OnlinePana

आज : २०८१ बैशाख २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन १९, २०८०सुर्खेत
१५३ पटक

 

१९ साउन २०८०, शुक्रबार

सन् १९९२ देखि शुरु गरिएको विश्व स्तनपान सप्ताह मनाउन थालेको ३१ वर्ष पुगेको छ । अगस्त १–७ सम्म मनाईने सप्ताहको अवसरमा कर्णाली प्रदेशमा सप्ताहव्यापी कार्यक्रम सुरु गरिएको छ । ‘स्तनपानमैत्री कार्यस्थलको सुनिश्चिता, सबै सरोकारवालाहरुको प्रतिबद्धता’ भन्ने नाराका साथ सुरु गरिएको सप्ताहको सन्दर्भमा आज स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले पत्रकारहरुसँग अन्तरक्रिया गरेको छ ।

अन्तरक्रियामा निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत करुणा भट्टराईले स्तनपानको महत्व, यसको योगदान, नेपाल तथा कर्णालीको अवस्था, यसले पारेको प्रभाव र सरोकारवालाहरुले पुरा गर्नुपर्ने भूमिका सम्मिलित कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यक्रममा प्रस्तोता भट्टराईले स्तनपानसम्बन्धी महत्वपूर्ण जानकारी, यस क्षेत्रमा थालिएको अभियान र गरिएका प्रयासबारे पत्रकार सञ्चारकर्मीहरुलाई अवगत गराउनुभयो ।

उहाँले भन्नुभयो, “बिगतको स्तनपान गराउने विधि, तरिका, सोच र शैलीमा फरक आएको छ । आज धेरै आमाहरुले शिशु जन्मेको कति समयपछि दुध खुवाउनपर्छ ? बिगौती दुधको महत्व के हुन्छ ? बच्चालाई दुध पुगे नपुगेको थाहा पाउने कसरी ? भन्ने बारे सजिलै जानेका छन् । तरपनि अन्य प्रदेशभन्दा कर्णालीमा स्तनपानको अवस्था कमजोर छ ।” यसको कारण भनेकै शैक्षिक र आर्थिक कमोजरी भएको अधिकृत भट्टराईको भनाई थियो ।

अन्तरक्रियामा बोल्दै स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक डा.रविन खड्काले शिशुका लागि पहिलो भ्याक्सिन आमाको दुध भएको ठोकुवा गर्नुभयो । “स्तनपान, अमृत समान’ त्यसै भनिएको होइन । शिशुका लागि आमाको दुध जत्तिकै संसारमा अरु केही छैन र यसलाई तुलना गर्न मिल्दैन,” उहाँले भन्नुभयो,

पछिल्लो समयमा अप्राकृतिकरुपमा शिशुलाई खुवाईने दुधलाई प्रतिस्थापन गर्न विश्वले स्तनपान सप्ताह मनाउँदै आएको निर्देशक डा.खड्काले बताउनुभयो । सिजेरियन सेक्सन (सिएस) गदा दुध नआउँने र अप्राकृतिकरुपमा दुध खुवाउने क्रम बढिरहेको जनाउँदै उहाँले यसको हुनुमा भौतिक, मनोवैज्ञानिक र स्थानगत अवस्था प्रमुख कारण भएको जिकिर गर्नुभयो ।

“विना लगानीको कार्य आमाले गराउने स्तनपान हो यद्यपि आमामाथि भने लगानी गर्नुपर्दछ ।” निर्देशक खड्काले भन्नुभयो, “पछिल्लो समयमा नेपाल सरकारले शिशुको स्तनपानका लागि सबै सरकारीदेखि सार्वजनिकस्थलमा स्तनपान कक्षको नीति ल्याएको छ । बिडम्बना ! कर्णालीका एकाद बाहेक सरकारी कार्यालयमा स्तनपान कक्ष स्थापना नगरिएको उहाँले बताउनुभयो ।

स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले नेपालमा स्तनपान भन्दा मद्यमान कक्ष बढी भएको व्यङ्ग्य गर्नुभयो । उहाँले भन्नुभयो, “हामी प्राकृतिकबाट अप्राकृतिकतर्फ गईरहेका छौ । अनि कसरी हृष्टपुष्ट नागरिक उत्पादन हुन सक्छ ?” यसले गर्दा प्राकृतिक स्तनपान प्रतिस्थापन गर्ने विरुद्ध सजाय गर्ने गरी सरकारले कानून बनाउनुपर्ने बाध्यता आइलागेको प्रमुख गौतमको भनाई थियो ।

नेपाल पत्रकार महासंघ सुर्खेतका सचिव ललित बुढाले राजनीतिक दलहरुको कार्यालय स्तनपानमैत्री छन् वा छैनन् भन्ने कोणबाट आवाज उठाउनुपर्ने बताउनुभयो । “यसको सुरुआत नीति निर्माण गर्ने नेतृत्व तहबाट हुनुपर्छ,” उहाँले भन्नुभयो, “त्यसपछि कार्यान्वयन तहमा काम गर्नेहरुले अनिवार्यरुपले गर्छन् ।”

प्रतिकृया दिनुहोस्