OnlinePana

आज : २०७९ माघ १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष ९, २०७९काठमाडौं
१३१ पटक

९ पुस २०७९ शनिबार

भनिन्छ, नेपालमा विसं.२००७ सालमा प्रजातन्त्र आउँदा कर्णालीलाई २००८ सालमा थाहा भयो । विसं.२०१५ सालसम्म भएका परिवर्तनका विषयमा कर्णालीलाई त्यति धेरै थाहा नभएको यहाँको पाको पुस्ताले बताउने गर्दछ । विसं.२०२१÷०२२ सालपछि मात्र जुम्लाले केन्द्रमा प्रतिनिधित्व गर्न थालेको पाइन्छ ।

बहुदलीय व्यवस्था आउनुपूर्व केन्द्रमा पुरुष प्रतिनिधित्व हुँदै आएतापनि प्रजातन्त्रको प्रादुर्भावपछि सात दशकको अन्तरालमा मात्र जुम्लाले संसदमा महिला प्रतिनिधित्व गर्ने अवसर प्राप्त ग¥यो । बहुदलदेखि लोकतान्त्रिक गणतन्त्र आउँदा पनि जुम्लाका नीतिगत तहमा केन्द्रमा पुग्न सकेनन् । विसं.२०७० सालपछि बल्लतल्ल जुम्लाबाट संसदमा महिला प्रतिनिधित्वको सुरुआत भयो ।

पञ्चायतकालीन शासन व्यवस्थामा विसं.२०२० सालपछि जुम्लाबाट सुरुमा रमाकान्त न्यौपानेले जित्नुभयो । त्यसपछि अदनसिंह कठायतले जुम्लाबाट केन्द्रमा प्रतिनिधित्व गर्नुभएको थियो । कठायत कालीकोट जिल्ला कायम नहुँदै राजाको पालामा सहायकमन्त्री समेत हुनुभएको थियो । पछि उहाँलाई पराजित गर्दै तिब्रीकोटका धर्मदत्त उपाध्याय विजयी हुनुभयो जतिबेला तिब्रिकोट जुम्लाभित्रै थियो ।

जुम्लाबाट तिब्रीकोट अलग भएर कालीकोट कायम भएपछि हरिचन्द्र महत निर्वाचित हुनुभयो । उहाँ राजाको पालमा दुई पटक मन्त्री भएको बामपन्थी बुद्धिजीवि रामकृष्ण बुढ्थापाले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो पटक महत जलस्रोत तथा यातायातमन्त्री पनि बन्नुभएको थियो । कोहलपुर वनवासाको मुद्दामा भारतविरुद्ध अडान लिएर आफ्नो व्यक्तित्व कायम गर्नुभएका उहाँले जुम्लामा पहिलोपटक विद्युत पूर्वाधार निर्माण गर्नुभएको थियो ।

बहुदलीय व्यवस्था प्राप्तिपश्चात् विसं.२०४८ साल यताको संसदीय इतिहासलाई पल्टाउँदा संसदमा महिला प्रतिनिधित्व हुन जुम्लालाई दुई दशक भन्दा बढी समय लाग्यो । उतिबेला जुम्लामा महिला नेतृत्वहरु खोज्नुपर्ने अवस्था थियो । राजावादी पार्टीबाट देखिएका महिला नेतृत्वहरु जुम्लाका सन्दर्भमा बहुदल अंगालेका दलसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा रहेन ।

जुम्लाबाट विसं.२०४८ देखि २०६९ सालसम्म बामपन्थीहरुले सांसद बनेर संसदमा प्रतिनिधित्व गरे । विसं.२०४८ नेपाल मजदुर किसान पार्टीबाट डिल्लीबहादुर महतले संसदमा प्रवेश गर्नुभएको थियो । त्यस्तै, ०५१ सालमा नेमकिपाकै भक्तबहादुर रोकाय विजयी भएर संसदमा प्रतिनिधित्व गर्नुभयो ।

