OnlinePana

आज : २०८१ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष ५, २०७९सुर्खेत
५३३ पटक

५ पुसः २०७९, मंगलबार

मानवता प्रवद्र्धनका लागि थालिएको सांगीतिक कार्यक्रमअन्तरगत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत पनि कन्सर्ट हुने भएको छ ।

नेपथ्य ब्याण्ड र मानव सेवा आश्रमको सहकार्यमा देशका १० सहरमा कन्सर्ट सञ्चालन गर्ने तालिका अनुसार भोलि सुर्खेतमा सांगीतिक कार्यक्रम सञ्चालन गर्न थालिएको हो । उक्त कार्यक्रमको पूर्व सन्ध्यामा आज आयोजित नेपथ्य परिवारसँगको भेटघाटमा नेपथ्य ब्याण्डका चर्चित गायक अमृत गुरुङले चाहानाका यावत् पहाडहरु कालान्तरमा निरर्थक हुने भएकोले यही जुनीमा पूण्य कमाउन सबैलाई आग्रह गर्नुभयो ।

“समाज भनेकै हामी भएकोले यसैको सेवाका लागि आफुलाई तयार पारौं,” उहाँले भन्नुभयो, “मानवता अक्षयकोष निर्माण गरेर सुन्दर भवन निर्माणका लागि सहयोग गरौं ।” सहयोगापेक्षी सडक मानवहरुको सहयोगका निम्ति सांगीतिक कार्यक्रम गरिएको गायक गुरुङले बताउनुभयो ।

कर्णाली प्रदेशका प्रमुख सचिव डा.गोपीकृष्ण खनालले मानवता बचाउन मानव सेवा आश्रमले गरेको योगदान अतुलनीय रहेको बताउनुभयो । आश्रमको कर्णाली प्रदेश कार्यालय निर्माणका लागि सबै प्रकारका सहयोग गर्ने प्रतिवद्धता प्रमुख सचिव डा.खनालले गर्नुभयो ।

वीरेन्द्रनगर नगरपालिकाका कार्यपालिका सदस्य यमुना नेपालीले जीवित आत्माहरुको सेवा गर्न हरेक व्यक्तिमा मानवता पलाउन सकेमात्र मानवता प्रवद्र्धनमा सहयोग पुग्ने जनाउनुभयो । समाजसेवी हरि विष्टले जन्मदिनमा केक काटेर फजुल खर्च नगरी दुःखमा परेका मानवहरुको जीवनमा सहयोग पुर्याउन आग्रह गर्नुभयो ।

मानव सेवा आश्रम कर्णाली प्रदेशका संयोजक सृजना ओलीले मानवताको माला गाँस्ने प्रयासमा लाग्न अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “विद्रोहले मानवतालाई फुटाउँछ तर अभियानले मान्छेहरुलाई जुटाउँछ । यस्ता कार्यमा हामीले जोड दिनुपर्छ ।” संयोजक ओलीले भोजनका लागि भजन कार्यक्रम र राष्ट्रिय उद्धार अभियान सम्पन्न गरेसँगै सांगीतिक कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले कर्णाली प्रदेश सरकारले सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा गरिसकेकोले मानवोचित व्यवस्थापन आवश्यक रहेको बताउनुभयो । सुषुप्त मानवतालाई झकझक्याउन मेची–महाकाली अभियान सम्पन्न गरिएको बताउनुभएका अध्यक्ष अधिकारीले बेसहारा जीवन जिइरहेका मानवका लागि हरेक मानवताप्रेमीको तन, मन र धनको त्रिवेणीबाट सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

 

प्रतिकृया दिनुहोस्