OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ३, २०७७ सुर्खेत
४५१ पटक

सुर्खेत, ३ जेठ २०७७ : नेपाल सरकारले लकडाउन गरेको आज ५४औं दिन पुगेको छ । यो समय सुर्खेतमा सबैभन्दा बढी आत्महत्याकै घटना घटेको पाईएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले लकडाउन अवधिको आज ५४औं दिनमा सुर्खेत जिल्लामा ५४ घटना घटेको विवरण सार्वजनिक गरेको छ । जसमा आत्महत्या घटना मात्रै २१ रहेका छन् । त्यस्तै जबरजस्ती करणी र सार्वजनिक सुरक्षाविरुद्ध आठ÷आठ मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिनुभयो ।

त्यस्तै, लागु औषधसम्बन्धी र फुटकर ज्यान सम्बन्धीका तीन÷तीन मुद्दा अघि बढेको सूचना अधिकारी रायमाझीले बताउनुभयो । यो समयमा घरेलु तथा सामाजिक हिंसाका घटना पनि बढेको उहाँको भनाई छ । सूचना अधिकारी रायमाझीका अनुसार हातहतियार खरखजना, सवारी भव्यतव्य ज्यान सम्बन्धी, ज्यान मार्ने उद्योग, बोक्सीको आरोपलगायतका घटनाहरु बिगत भन्दा निकै कम मात्रामा रहेका छन् ।

कार्यालयका अनुसन्धान अधिकृत भरत शाहले आत्महत्याका घटना बढ्नुमा भने मानसिक समस्या (निराशा) प्रमुख कारण भएको बताउनुभयो । त्यससँगै, गरिबी, घरयासी तथा सामाजिक कलह, बुझाईको कमी पनि आत्महत्यको कारण रहेको अधिकृत शाहले जनाउनुभयो ।

“यो अवधिमा सामान्य घरयासी पारिवारिक विवादमा समेत मान्छेले आत्महत्या गरेको पाईएको छ,” उहाँले भन्नुभयो, “यो भनेकै बुझाई तथा सहन क्षमतामा कमी र डिप्रेसन नै हो । यस्ता खाले समस्याको न्यूनिकरणका लागि सचेतनामूलक मनोविमर्श, मनोवैज्ञानिक परामर्श र अनुकूल सामाजिक वातावरण आवश्यक रहेको उहाँको भनाई थियो ।”

डिप्रेसनसँगै पछिल्लो समयमा कोरोनाको मनोवैज्ञानिक नकरात्मक प्रभाव पर्न नदिन यसको विषयमा अत्यधिकरुपमा मनोबल उच्च हुने खालको सचेतना आवश्यक भएको सामाजिक मनोविमर्शकता नन्दराज आचार्यले बताउनुभयो । “कोरोना महामारीको यो संकटपूर्ण अवस्थामा डिप्रेसनका बिरामी झनै बढ्ने सक्ने खतरा छ,” आचार्यले भन्नुभयो, “राज्यले यो विषयमा बेलैमा मनोवैज्ञानिक परामर्श दिने कार्यक्रमलाई अगाडि बढाउनुपर्छ ।”

उहाँका अनुसार विशेषगरी ज्याला मजदुरी गर्ने, हिंसा पीडित तथा विपन्न घर परिवारका मान्छेहरुमा देखिने मानसिक समस्याको अन्तिम परिणाम आत्महत्या बन्न गएको छ । यसरी लकडाउनको समयमा आत्महत्याका घटनामा बढिरहेको बेला एक महिनामा दर्जनौ सवारी दुर्घटनाको तथ्याङ्क सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय सुर्खेतले यो दुई महिने अवधिमा भने सवारी दुर्घटनामा ९९ प्रतिशत कमी आएको तथ्याङ्क बाहिर ल्याएको छ ।

प्रतिकृया दिनुहोस्