OnlinePana

आज : २०७९ माघ १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

मतदाता आक्रोशः ‘नेताज्यू ! नमस्कार गर्न नआउँदा हुन्छ’

‘जित्नु अघि मतदातामुखी, जितेपछि कार्यकतामुखी’

कोरपाटी संवाददाताकार्तिक २८, २०७९सुर्खेत
२६६ पटक

२८ कात्तिक २०७९, सोमबार

आसन्न मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन आउन अब ठीक एकसाता बाँकी छ । कर्णालीका दश जिल्लाको प्रतिनिधिसभा सदस्यको सिटका लागि स्वतन्त्रसहित ७६ जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै, प्रदेशसभा सदस्यको २४ सिटका लागि स्वतन्त्रसहित १४ दलका ११६ जनाले उम्मेदवारी दिएका छन् । चुनावको दिन आगनमा आइपुगेकोले सबै दलका उम्मेदवारहरु आफ्नो जीतका लागि घरदैलो गरिरहेका छन् । उनीहरु त्यसमा मात्र सीमित नभएर धारापँधेरा र खेतबारीसम्म पुगेर मतदातासँग भोट मागिरहेका छन् ।

उम्मेदवारहरु निकै जोशका साथ चुनावी प्रचारप्रसारमा लागेपनि मतदातामा त्यस्तो उत्साह देखिदैन । विभिन्न दलसम्वद्ध उम्मेदवारहरुले जिल्लाका आकर्षक ठाउँहरुमा आमसभा गरिरहँदा मतदाताहरु खेतबारीमै काम गर्न व्यस्त छन् । उनीहरुमा न चुनावी आकर्षण छ न सरोकार नै ।

सूचना र प्रविधिको तीव्र विकासले होला, एक दशकदेखि अधिकाश नागरिकहरु विभिन्न सञ्चार माध्यमहरुले प्रवाह गर्ने समाचार र सामाजिक सञ्जालबाटै विभिन्न दल, नेता, व्यक्ति र उनीहरुले गरेका कामका बारेमा सहजै जानकारी राख्दछन् । चुनावका बेला दल तथा उम्मेदवारहरुले सार्वजनिक गर्ने घोषणापत्र, प्रतिवद्धता र दिने आश्वासन कागजमा होइन, उनीहरुले मष्तिष्कमै कैद गरेको पाइन्छ ।

एकातिर नागरिकहरुमा राजनीतिक चेतनास्तर वृद्धि हुँदै जानु अर्कोतिर चुनावका बेला प्रतिवद्धता व्यक्त गर्दै भएभरका आश्वसन दिएर चुनाव जितिसकेपछि सिन्को नभाच्ने नेताहरुको प्रवृतिप्रति मतदाताहरुको चरम वितृष्णा नै छ । चुनावी नारा, भाषण, आश्वासन दिने संस्कारप्रति उनीहरु राम्रैसँग परिचित भएका छन् ।

व्यवस्था बदलिएपनि जनताको अवस्था बदल्न कुनैपनि नेतृत्व सहि काम नगरेकोप्रति मतदाताको आक्रोश छ । संविधान र संघीय व्यवस्था राम्रो लाग्दा लाग्र्दै त्यसको सही व्यवस्थापन एवं कार्यान्वयन हुन नसकेकोले भुई मान्छेहरुका आधारभूत आवश्यकताहरु परिपूर्ति भएका छैनन । हिँजो जितेकाहरुको पाँच वर्षीय अवधि सकिएपछि यो चुनावमा फेरी भोट माग्ने नेताहरु भने घरदैलो गर्दैछन् ।

गठबन्धन दल, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका सबै दलका उम्मेदवारहरु मतदाता कहाँ पुग्ने गरेका छन् । कर्णालीमा प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका १५ दल यतिबेला चुनावी मैदानमा छन् ।

दलहरुको चुनावी प्रचारशैली बिगत भन्दा खासै फरक देखिदैन । उनीहरुका घोषणापत्र, प्रतिवद्धता र वाचाप्रति मतदाताले विश्वास गर्न छोडेका छन् । भोट माग्नैका लागि मात्र यो समयमा घरदैलो तथा खेतबारीमा पुगी नमस्कार गर्ने उम्मेदवारहरुलाई भने मतदाताहरुले तीतो महसुस गर्ने गरी जवाफ दिएर फर्काउने गरेका छन् ।

पश्चिम सुर्खेतको अत्यन्तै विकट मानिने चौकुने गाउँपालिका तथा पञ्चपुरी नगरपालिकाका मतदाता अमर सारु मगरले घर तथा खेतबारीमा आएर नमस्कार गर्न आउने उम्मेदवारलाई नमस्कार नगरेरै उत्तैबाट फर्कन सुझाव दिनुभएको थियो । उहाँ जस्तै धेरै मतदाताहरु चुनावका बेला आएर नमस्कार गर्ने नेताहरुको नमस्कार खाएर केही नहुने बताउँछन् ।

