OnlinePana

आज : २०७९ माघ १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
 डम्बर खतिवडामंसिर १८, २०७९काठमाडौं
१२२ पटक

१८ मंसिर २०७९ आइतबार

देउवा गए ओली आउने, ओली गए दाहाल आउने– यो त्रिकोणभित्र कुनै जीवन थिएन, मृत्युबोध मात्रै थियो । केवल सपनाहरूको चिहान मात्रै थियो । यिनीहरूबाट केही हुँदैन, माखो मर्दैन भन्ने सबैलाई थाहा छ, फेरि घुमिफिरी यिनै हुने स्थितिको दुश्चक्र कायम छ ।

चुनाव सम्पन्न भयो, राम्रो भयो । चुनावको विरुद्धमा अनेक तर्क होलान् । तीमध्ये कतिपय सत्य पनि होलान् । चुनाव शक्ति–सम्भ्रान्तहरूको सत्ता–प्राप्तिको खेल हो, के गर्छ चुनावले ? भनिएला । चुनाव शोषक वर्गको कुन समूहले शासन गर्ने भन्ने प्रतिस्पर्धा हो, जुुन समूहले जिते पनि श्रमजीवी जनतालाई के मतलब, भनिएला । चुनाव ‘वाहियात् हो, बहिष्कार गरौं’ भन्नेहरू छँदैथिए । तथापि लोकतान्त्रिक समाज राज्यमा आवधिक निर्वाचन केवल कानुनी व्यवस्था र संवैधानिक औपचारिकता मात्रै हैन, यो ‘गतिशीलता’ को एक लय हो । ‘गत्यात्मकता’ को एक सुमधुर संगीत हो ।

सबैलाई थाहा छ– चुनावमा न्याय र सत्यले जित्छ, अन्याय र असत्यले हार्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन । चुनावी परिणामको आधार सत्य र असत्यबीचको लडाइँ, न्याय र अन्यायबीचको संघर्ष, ठीक र बेठीकबीचको छनोट मात्रै हैन । चुनावी परिणाम अनेक कारणले प्रभावित हुन्छ । चुनावी परिणाममा शक्ति तथा संगठन संरचनाको प्रभाव हुन्छ । सामयिक वैचारिकी र तर्क प्रणालीको प्रभाव हुन्छ । सामाजिक, सांस्कृतिक तथा सामुदायिक मनोविज्ञानको प्रभाव हुन्छ । धन र परिचालन क्षमताको प्रभाव हुन्छ ।

तथापि चुनावले समाजको गतिशीलतालाई कुनै न कुनै ढंगले संकेत गर्दछ । राजनीतिक परिवर्तनको लय, मात्रा र गतिलाई कुनै न कुनै रूपमा अभिव्यक्त गर्दछ । जनसन्तुष्टि र असन्तुष्टि, आम निराशा वा खुशीलाई कुनै न कुनै रूपमा प्रकट गर्दछ । यसपटकको चुनावले पनि त्यो काम धेरथोर गरेकै छ ।

यसपटकको चुनावका पनि धेरै खाले संकेत र सन्देश छन् । केही ठूला, केही साना । केही महत्वपूर्ण, केही झिनामसिना । तर, सबैभन्दा ठूलो संकेत वा सन्देश भने शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ (देउवा–ओली–दाहाल) त्रिकोणको पासोबाट जन–उन्मुक्तिको चाहना र संघर्ष हो । नेतृत्वको विद्यमान पुस्ता, प्रवृत्ति र संस्कृति विरुद्ध एक प्रकारको ‘ब्यालेट विद्रोह’ यो चुनावको सबैभन्दा सबल पक्ष हो ।

निःसन्देह कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहाल कुनै समय यो देशका क्रान्तिकारी नेता थिए । संघर्षका योद्धा तथा परिवर्तनका संवाहक थिए । उनीहरूको त्यही संघर्ष र योगदानले उनीहरूलाई अहिलेको जस्तो शक्ति संरचनाको पिरामिडमा सबैभन्दा माथि ल्यायो ।

तर, कुनै समयका क्रान्तिकारी नेताहरू सधैंका लागि, जीवनभरि क्रान्तिकारी नै रहन्छन् भन्ने छैन । एक समयका क्रान्तिकारीहरू अर्को समयका भ्रान्तिकारी, भ्रष्टाचारी बन्न सक्दछन् । एक समयका लोकतन्त्रवादीहरू अर्को समयका तानाशाह बन्न सक्दछन् । एक समयका त्यागका प्रतीकहरू अर्को समय स्वार्थका पोका बन्न सक्दछन् । एक समयका परिवर्तनका संवाहकहरू अर्को समयमा गतिरोध र जडताका कारकतत्व बन्न सक्दछन् ।

