कोरोनाकै कारण भएको घोषणा गर्नुपूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नै अध्ययन टोली धुलिखेल अस्पतालमा पठाएको थियो ।

टोलीको रिपोर्टका आधारमा मन्त्रालयले उनको मृत्यु कोरोनाका कारण भएको घोषणा गरेको छ । मन्त्रालयले शनिबार साँझ विज्ञप्ति जारी गर्दै भनेको छ, ‘‘ विस्तृत विवरण लिइएको र कोभिड-१९ सँग सम्वन्धित थप परीक्षण पश्चात नेपालमा कोभिड-१९ बाट मृत्युभएको पहिलो घटना भएको पुष्टि भएको छ ।’

मृतको घर र माइतीगाउँ सिल

कोरोना भाइरस रोगकै कारण महिलाको मृत्यु भएको पुष्टि भएपछि उनको घर र माइती गाउँलाई सिल गरिएको छ । मृतकको घर बाह्रबिसे नगरपालिका ९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिनुभयो । उहाँका अनुसार माइती गाउँबाट आफन्तहरु भेट्न गएकाले गाउँ पनि सिल गरिएको हो । सिल गरिएका वडाबाट कोही व्यक्ति बाहिर आउन र वडाभित्र प्रवेश गर्न पाउने छैनन् ।

जिल्लाको कोभिड-१९ विपद व्यवस्थापन केन्द्रले त्यस क्षेत्रका बासिन्दालाई घरबाहिर निस्कन नदिने आग्रह गरेको छ । सरकारले सिल गरिएको क्षेत्रमा सेना र प्रहरी परिचालन गरेको छ । यस्तै मृतकको हालै स्वास्थ्य जाँच गराएको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र पनि सिल गरिएको छ । उनको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक ट्रेसिङ गरी पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने र क्वारेन्टाइनमा राख्ने पनि निर्णय भएको जनाईएको छ ।

प्रतिकृया दिनुहोस्