विसं.२०५६ सालको संसदीय निर्वाचनमा नेकपा एमालेका देवीलाल थापाले सांसद बन्नुभयो । ०६३ मा संसद पुनःस्थापना हुँदा पनि थापा मनोनित हुनुभयो । विसं.२०६४ सालको संविधानसभा सदस्यको निर्वाचनमा भने नेकपा माओवादीबाट नरेश भण्डारी जित्नुभयो । त्यससँगै समानुपातिक सांसदमा एमालेकै थापा निर्वाचित हुनुभएको थियो । त्यस बेलादेखि प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली सुरुआत भएपनि जुम्लाबाट संसदमा महिला प्रतिनिधित्व हुन सकेन ।

बामपन्थीहरुको बलियो किल्लाको विजयको क्रम भङ्गता भने विसं.२०७० सालको दोस्रो संविधानसभाको निर्वाचनबाट भयो । उक्त निर्वाचनमा वैद्य माओवादी फाटेर चुनाव बहिस्कार गरेपश्चात् नेकपा एकीकृत माओवादीका चुनाव लडेका गजेन्द्रबहादुर महतलाई पराजित गर्दै जुम्लाबाट नेपाली काँग्रेसका ललितजंग शाही विजयी हुनुभएको थियो ।

विसं.२०५२ सालयता नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र विद्रोह र ०६२÷०६३ को जनआन्दोलनपश्चात् विसं.२०६४ चैत्र २८ गते सम्पन्न पहिलो संविधानसभाको निर्वाचनबाट प्रत्यक्ष तथा समानुपातिक प्रणालीबाट मुलुकका धेरै महिलाहरुले संसदमा प्रतिनिधित्व हुने अवसर पाएतापनि जुम्लालाई त्यो अवसर जुटेन ।

विसं.२०७० सालबाट मात्र जुम्लाले पहिलो पटक संसदमा महिलाले प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्यो जहाँ एकीकृत माओवादीबाट गोमा गौतम (कुँवर) समानुपातिक सांसद चुनिनुभएको थियो । नेकपा एमालेबाट बलबहादुर महत र नेमकिपाबाट डिल्लीप्रसाद काफ्लेले संसदमा प्रतिनिधित्व गर्नुभयो । ०७४ को संसदमा भने जुम्लाले महिला प्रतिनिधित्व गर्ने अवसर पाएन ।

विसं.२०७० मा एक महिला र तीन पुरुषले जुम्लबाट संसदमा प्रतिनिधित्व गदैगर्दा करिब एक दशक नजिक आउँदा भने ठिक विपरीत भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मंसिर ४ गते सम्पन्नपश्चात् यसपटक जुम्लाबाट एक पुरुष ज्ञानबहादुर शाही र तीन महिला क्रमशः काँग्रेसका कान्तिका सेजुवाल, नेकपा (माओवादी केन्द्र)बाट छिरिङ् ल्हामु लामा र राष्ट्रिय स्वतन्त्र पार्टीका बिनिता कठायतले जुम्लाबाट संसदमा प्रतिनिधित्व गर्दै हुनुहुन्छ ।

राजाका पालामा चुनिनेबाहेक जुम्लाबाट प्रत्यक्षतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही यो चुनावमा अधिकतम मतले विजय हुनुभयो । अन्य तीनै दलका महिला समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएर जानुभएको हो । जुम्लाको इतिहासमा राप्रपाबाट प्रत्यक्ष सांसदमा निर्वाचित हुने शाही पहिलो व्यक्ति हो ।

भाग्यमानी बिनिता !

भनिन्छ, ‘समय शक्तिशाली मात्र छैन, यसले परम्परागत हरेक संरचना र परिस्थितिमा अनपेक्षित परिणाम ल्याइदिन्छ । जसको ज्वलन्त उदाहरण बन्नुभएको छ, जुम्लाका बिनिता कठायत ।’ आशा नै नगरेको अवस्थामा प्रतिनिधिसभा सदस्यमा चुनिएपछि यतिबेला कठायत मख्ख मात्र हैन, आश्चर्य चकित हुनुहुन्छ ।

यस पटकको समानुपातिक निर्वाचन प्रणालीअन्तरगत प्रतिनिधिसभा सदस्यमा जुम्लाबाट चुनिनु हुने कठायत उमेरका हिसाबले नेपालकै दोस्रो कान्छी सांसद हुनुहुन्छ । चन्दननाथ नगरपालिका ५ जुम्लाका स्थायी निवासी कठायत राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यको पदमा चुनिएपछि अहिले उहाँ चर्चाको विषय बन्नुभएको छ ।

