OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाहीजेठ २, २०७७ सुर्खेत
४७४ पटक

सुर्खेत, २ जेठ २०७७ : सेभ द चिल्ड्रेन मध्य तथा सुदुरपश्चिम फिल्ड कार्यालयले कर्णाली प्रदेश सरकारलाई ८८० थान स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

सेभ द चिल्ड्रेनले नोबेल कोरोना भाइरस (कोभिड–१९) को प्रकोपबाट बच्न सघाउने उद्देश्यले आज व्यक्तिगत तथा अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्री प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावललाई हस्तान्तरण गरेको हो । उक्त संस्थाले ८८० थान व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) र स्वास्थ्य सामग्रीहरुमा ३७० थान डिस्पोजेवल एप्रोन, ३६२ थान एन–९५ मास्क, ३३ थान आईआर थर्ममिटर, १७५ जार हस्पीटल ग्रेड डिसईन्फेक्टेन्ट (पाँच लिटर), ७६ थान स्प्रे कन्टेनर, १०० थान बायोहजार्ड ब्याग, १९० थान प्रोटेक्टिभ गगल्स, र ४५५ थान कोभिड पोष्टर प्रदान गरेको छ ।

हस्तान्तरण कार्यक्रममा सेभ द चिल्ड्रेनललाई धन्यवाद दिँदै मन्त्री रावलले ‘कोभिड–१९’ महामारीको कठिन समयमा गरेको सहयोगले कर्णालीलाई ‘ग्रीन जोन’ बनाउन सहयोग पुग्ने बताउनुभयो । “कोभिड –१९ विश्वव्यापी संकट बन्दै गएको छ,” उहाँले भन्नुभयो, “अबका आउने दिनहरू अझै चुनौतपिूर्ण रहेकोले सेभ द चिल्ड्रेनको थप सहयोगको अपेक्षा गर्छौं ।” सेभ द चिल्ड्रेनले ‘कोभिड–१९’ महामारीको योजनामा शुरुवातदेखि गर्दै आएको सहयोगले प्रभावकारी योजना बनाउन मद्दत पुग्ने स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रिता भण्डारी जोशीले बताउनुभयो ।

कोरोना संक्रमण फैलिनबाट रोक्नका लागि नेपाल सरकार, प्रदेश तथा स्थानीय सरकारलाई मद्दत गर्ने र अति सीमान्तकृत समुदाय विशेषगरी जोखिममा रहेका बालबालिकाहरूसम्म स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गराउने काम प्राथमिकता रहेको सेभ द चिल्ड्रेनका कार्यक्रम प्रबन्धक अरुणकान्त पौडेलले बताउनुभयो । उहाँले यस्तो महामारीको समयमा हस्तान्तरित स्वास्थ्य सामाग्रीहरूले कोरोनाको प्रभावकारी रोकथाम, उपचार र व्यवस्थापनमा थप सहयोग पुग्ने विस्वास व्यक्त गर्नुभयो ।

सेभ द चिल्ड्रेनले मध्य तथा सुदुरपश्चिम फिल्ड कार्यालयमार्फत अस्पताल, स्वास्थ्य संस्था तथा क्वारेन्टाइन व्यवस्थापनका लागि अत्यावश्यक सामग्रीहरू १० हजार थान सर्जिकल मास्क, ६० थान म्याट्रेस –बेडलगायत विभिन्न प्रकारका आधारभूत पिपिई तथा अन्य स्वास्थ्य सामग्रीहरू कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय र यस अन्तरगतका १३ वटा पालिकालाई यस भन्दा अघि सहयोग गरेको जनाईएको छ ।

प्रतिकृया दिनुहोस्