OnlinePana

आज : २०८१ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख १९, २०८०सुर्खेत
३३० पटक

१९ बैशाख २०८०, बिहीबार

कर्णाली प्रदेश सरकारका प्रमुख सचिव डा.गोपीकृष्ण खनालले प्रदेश सरकारले जलवायु परिवर्तनको जोखिम कम गर्ने योजना बनाउन थालिएको बताउनुभएको छ ।

जापान सरकारको आर्थिक तथा युएनडिपीको प्राविधिक सहयोग र नेपाल सरकारको सहकार्यमा आज वीरेन्द्रनगर सुर्खेतमा ‘आयोजित जलवायुसम्बन्धी स्थानीय कार्यहरुमार्फत मानवीय सुरक्षा सुदृढीकरण’ प्रारम्भिक कार्यशालाको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले मुलुकमा सबैभन्दा कर्णाली प्रदेश नै कमजोर र क्षति भोगेको बताउनुभयो । विपद्का हिसाबले पछिल्लो समय कर्णालीको मानव जीवन कष्टकर बन्दै गएको उहाँको भनाई थियो ।

प्रमुख सचिव डा.खनालले भन्नुभयो, “जलवायु परिवर्तनको समस्यालाई रोक्न घर परिवारदेखि राष्ट्रियरुपमा व्यवहार परिवर्तन गर्न जरुरी छ । यो समस्या विरुद्ध जुध्न सबै सरोकारवालाहरुले साझा चिन्तनका साथ आफ्नो भूमिका निर्वाह गर्नुपर्दछ ।”

युएनडिपीका सह–आवासीय प्रतिनिधि बर्नार्डो कोकोले कर्णाली प्रदेशका लागि यो कार्यक्रम नयाँ भएकोले जलवायु परिवर्तनको समस्यालाई रोक्न सबै सरोकारवालाहरुको भूमिका साझारुपमा हुनुपर्नेमा जोड दिनुभयो । जलवायु परिवर्तन सम्बन्धी जाजरकोटको नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा सञ्चालन हुने भन्दै प्रतिनिधि कोकोले जलवायु परिवर्तनले कृषि, स्वास्थ्य, शिक्षा र पूर्वाधारका क्षेत्रमा ठूलो समस्या देखिएकोले सो समस्यासँग जुध्नु आजको आवश्यक भएको जनाउनभयो ।

कर्णाली प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाहीले जलवायु परिवर्तनको असर कर्णालीका हिमाली जिल्लामा देखिन थालेको जनाउनुभयो । “यहाँका हिमाली जिल्लामा डेङ्गु देखिन थालेको छ,” उपाध्यक्ष शाहीले भन्नुभयो, “यसले गर्दा वातावरणीय हिसाबले कर्णाली बढी जोखिममा छ ।”

राष्ट्रिय विपद् जोखिम तथा व्यवस्थापन प्राधिकरणका उपसचिव राजेन्द्र शर्माले प्राकृतिक विपद्को उच्च जोखिममा रहेको कर्णाली प्रदेशका सबैखाले संरचनाको अवस्था अध्ययनका लागि प्राधिकरणले योजना बनाएको बताउनुभयो । उहाँका अनुसार विपद् प्रतिकार्यका लागि पूर्वतयारी र पूर्व सूचना कसरी पुर्याउने भन्ने विषयमा कार्य योजना निर्माणको कार्य अगाडि बढाइएको छ ।

उक्त कार्यशाला गोष्ठीमा नलगाड नगरपालिकाका प्रमुख डम्बरबहादुर रावतले जलवायु परिवर्तनको असर बढ्दै गएकोले अतिवृष्टि, अनावृष्टि र खण्डवृष्टि पनि हुन थालेको जनाउनुभयो । ती समस्या समाधानका लागि पालिकाले विपद् पूर्वतयारीको कार्ययोजना र क्षमता विकासको कार्यक्रम बनाइएको प्रमुख रावतले बताउनुभयो ।

बारेकोट गाउँपलिकाका अध्यक्ष बीरबहादुर गिरीले मानव क्रियाकलाप प्रकृतिमैत्री बन्ने गरी नीति निर्माण हुनुपर्नेमा जोड दिनुभयो । हामीले अहिले गरेको विकासले विनास निम्त्याएकोले यसबारे गम्भीररुपमा नसोचे अँझै त्यसले भोलि ठूलो समस्या सामना गर्नुपर्ने उहाँको भनाई थियो ।

प्रतिकृया दिनुहोस्