OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ५, २०७९काठमाडौं
२३१ पटक

५ भदौं २०७९, आइतबार

अपमानजनक नामले नागरिकता जारी भएका दैलेखका दुई जना व्यक्तिले आफ्नो वास्तविक नाम राखेर नागरिकताको प्रमाणपत्र पाएका छन् ।

जिल्ला प्रशासन कार्यालय दैलेखले यसअघि कुकुर कामी नाममा जारी भएको नागरिकता सच्याएर मेहलतोलीका कविराम कामीलाई उनको वास्तविक नाम उल्लेख भएको नागरिकताको प्रमाणपत्र दिएको हो ।

त्यस्तै भगवती गाउँपालिका– ५ का ठगे विक नाममा जारी भएको नागरिकता सच्याएर भगवतीमाई गाउँपालिका–३ का कर्णबहादुर विकलाई पनि वास्तविक नाम उल्लेख गरेर नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए ।

अपमानजनक नाम उल्लेख गरेर नागरिकता जारी गरेका कारण दलित समुदायका व्यक्तिले अपमान व्यहोर्नुपरेको सामाचार सार्वजनिक भएपछि गृह मन्त्रालयले त्यस्ता व्यक्तिको नागरिकता सच्याउने निर्णउ गरेको थियो । दैलेखका सीडीओ प्याकुरेलका अनुसार कविराम र कर्णबहादुरले २४ साउनमा नाम फेर्न निवेदन दिएका थिए ।

निवेदन दिएपछि प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालय र भगवतीमाई गाउँपालिकालाई मुचुल्का उठाउन पत्र पठाएको थियो । मुचुल्कामा सम्बन्धित व्यक्ति नै हो भनेर पहिचान भएपछि नागरिकताको नाम सच्याएको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले जानकारी दिए ।

कविरामले ०४६ सालमा गाउँमा नागरिकता बनाउने क्रममा प्रधानपञ्चले आफ्नो नाम ‘कुकुर’ लेखेर सिफारिस गरिदिएको निवदेनमा उल्लेख गरेका थिए ।

‘कर्णबहादुरले ३० वर्ष अगाडि नै कक्षा ७ सम्म पढे पनि नाम सच्याउने प्रावधानबारे प्रष्ट नहुँदा मौन रहेका थिए । जब कविरामको कुरा बाहिर आयो, उनका छोराछोरीहरुले कर गरेर जिल्ला प्रशासन ल्याए, अहिले उहाँको परिवार अहिले खुशी भएका छन्’, प्याकुरेल भन्छन् ।

जिल्लामा धेरै समस्या

प्रजिअ प्याकुरेलले दैलेख जिल्लामा नागरिकतामा धेरैको नाम अपमानजनक रहेको बताए । ‘पहिले दैलेखमा विभिन्न रोगका कारण धेरैको ज्यान गएको रहेछ । त्यसबेला यहाँका अगुवा भन्नेहरुले अन्धविश्वासमा रोगले नमर्ने भन्दै अपमानजनक नाम राखिदएपछि सबैले त्यही अनुसार बोलाउँदा रहेछन् । जब नागरिकता टोली गाउँमा आयो, बोलाउने नाम नै सबैले टिपाए’ अनलाइनखबरसँग प्याकुरेलले भने ।

नाम सच्याउन निवेदन नदिएका तर अपमानजनक नाम भएका अरु व्यक्तिहरु पनि रहेको प्रजिअ प्याकुरेलले बताए । ‘यहाँ यस्तो केस धेरै नै रहेको छ । गृहको सूचना अनुसार हामीले पालिका र वडा–वडामा नाम सच्याउन सक्ने कुराको जानकारी गराउन भनेका छौं’ उनले भने । अनलाईनखबरबाट ।

प्रतिकृया दिनुहोस्