विश्व राजनीतिको इतिहासमा यस्तै थुप्रै उदाहरण छन् । जिम्बाबेका रोबर्ट मुगावे युवाकालमा स्वतन्त्रता सेनानी र क्रान्तिकारी नेता थिए । पछि परिवारवाद, निरंकुशता, कुशासन, भ्रष्टाचार, बेथितिको प्रतीक बनेर सकिए । माओको क्रान्तिकारी जीवन जति सार्थक रह्यो, उत्तरार्ध उत्तिकै असफल र विवादास्पद । अस्वाभाविक पत्नीमोह र सांस्कृतिक क्रान्तिको असफलताले बुढ्यौलीमा कुण्ठा र निराशाबीच देहत्याग गर्नुपर्‍यो । स्टालिन पनि जारकालीन ठूलो क्रान्तिकारी थिए, पछि संसारकै खुँखार तानाशाहमध्ये एकमा गनिने भए । तान्जानियाका जुलियस नेरेरे सर्वाधिक भद्र शासक मानिन्थे, उनको असफलताको भिन्नै कथा बन्यो । इराकका सदाम हुुसेन अरबिक समाजवादका समर्थक र बाथ क्रान्तिकारी थिए । सत्तामा लामो समय बस्दै जाँदा संसारकै खुँखार तानाशाह कहलिए र अमेरिकी सेनाको हस्तक्षेपले उनको दुर्दान्त पतन भयो । यस्ता उदाहरण संसारभरि कति छन् कति !

ठीक यही स्थिति हो हाम्रो । विगत एक दशक बढी समयदेखि यी तीन नेताहरूले शक्ति संरचनाको एक त्रिकोण बनाएका थिए । र, यो त्रिकोण बढी दुर्भाग्यपूर्ण थियो । यी एक–अर्का विरुद्ध स्वार्थ र सत्ताको लडाइँमा संलग्न थिए । तर, जनतालाई एकअर्काको पछि लगाएर बेवकुफ बनाइरहेका थिए ।

यिनीहरूको बीचको लडाइँ उनीहरूको सत्ता र शक्ति–संघर्षको निर्मम खेल थियो । देश र जनताका लागि तातो न छारोको तमासा । उनीहरू ‘वर्चस्व’ र ‘प्रतिवर्चस्व’ को लडाइँमा थिए– ‘विवर्चस्व’ को हैन । उनीहरू ‘थेसिस’ र ‘एन्टि–थेसिस’ थिए, ‘सेन्थेसिस’ हैन । उनीहरू ‘राग’ र ‘वैराग’ को वृत्तभित्र थिए ‘वितराग’ को हैन । उनीहरू ‘क्रान्ति’ र ‘प्रतिक्रान्ति’ को कुरा गर्दैथिए, ‘संक्रान्ति’ को हैन । उनीहरू ‘तँभन्दा म राम्रो’ भन्दैथिए ‘देश राम्रो’ बनाउने समाधान उनीहरूसँग थिएन ।

यिनीहरूको लडाइँ गुट–स्वार्थको थियो । परिवारमोहको लडाइँ थियो । दलतन्त्रको लडाइँ थियो । भागबन्डाको लडाइँ थियो । सिन्डिकेटतन्त्रमा कसले बढी पालो पाउने, मुनाफा कमाउने र कमिसन खाने भन्ने लडाइँ थियो । यिनीहरूको देश बनाउने लडाइँ थिएन । यिनीहरूको लडाइँमा कुनै सृजनशील तर्क, रचनात्मक योजना र कल्पनाशीलता थिएन । यिनीहरू एक नीरस र रुखो लडार्इं लड्दैथिए, बर्बर युगका शिकारी युद्ध सरदारहरूको जस्तो ।

देशका समस्या अन्यत्रै थिए, यिनीहरूका सरोकार अन्यत्रै । जनताका दुःख र पीडा अन्यत्रै थिए, यिनीहरूको घम्साघम्सी अन्यत्रै । देशलाई बेरोजगारी, गरिबी र अल्पविकासबाट मुक्ति चाहिएको थियो/छ । यिनीहरू को पहिलो अध्यक्ष, को दोस्रो अध्यक्ष, कसलाई कार्यकारी अध्यक्षको फिलिङ्स आयो आएन भनेर झगडा गर्दैथिए ।