राप्रपा नेपालबाट सुर्खेत क्षेत्र नं.२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिनुभएका भीमबहादुर शाहीले मतदातालाई उम्मेदवारप्रति कुनै मतलब नभएको बताउनुभयो । उहाँका अनुसार चुनावलाई मात्र केन्द्रित गरेर घरमा आउने र नमस्कार गर्ने भन्दै आफू जस्ता थुप्रै उम्मेदवारलाई ठाडै अस्वीकार गरेका थिए ।

शाहीले भन्नुभयो, “हामी नमस्कार गर्दै भोट माग्न मतदाताहरुको घरदैलोमा पुग्यौं तर उहाँहरुले नेताज्यू ! नमस्कार नगर्दा हुन्छ भन्दै ठाडो जवाफ दिनुभयो ।” मत माग्न जाँदा उम्मेदवारप्रति उनीहरुको दृष्टिकोण नै आक्रोशपूर्ण भाव देखिएको उहाँले बताउनुभयो । बिगत्का उम्मेदवारले गरेका वाचा र प्रतिवद्धता पुरा नगरेपछि अहिले त्यसको सजाय आफू जस्ता नयाँ उम्मेदवारहरुले भोग्नुपरेको उहाँले दुखेसो गर्नुभयो ।

शाहीका अनुसार मतदाताहरुले नयाँ उम्मेदवार जितिसकेपछि त्यही ‘सड्या आलु त हुन्या’ होलान् भनेर प्रतिपश्न गर्ने गर्दछन् । सामान्य नागरिकहरु आफ्ना आधारभूत आवश्यक परिपूर्ति गर्ने नेतृत्व भइदिए हुन्थ्यो इच्छा व्यक्त गर्दछन् । राजनीति बुझेका कार्यकर्ताहरु आफ्नै दलबाट पीडित भएको अभिव्यक्ति दिन्छन् ।

उहाँ भन्नुहुन्छ, “मूलतः मतदाताहरु भाषण सुन्नै चाहँदैनन । उनीहरु काम गर्ने, समाजमा व्याप्त गरिबी र बेरोजगार मुक्त गर्ने नेतृत्व एवं सरकार चाहान्छन् । युवाहरुले स्वदेशमै रोजगारी र स्वतःस्फूर्त काम गर्ने वातावरण भएन भन्ने गुनासो पोख्छन् । गाउँमा मत माग्न जाँदा गुनासोका चाङ भेटिन्छन् । आक्रोशपूर्ण अभिव्यक्ति सुनिन्छन् र पीडैपीडाका कथा भनिन्छन् ।”

तिला गाउँपालिका ४ जुम्लाका स्थानीय निराजन गौतमले आजसम्म चुनावमा जितेर गएका नेतृत्वहरु ‘जति जोगी आएपनि कानै चिरिएका’ भने जस्तै हुँदै गएको टिप्पणी गर्नुभयो । हाम्रो समाजमा बिगतमा जित्नेदेखि यो चुनावबाट चयनहरुबाट केही फेरबदल होला भन्ने खासै केही आश गर्न नसकिने उहाँको बुझाई छ ।

“चुनावको बेला सानोदेखि ज्येष्ठ नागरिकहरुसँग नमस्कार गर्नेहरु खास अरु बेला किन गर्दैनन् । यतिबेला मात्र किन गर्छन् ? के त्यो नमस्कारभित्र स्वार्थ लुकेको छ भन्ने कुरामा के आजको मतदाता थोरै पनि ज्ञान राख्दैन र ?” प्रश्न गर्दै उहाँले भन्नुभयो, “उम्मेदवारहरुले आफ्नो स्वार्थपूर्तिका लागि गर्ने नमस्कार स्वीकार गर्न आवश्यक छैन ।”

आदर, सत्कार र सम्मानयुक्त अभिवादनका लागि प्रयोग हुने अति महत्व बोकेको ‘नमस्कार’ शब्दलाई स्वार्थसिद्धका निम्ति प्रयोग गर्नु कति गलत छ भन्ने कुराको हेक्का हरेक इमान्दार, नैतिक र आदर्शवान नेताले राख्न जरुरी रहेको उहाँले बताउनुभयो । नमस्कार गरेकै आधारमा नेताहरुलाई भोट हाल्छन् भन्ने भ्रम नपाल्नसमेत गौतमले नेताहरुलाई आग्रह गर्नुभयो ।

मतदाताहरु भन्ने गर्छन्, किन चुनावमा मात्र आएर हामीलाई नमस्कार गर्छन्, ती मान्छेहरु । चुनावका बेला यहाँ आएर माई जिताई दिनुस् भनेर मतदाताहरुसँग अनुनय विनय गर्छन् । हाम्रो अमूल्य भोटको सहयोगमा नेता बन्छन् । तर जितिसकेपछि आफ्ना आसेपासेहरुलाई हेर्ने रोगले उनीहरु ग्रसित हुन्छन् र मतदाताको मतदानलाई वेवास्ता गर्दछन् ।

‘जित्नु अघि मतदातामुखी, जितेपछि कार्यकतामुखी’

