OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाहीबैशाख २७, २०७७सुर्खेत
१७५९ पटक

सुर्खेत, २७ बैशाख २०७७ : मुलुकका सातवटै प्रदेशसहित कर्णाली प्रदेशमा पनि ‘आईसिटी ईन एजुकेसन’ अनलाइन तालिम सम्पन्न भएको छ ।
एकीकृत अखिल नेपाल शिक्षक शिक्षक संगठन कर्णाली प्रदेशद्वारा आयोजित पाँच दिने सूचना, सञ्चार र प्रविधिसँग सम्बन्धित ‘आईसिटी ईन एजुकेसन’ अनलाइन तालिम सम्पन्न भएको हो । नेपालको शिक्षा प्रणालीलाई सूचना र प्रविधिको युग सुहाउँदो बनाउन र शिक्षण सिकाई क्रियाकलापलाई प्रविधिमैत्री बनाएर लैजान अनलाइन तालिमले महत्वपूर्ण भूमिका खेलेको बताईएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शिक्षक अनलाइन तालिमले बन्दाबन्दीको समयलाई यथोचित रुपमा उपयोग भएको बताउनुभएको छ । तालिम समापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले बन्दाबन्दीको समयमा सञ्चार तथा प्रविधिकै सहयोगमा लिईएको अनलाइन तालिम शिक्षकका लागि लाभदायक हुने बताउनुभयो । उहाँले भन्नुभयो, “तालिम समय सान्दर्भिक र उपयुक्त छ । अब यसलाई युग अनुरुप प्रयोगमा लैजाने काम शिक्षकको हो ।”
अबको शिक्षालाई विज्ञान र प्रविधिसँग जोडेर लैजानुपर्नेमा जोड दिदै मुख्यमन्त्री शाहीले आइसिटी तालिमबाट शैक्षिक गुणस्तरमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । युग सुहाउँदो शिक्षाका लागि शिक्षक सशक्त हुनुपर्ने धारणा राख्नुभएका उहाँले यसमा कर्णाली प्रदेशले शैक्षिक जनशक्तिको क्षमता विकासका लागि आवश्यक सहयोग गर्ने विश्वास दिलाउनुभयो ।
कर्णाली प्रदेशको वडास्तरमा चिकित्सक तथा स्वास्थ्यकर्मी पठाएर कोरोना परीक्षण गरी सुरक्षित देखिएका ठाउँमा बन्दाबन्दीलाई खुकुलो बनाएर शिक्षण कार्यलाई सुचारु गर्ने उहाँको भनाई थियो । संगठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारिले बदलिदाे परिवेश अनुसार शिक्षकले सूचना प्रबिधिकाे ज्ञान लिनुपर्ने अवस्था भएकाले चाडै दाेेेेेेेस्राे तालिम अावश्यक रहेकाे बताउनु भयाे । प्रदेश अध्यक्ष रेश्मिलाल चपाईले सूचना प्रविधिको युगमा शिक्षक कक्षा कोठामा हुँदा शिक्षण प्रक्रियामा प्रयोग हुने एप्सहरु, गुगल एप्स प्रयोगमा ल्याउन ‘आइसिटी इन एजुकेसन’ अनलाइन तालिमले सहयोग पुग्ने बताउनुभयो ।
“सूचना प्रविधिको युगमा शिक्षकहरुलाई सक्षम र प्रविधियुक्त बनाउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको हो,” अध्यक्ष चपाईले भन्नुभयो, “यो बन्दाबन्दीको समयमा मुलुकका ७७ वटै जिल्ला समेटिने गरी ‘आइसिटी इन एजुकेसन’ तालिम सातै प्रदेशमा सम्पन्न भएको छ ।”
संगठनका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश उपाध्यक्ष रामबहादुर रावलले संगठनको वैशाख १४ गते बसेको अनलाइन बैठकले प्रदेशस्तरमा पाँच दिने अनलाइन तालिम सञ्चालन गर्ने निर्णय गरे बमोजिम तालिम सम्पन्न गरिएको बताउनुभयो । उहाँले शिक्षा क्षेत्रमा कार्यरत जनशक्तिका लागि तालिमले सूचना, सञ्चार र प्रविधिको प्रयोगले लिन सकिने किफायतीका बारेमा जानकारी दिएको बताउनुभयो । उपाध्यक्ष रावलका अनुसार कर्णाली प्रदेशका ५५ जना शिक्षकहरुले ‘आइसिटी इन एजुकेसन’ तालिम लिएका छन् ।
उक्त अनलाईन तालिममा माधव महरा, लक्ष्मणप्रसाद अधिकारी, जीतबहादुर शाह, धर्मराज पौडेल र तिलकबहादुर खत्रीले “माईक्रोसफ्ट अफिस, बेसिक फिचर अफ गुगल, पावर प्वाइन्ट, इमेल एण्ड इन्टरनेट र इन्ट्रोडक्टसन अफ डिफरेन्ट एप्स फर टिचिङ लर्निङ” सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।

प्रतिकृया दिनुहोस्