देशलाई सुशासन चाहिएको थियो । यती, ओम्नी, ललिता निवास, ३३ किलो सुन, वाइडबडी, फास्ट ट्रयाक भेरिएसन, एनसेल कर, बूढीगण्डकी कमिसन, सेक्युरिटी प्रेस आदि भ्रष्टाचार प्रकरणको भरपर्दो छानबिन र कारबाही चाहिएको थियो । यिनीहरू ‘तेरो नाटक राम्रो’ कि ‘मेरो नौटंकी राम्रो’ भने कुस्ती खेल्दैथिए ।

देशलाई संविधानको स्वीकार्यता, शासकीय सुधार र उच्च कार्य सम्पादन क्षमता चाहिएको थियो । सबै यी विषयमा कानमा तेल हालेर बसेका थिए । दिउँसै र्‍याल चुहाएर उँघ्दै थिए । ठीक यही पाँच वर्षभित्र राज्यको ऋण करिब तेब्बरले बढ्यो । करिब ६ खर्बबाट २१ खर्ब लाग्यो । ऋणको साँवा–ब्याज मात्र वार्षिक बजेटको १३ प्रतिशत पुग्यो । ऋणको साँवा–ब्याजको भुक्तानी र चालु खर्चमै राज्यको सबै आय सकिने, पूँजीगत लगानी र विकासका लागि दुई पैसा नउब्रिने स्थिति सृजना भयो । यो अवस्थामाबाट कसरी मुक्ति पाउने ? चालु खर्च कसरी घटाउने, पूँजी खर्च कहाँबाट कसरी जुटाउने ? यिनीहरूले कहिल्यै यो विषयमा कुनै रचनात्मक बहस गरे ? बिल्कुल गरेनन् ।

देशको उत्पादन बढाउने, आयात घटाउने, निर्यात बढाउने, व्यापार घाटा घटाउने कुनै बहस गरे ? बिल्कुल गरेनन् । सार्वजनिक शिक्षा र स्वास्थ्यको गुणस्तर कसरी सुधार गर्ने ? कहिल्यै कुनै योजना ल्याए यिनले ? बिल्कुल ल्याएनन् । देशका समस्या एकातिर थिए, यिनीहरू अर्कैतिर थिए । जनताका चाहना र अपेक्षा एकातिर थिए, यिनीहरू अर्र्केतिर बत्तिएका थिए ।

देउवा गए ओली आउने, ओली गए दाहाल आउने— यो त्रिकोणभित्र कुनै जीवन थिएन, मृत्युबोध मात्रै थियो । केवल सपनाहरूको चिहान मात्रै थियो । यिनीहरूबाट केही हुँदैन, माखो मर्दैन भन्ने सबैलाई थाहा छ, फेरि घुमिफिरी यिनै हुने स्थितिको दुश्चक्र कायम छ ।

वास्तवमा नेकपा (नेकपा) भित्रको झगडा के थियो ? साँचो बोल्ने साहस छ भने भन्न सक्नुपर्दछ, त्यसको मुख्य कारण ‘आधा–आधा प्रधानमन्त्री खाने’ आफ्नै पार्टी, कमरेड र कमिटीसँग समेत लुकाएर गरिएको सम्झौता थियो ।

एकक्षणलाई कल्पना गर्नुस्– प्रचण्डले ‘आधा कार्यकाल प्रधानमन्त्री खान’ पाएको भए ओलीसँग झगडा गर्थे होलान् ? ‘१९ पेजको आरोप पत्र’ लेख्थे होलान् ? नेकपा (नेकपा) भित्रको बहुमत नपुगेको भए ओली संसद विघटन गर्थे होलान् ? बिल्कुल गर्ने थिएनन् । यी सबै घटनाको अन्तर्यमा न संविधानवाद थियो, न लोकतन्त्र, न सुशासन थियो, न वामपन्थको भविष्य । थियो त त्यही ‘आधा–आधा खान’ नपाएको झोक ।

अनि ओलीले बाहिर जेजति तर्क र नखराबाजी किन गरून्, हृदयमा सफलताको भाव पैदा गर्ने त्यही एउटा कारण थियो– ‘कम्तीमा प्रचण्डलाई झुक्याएँ, आधा खान दिइनँ, आधा खान दिएको भए पूरै निल्ने रै’छन्, जोगिएँ, जोगाएँ । एमालेको विरासत उत्तराधिकार जोगाएँ, प्रचण्ड विरादरीकालाई खान दिनुभन्दा आफ्नै गुटलाई, विरादरीलाई खुवाउने हो ।’