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका लागि आयोगमा पार्टी दर्ता गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशसभा सदस्यको निर्वाचनमा प्रदेशसभा सदस्य निर्वाचनका लागि आफ्नो पार्टी नै दर्ता गरेन । प्रदेशमा पार्टी दर्ता नगरेकोले उम्मेदवारी दिने कुरा पनि भएन । यद्यपि संघमा दर्ता भएको रास्वपाले छोटो समयमा प्रत्यक्षमा सात सिट जितेको छ ।

रास्वपाले समानुपातिकतर्फ ११ लाख ३० हजार तीन सय ४४ मत ल्याएर १३ सीट ल्याउन सफल भयो । जसमा २६ वर्षीय कठायत कर्णालीबाट खस आर्य पिछडिएको क्षेत्रको प्रतिनिधित्व गर्दै सांसद बन्न सफल हुनुभयो । भर्खरै रोपेको पार्टीमा सानै उमेरमा त्यो पनि प्रतिनिधिसभा सदस्य हुन पाउने उहाँ भाग्यमानी छोरी बन्नुभएको छ ।

कर्णालीले आज पनि भाग्यवादमा विश्वास गर्दछ । त्यसमा अँझ महिलाहरुले भाग्य रेखामा लेखिएका कारण दुःख, सुख, खुशी, आँसु मिलेको विश्वास गर्दछन् । अहिले पनि धेरै महिलाले बिनितालाई भाग्यमा लेखेर आएकी छोरी भनेर पिठ्युँमा धाप लगाउँदै बधाई तथा शुभकामना व्यक्त गर्दै आएका छन् ।

कर्णालीको खस भाषामा भन्दा बिनिता अत्यन्तै जसिली (भाग्यमानी) छोरी पनि हुन् । छोटो समयमा अपेक्षा नै नगरेको अवसर प्राप्त हुने यस्तो सौभाग्य संसारका थोरै मान्छेलाई मात्र मिल्दछ जुन अवसर लिन कठायत सफल हुनुभएको छ । प्रतिनिधिसभा सदस्यमा प्रतिनिधित्व जनाउने २६ वर्षीय उहाँ झाँपाको निशा डाँगी पछि दोस्रो कान्छी सांसद पनि हुनुहुन्छ ।

मूलतः यो तहमा आइपुग्नुमा आजको संघीय व्यवस्था, समानुपातिक निर्वाचन प्रणाली र रास्वपा पार्टीलाई नै श्रेय दिनुहुन्छ, संसद कठायत । “त्यति लामो समय पनि होइन । म पार्टीमा तीन÷चार महिना जति मात्र सक्रिए भए,” उहाँले भन्नुभयो, “पार्टीले चुनावमा भाग लिएपछि जुम्लाबाट समानुपातिकको बन्दसूचीमा नाम गएको थियो ।”

चुनावमा भोट आउला र म सांसद बनुला भन्ने आशा त कल्पना नै नगरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीमा तत्काल केही योगदान नै थिएन । त्यस्तो कर्म पनि गरिएको होइन । लामो समय राजनीति गरेका व्यक्तित्वहरु यो ठाउँमा पुग्न नसकिरहँदा कर्णाली तथा सुदूरपश्चिम नेपालमा रास्वपाबाट प्रतिनिधित्व गर्दै सांसद हुने एक मात्र मलाई अवसर मिल्नु मेरा लागि भाग्य नै हो ।

सन्ध्या फाउण्डेसनको संस्थापक कोषाध्यक्ष, हाल उपाध्यक्ष र हिमानी ट्रष्ट जुम्लाको संयोजकको भूमिका रहेर काम गर्नुभएका भएका उहाँले बिगतमा कठायत परिवारको राजनीतिक बिरासतले आफू यहाँ पुगेको बताउनुभयो । अब संसदमा जुम्लाको शिक्षा, बाटो, स्वास्थ्य, बजेट र रोजागार विषय कुरा राख्ने योजना बनाएको उहाँले जनाउनुभयो ।