नागरिकको बुझाई अनुसार कुनैपनि चुनावले जनताको मर्म, पीडा र समस्या बुझ्ने नेतृत्व चयन हुन सकेन । पुरानाले काम गरेनन् भनेर नयाँलाई जिताइएपनि ती पुराना भन्दा झनै भ्रष्ट भएको जुम्लाका स्थानीय महिला रन्नसरा सुनारले दुखेसो पोख्नुभयो ।

चुनावका बेला घरमै आएर तपाईका समस्या के छन् ? के गर्दिनु पर्ने हो भन्दै भोट माग्छन्,” सुनारले भन्नुभयो, “जितेपछि न हाम्रो नमस्कार सुन्छन् न समस्याको खोजीनीति गर्छन् नै । हामी जस्ता सामान्य मान्छेको फोन उठाएर कुरा सुन्दिने कुरा त झन् धेरै परको विषय हो ।” चुनावका बेला मतदातामुखी हुने नेताहरु जितिसकेपछि आफ्ना कार्यकर्ता र आसेपासे पाल्न व्यस्त गरेको उहाँले गुनासो पोख्नुभयो ।

चन्दननाथ नगरपालिका ७ जुम्लाका स्थानीय सम्झना महतले चुनावमा भोट खरिद बिक्री हुने गरेको जनाउनुभयो । विसं.२०७९ को स्थानीय तह चुनावमा धेरै मतदाताले रु.दुई हजार ५०० सम्म खाएर आफ्नो मत बिक्री गरेको जनाउँदै उहाँले भन्नुभयो, “मतदाताबाट मतदान भएको छैन, बिक्री भइरहेको छ । मत किनेर जितेको नेताले जनताको भावना बुझ्ला भन्ने आश पनि हुने कुरा भएन ।”

‘नीति बनाउँछन्, कार्यान्वयन गर्दैनन्’

कर्णालीका राजनीतिक विश्लेषक पिताम्बर ढकालले नेतृत्वको व्यक्तित्व र चरित्रमाथि प्रश्न राख्ने चेतना विकास नागरिकमा बढ्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “चुनाव र उम्मेदवारमा मतदाताको रुचि देखिएन । स्वतन्त्र उम्मेदवारप्रति समेत उनीहरुको विश्वास छैन । अहिले जनताहरु खेतबारीमै व्यस्त पनि छन् ।”

विश्लेषक ढकालका अनुसार नागरिकमा चेतनाको वृद्धि हुँदै जानुमा यो सूचना र प्रविधि विकासको उपलब्धि हो । चुनाव जित्ने हार्ने आफ्नो ठाउँमा छ । सामाजिक सञ्जालबाटै नेता र नीतिका विषय उनीहरुले खबरदारी राख्न सक्दछन् । जनताको मत लिएर माथि पुग्ने नेतृत्वले नीति बनाएर कार्यान्वयन नगर्दा जनताको मत र उनीहरुको सोच पुरा हुन नसकेको उहाँको भनाई थियो ।

जनता समाजवादी पार्टीका सुर्खेत क्षेत्र नं. २ (क) गगनबहादुर सारुले मतदाताले नयाँ अनुहार चाहेको बताउनुभयो । ठूला दलहरुले जनताको पक्षमा कहिल्यै काम नगर्दा उनीहरुमा वितृष्णा जागेको र साना दलका उम्मेदवारप्रति आशा पलाएको उहाँले जनाउनुभयो ।

उम्मेदवार घरदैलोमा पुग्दा सुर्खेतमा त्यस्तो उत्साह नदेखिएको भन्दै सारुले भन्नुभयो, “ठूला दलहरुले गरेको कामले जनतामा निराशा र आक्रोश पैदा भएको छ । जसको परिणाम हामीलाई मतदाताका नजिक पुगेर विश्वास दिलाउन र एकपटक काम गर्ने अवसर दिनुस् भन्न पनि अप्ठ्यारो भएको छ ।” मतदाताहरुले उम्मेदवारसँग सद्भाव साटासाट गर्नसमेत नचाहेको उहाँले बताउनुभयो ।

निर्वाचन आयोग नेपालको सार्वजनिक तथ्याङ्क अनुसार यो चुनावमा कर्णालीका १० जिल्ला गरेर १० लाख ८५ हजार ४०३ मतदाताले मतदानमा भाग लिँदैछन् । जसमा डोल्पामा २२ हजार ४४०, हुम्लामा ३२ हजार ८५७, मुगुमा ३४ हजार ९६२, जुम्लामा ६८ हजार ३४४ र कालीकोटमा ७२ हजार ८० मतदाता छन् ।

त्यस्तै, रुकुमपश्चिममा ९२ हजार ३४७, जाजरकोटमा एक लाख तीन हजार ३६३, सल्यानमा एक लाख ५७ हजार ७०१, दैलेखमा एक लाख ४८ हजार ६७६ र सुर्खेतमा दुई लाख ४३ हजार ६१४ जना मतदाता संख्या रहेको आयोगको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

यो चुनावमा कर्णाली प्रदेशका प्रतिनिधिसभा सदस्यको १२ सिटमा ७६ र प्रदेशसभा सदस्यको २४ सिटका लागि ११६ उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।

 

 

प्रतिकृया दिनुहोस्