चुनावको प्रष्ट सन्देश छ– सबै दललाई नेतृत्व हस्तान्तरण र पुस्तान्तरण चाहिएको छ । विचारदेखि व्यवहारसम्म एक निर्मम आत्मसंपरीक्षण र सिंहावलोकन जरूरी छ । तयार छन् त यी पुराना दल र नेता त्यसका लागि ? तयार होऊन् वा नहोऊन्– दुवै कुरा महत्वपूर्ण हुनेछन् । तयार भए सच्चिने छन्, तयार नभए सकिनेछन् ।

पाँच पटक प्रधानमन्त्री भइसक्दा पनि देउवामा सत्ताको लिप्सा मरेको छैन । उनी अझै केही वर्ष देशको नाममा ‘कुर्सीमा बस्न, र्‍याल काँढ्न, उँघ्न र निधाउन’ तयार छन् । त्यसो गर्नु देशका लागि ठूलो त्याग र योगदान हो भन्ने होला उनको हृदयमा ।

निश्चय नै यो चुनावले यी सबै प्रवृत्तिलाई समाप्त पार्न सकेन । तर, चुनौती दियो । अब मतदाता पर्खेर बस्दैनन्, यो अन्तिम अवसर हो तिम्रो लागि भन्ने सन्देश दियो । जनताले आवश्यक ठाने भने थोत्रा, पुराना पर्खी बस्दैनन्, नयाँ दल र नेताको उदय गराइदिन सक्दछन् भन्ने देखायो । नेपालको चुनावी इतिहासमा पहिलो पटक मतदाताले आफ्नो वास्तविक सार्वभौम शक्ति देखाए ।

रेशम चौधरीलाई जेलमै सडाएर सिध्याउने यिनीहरूको कुटिल सोच र योजना थियो । टीकापुर विद्रोहभन्दा सयौं गुणा ठूला हिंसात्मक घटनाबाट आएकाहरू आफूलाई ‘क्रान्तिकारी’ रेशम चौधरीलगायत टीकापुर जनविद्रोहका राजबन्दीलाई ‘अपराधी’ करार गरेर मख्ख थिए । देखे तिनीहरूले जनताको ताकत, नागरिक उन्मुक्ति पार्टी कसरी उदायो ? जमनत पार्टीले माधव नेपालको भन्दा धेरै भोट ल्यायो । राष्ट्रिय स्वतन्त्र पार्टी माओवादीको हाराहारीमा आयो ।

यी नयाँ पार्टीले भविष्यमा के गर्लान्, के नगर्लान्, त्यो अर्कै विषय हो, त्यसको भिन्नै समीक्षा र मूल्यांकन होला, तर ‘हामी बाहेक कोही छ, हामी नै त हो, कसैको ताकत छ भने आओ’ भन्दै ‘माइकालाल’ शैलीमा दम्भ गर्ने, अहंकार पाल्ने र ध्वाँस पिट्नेहरूले मतदाताको ताकत त देखे ! चुनावको ताकत यही हो । लोकतन्त्रको सौन्दर्य यही हो । कुनै निरंकुश व्यवस्थामा भए, राजतन्त्र वा एकदलीय कम्युनिस्ट प्रणालीमा भए यस्तो हुन पाउँथ्यो ? पाउने थिएन ।

यो चुनावले यी तिनै ठूला दल र यिनका मूल नेताको दम्भ, अहंकार र घमण्डको बेलुन फुस्काइदिएको छ । यिनीहरूको गुटस्वार्थ, पाप र पाखण्डको घडा फुटाइदिएको छ । यो दुर्भाग्यपूर्ण त्रिकोणबाट जन–उन्मुक्तिको चाहना र संघर्ष अझ सघन र तीव्र हुँदैछ भन्ने प्रष्ट संकेत गरेको छ । सन्देश दिएको छ ।

एमाले र ओली ‘मिसन १५०’ भनेर हिंडेका थिए । आधा भए । गत चुनावमा ८० सिट जिते पार्टी ४४ मा झर्‍यो। गत चुनावमा भन्दा करिब ६ प्रतिशत समानुपतिक भोट हरायो । ओली शासनका दुई–दुई पटकको असंवैधानिक संसद विघटन, राष्ट्रपति भण्डारीको नागरिकता ऐन संशोधन विधेयक अप्रमाणीकरणको प्रतिरक्षा गर्दै हिंडेका ‘किचेन क्याबिनेट’ का दर्जनौं प्यादाले चुनावको रणमैदानमा माथ खाए । चुनावले ओली अहंकारको व्यूह धुजाधुजा पारेर च्यातिदियो ।