जुम्लालगायत कर्णाली तथा सुदूरपश्चिम नेपालको पछिल्लो समयमा भयावह अवस्थामा फैलिएको लागु औषध दूव्र्यसनीको नियन्त्रण, रोकथाम तथा न्यूनीकरणका लागि सम्बन्धित सरोकारवालालाई उत्तरदायी बनाउने र त्यसका लागि अभियानात्मक कार्यक्रम गर्ने कठायतले बताउनुभयो । उहाँका अनुसार उक्त अभियानका निम्ति स्थानीय तहसँग समन्वय गरेर अघि बढिनेछ ।

व्यवस्थाका कारण अवसर पाएकी लामा

माओवादीले समानुपातिकतर्फका १४ सांसदको नाम टुङ्ग्याउँदा जुम्लाबाट छिरिङ ल्हामु लामा तामाङ् पनि चुनिन सफल हुनुभयो । उहाँका आदिवासी जनजाति पिछडिएको क्षेत्रबाट समानुपातिक प्रतिनिधिसभा सदस्य बन्नुभएको हो ।

उमेरका हिसाबले ३० वर्षीय लामा चन्दननाथ नगरपालिका ६ जुम्ला निवासी हुनुहुन्छ । जुम्लाको कृषि, सुशासन र महिला तथा बालबालिकाको सुरक्षा र अधिकार सुनिश्चिताका क्षेत्रमा काम गर्ने लामाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “आज देशभरिका जति महिला, उत्पीडित, उपेक्षित, पिछडिएको, अल्पसंख्यक र सीमान्तकृतहरु वर्ग जातिहरुका मानिस सबैलाई नीतिगत तहमा पुर्याउन समानुपातिक निर्वाचन प्रणालीले ठूलो भूमिका खेलेको छ । त्यो तत्कालीन् माओवादीले आजको व्यवस्था ल्याउन खेलेको जीवित उदाहरण हो । जसका कारण आज हामीले ठूलो अवसर हात पार्न सफल भएका छौं ।”

सेजुवाल पूर्वघोषित समानुपातिक सांसद

नेपाली काँगे्रसले देशभरि प्राप्त गरेको समानुपातिकतर्फको ३२ सीटमा जुम्लाबाट नेपाली काँग्रेसका नेतृ कान्तिका सेजुवाल चुनिनुभयो । सेजुवाल पूर्व चन्दननाथ नगरपालिकाको प्रमुख पनि हुनुहुन्छ । खस आर्य र विशेषगरी पिछडिएको क्षेत्र कर्णालीबाट समानुपातिक सांसद बन्ने घोषणा चुनाव सम्पन्न हुनुपूर्व नै गरिएको थियो ।

काँग्रेस जुम्लाका पूर्वसभापति स्वर्गीय मानव सेजुवालको धर्मपत्नीसमेत रहेकी उहाँले स्थानीय सरकार सञ्चालन तथा व्यवस्थापनको अनुभव लिइसक्नुभएको । पहिलो पटक संसद भाग लिने तयारी रहेको बताउँदै सेजुवालले संसदबाट अगाडि बढ्न नसकेका शिक्षा ऐनलगायतका राष्ट्रिय महत्व बोेकेका विधेयकहरु अगाडि बढाउन जोड गर्ने बताउनुभयो ।

“कर्णालीको समृद्धि र विकासका लागि गौरवका आयोजनाहरुको पहल तथा ती आयोजनाको कार्य तीव्रतामा विशेष जोड दिनेछु,” उहाँले भन्नुभयो, “नीतिगत सुशासन कायम गराउनतर्फ पनि मेरो सँधै खबरदारी रहनेछ ।” उहाँले स्थानीय तहको व्यवस्थापकीय अधिकार पूर्णरुपले प्राप्त नभएको विषयमा पनि संसदमा कुरा उठाउने जनाउनुभयो ।

उहाँका अनुसार स्थानीय तह सञ्चालन ऐन संशोधन र संघ सरकारले स्थानीय तहमा राख्ने ७० प्रतिशत करबारे संसंदमा जोडदार आवाज उठाइने छ । उहाँले जुम्लासहित सिंगो कर्णालीको विकास र समृद्धिमा योगदान पुग्ने आयोजना सञ्चालनमा पहल थाल्ने जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्