‘अझै हामी देशको ठूलो पार्टी त छौं’ आत्मरति गर्दा त भयो तर अर्को चुनावसम्म पुग्दा त्यो आत्मरति बाँकी रहला कि नरहला निधार खुम्च्याएर सोच्नुपर्ने भयो ।

प्रत्यक्षतर्फ २३ बाट ५७ सिटमा पुग्यौं भन्ने कांग्रेसमा देउवा गुटको दाबी र हर्षबढाइँ होला तर यो पनि आत्मरतिको अर्को दृष्टान्त नै हो । कांग्रेस देशभरि एक्लै चुनाव लड्न सक्ने पार्टी थियो कुनै बेला । पाँच दलको महागठबन्धन गरेर पाएको ९१ मा ५७ सिट । समानुपातिकतर्फ कति मत संकुचन भयो, त्यो प्रष्टै छ ।

माओवादीको कुरै गर्नु परेन । २०६४ को पहिलो संविधानसभा त्यसको सफलताको उत्कर्ष थियो । त्यसपछिको हरेक चुनावमा घटेको छ । महागठबन्धनमा ४६ सिट पाएको, ४१ मा आफ्ना उम्मेदवार दिएको, १८ मा झर्दैछ । तराई–मधेश र शहरिया निर्वाचन क्षेत्रमा माओवादी जसरी हारेको छ, उसको अवस्था निकै टिठलाग्दो देखिन्छ ।

२०४८ सालमा संयुक्त जनमोर्चाको नाममा चुनाव लडेको यो पार्टी ९ सिटे थियो । करिब ३० वर्षपछि एक्लै लड्न परेको भए त्यही ९ सीटे हुने रहेछ । अर्थात् माओवादीले ‘संयुक्त जनमोर्चादेखि संयुक्त मोर्चासम्म’ को चक्रपथ परिक्रमा पूरा गरेको छ ।

माओवादी कार्यकर्ताको एउटा पंक्तिलाई भ्रम थियो– माओवादीहरू धेर फुटेर यस्तो भएको हो । प्रचण्ड र बाबुराम मिलेपछि उत्पात हुन्छ । यसपटकको चुनावमा प्रचण्ड र बाबुराम मिलेका थिए । तर, कुनै ‘उत्पात’ भएन, बरु झन् ‘बबुरा’ भए । यसले के देखाउँछ भने अब प्रचण्ड र बाबुराम मात्रै हैन; वैद्य, विप्लव, किराँती, आहुति सबै मिले पनि कुनै ‘उत्पात’ हुनेवाला छैन । त्यो एउटा समय थियो, सकियो ।

खासमा जनता र मतदाताले यो चुनावमा देउवा–ओली–दाहालको त्रिकोणात्मक दुर्भाग्यपूर्ण पासोबाट उन्मुक्ति खोजेका छन् । तर, कांग्रेस, एमाले र माओवादी जस्ता पार्टी र संस्थाप्रति भने अझै मोह छ । यी पार्टीले जेजति भोट ल्याएका छन्, संस्थागत मोहका कारणले ल्याएका छन् । जेजति मत गुमाएका छन्, यी नेताको सोच, संस्कार, क्रियाकलाप, कार्यशैली, दम्भ, अहंकार र कार्यसम्पादन क्षमताहीनताको कारणले गुमाएका छन् ।

चुनावको प्रष्ट सन्देश छ– सबै दललाई नेतृत्व हस्तान्तरण र पुस्तान्तरण चाहिएको छ । सबै दललाई आन्तरिक पुनर्गठन र संस्थागत प्रक्रियाप्रतिको निष्ठा चाहिएको छ । लोकतन्त्रलाई फेरि एकपटक लोकतन्त्रीकरण, नवीकरण, पुनर्ताजगीकरण र शुद्धीकरण गर्न जरूरी भइसकेको छ । विचारदेखि व्यवहारसम्म एक निर्मम आत्मसंपरीक्षण र सिंहावलोकन जरूरी छ ।

तयार छन् त यी पुराना दल र नेता त्यसका लागि ? तयार होऊन् वा नहोऊन्– दुवै कुरा महत्वपूर्ण हुनेछन् । तयार भए सच्चिने छन्, तयार नभए सकिनेछन् । तर, यो दुर्भाग्यपूर्ण त्रिकोणको पासोबाट उन्मुक्तिको जनसंघर्ष भने आगामी दिनमा झनै तीव्र र सघन हुने निश्चित छ । साभार: अनलाइनखबरबाट

प्रतिकृया दिनुहोस्