Skip Add

OnlinePana

आज : २०७७ कार्तिक ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख १०, २०७७ सुर्खेत
२६ पटक

सुर्खेत, १० बैशाख २०७७ : पछिल्लो समयमा सरकारी एवं सामुदायिक विद्यालयमा एउटा होड चलिरहेको छ, “त्यो हो साधारण विद्यालयहरुलाई प्राविधिक धारमा रुपान्तरण गर्ने अर्थात व्यवसायिक शिक्षा सञ्चालनमा जोड ।” मुलुक संघीयतामा गईसकेपछि विशेषगरी स्थानीय तहका सरकारहरुमा यो होड ह्वात्तै बढेको छ ।
साधारण विद्यालयबाट उत्पादति जनशक्ति बढिजसो बेरोजगार हुन थालेपछि गरिखाने शिक्षामा जोड दिने नीति तीनै तहका सरकारहरुले लिएको पाईन्छ । तीनै तहका सरकारहरुले यो नीतिमा जोड दिएसँगै अहिले वडा पालिकास्तरसम्म प्राविधिक विद्यालयहरु सञ्चालन हुँदै गएका छन् ।
त्यही नीतिलाई अंगालेर वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेत गाग्रेतालस्थित नेपाल राष्ट्रिय चन्द्रगङ्गा माध्यमिक विद्यालय आफ्नो सुन्दर भविश्य निर्माणको योजना बनाइरहेको छ । सरकारी विद्यालयमा पढाई नै हुँदैन र अंग्रेजी माध्यमका विद्यालयहरुको विकल्प छैन भन्ने बुझाईलाई यो सामुदायिक विद्यालयले राम्रोसँग चिरेको छ ।
२०३० सालमा स्थापित यो विद्यालयले हाल एक कक्षादेखि मावि तहसम्म अंग्रेजी र नेपाली दुवै माध्यमबाट पठनपाठन गरिहेको छ । साढे १० बिगाह जमीनको क्षेत्रफलमा रहेको यो माविमा एक हजार १०० विद्यार्थी अध्ययनरत छन् । यसले कृषि बाली विज्ञान, व्यवस्थापन र शिक्षा संकाय सञ्चालन गरेको छ । स्थायी शिक्षक दरबन्दीको अभावमा नीजि जनशक्ति आपूर्ति गरेर भएपनि विद्यालय सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुनप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
“विद्यालय कोरा ज्ञान सिकाउने स्थल मात्र होइन, यो नैतिक तथा व्यवहारिक शिक्षा प्रदान गर्ने पवित्रस्थल हो । आदर्श व्यक्ति निर्माणको जग हो । त्यसमा अँझ उत्पादित जनशक्ति स्वरोजगार होस् भनेर दुई वर्षदेखि हामीले तीन वर्षे बाली विज्ञान संकायको पठनपाठन शुरु गरेका छौं” अध्यक्ष सुवेदीले भन्नुभयो । खासगरी वातावरणीय प्रभाव मूल्याङ्कन गरेर यो संकाय शुरु गरेसँगै विद्यालयलाई जैविक कृषि अनुसन्धान तथा परीक्षण केन्द्र बनाउने तयारीमा लागिएको उहाँले बताउनुभयो ।
उक्त विद्यालयका प्राचार्य नेत्रमणि चालिसेले विद्यालयलाई अनुसन्धान, परीक्षण, उत्पादन, मनोरञ्जन र नैतिक तथा आदर्शवान चरित्र निर्माण गर्ने स्वर्णीय भूमिका रुपमा विकास गर्दै लैजान योजनाका साथ अघि बढेको बताउनुभयो । “हामीसँग भूगोल प्रशस्त हुँदाहुँदै भवनको कमी छ । यद्यपि उद्देश्य परिपूतिका लागि बनाईएको योजना मुताबिक कार्यान्वयन तहमा जान्छौं,” प्राचार्य चालिसेले भन्नुभयो ।
उहाँले अगाडि भन्नुभयो, “विद्यालयले पाँच हजार गाई र पाँच हजार बाच्छा पाल्छ । टनेलबाट खसेको पानीबाट सानो पोखरी निर्माण गर्छ । माछा पोखरी र ग्रेनरी हाउस बनाउँछ । प्राङ्गगारिक मलका लागि केतुकी, निमपत्ता, तीतेपाती, निम, थिर्रो, सिस्नोलगायतका बिरुवाको खेती गर्छ । फलफूलमा केरा, आँप, कागती, मेवा, स्ट्रबेरी फलफूल खेतीको थालनी गरेका छौं ।”
गोलभेंडा, आलु, फर्सी, करेला, गाँजा, मूला, काँक्रा र विभिन्न जातका सागपातलगायतका तरकारीजन्य खेती विद्यालयले गर्दै आएको प्रचार्य चालिसले बताउनुभयो । विद्यालयमा प्रवेश गर्ने जो कोहीको मनमष्तिष्क चोर्ने र आनन्दको अनुभूति गर्नेगरी गार्डेन, चिल्ड्रेन पार्क निर्माण गर्ने बताउनुभएका उहाँले मूलत ः यो विद्यालयलाई कर्णाली प्रदेशको जैविक अनुसन्धान तथा परीक्षण केन्द्र बनाउने तयारी भईरहेकोले तत्काल रु.एक करोड ५० लाख बजेट आवश्यक रहेको जनाउनुभयो ।
यसको लागि कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा पहल भईरहेको उहाँको भनाई थियो । तरकारीजन्य उत्पादनमा आउने रोग सबैभन्दा ठूलो समस्या भएको भन्दै उहाँले यसको निदानमा कृषि प्राविधिकहरुले विशेष ध्यान दिन आग्रह गर्नुभयो ।
वीरेन्द्रनगरपालिका ११ का वडाध्यक्ष नन्दलाल शर्माले समाज विकासको महत्वपूर्ण शिक्षा नै भएकोले स्थानीय सरकार तथा समुदायस्तरबाट उक्त विद्यालयको निर्माण र गुणस्तरमा सहयोग पुर्याइएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो वडामा ५ विद्यालय छन् । जसमा दुई विद्यालयमा व्यवसायिक शिक्षाको पठनपाठन भईरहेको छ । नागरिकलाई शिक्षा मात्रै नभई गरिखाने शिक्षाको आवश्यकतलाई महसुस गरेर चन्द्रगङ्गा माविमा ३ वर्षे बाली विज्ञान र शिव मावि धुलियाबिटमा सुर्खेतमा ३ वर्षे पशुविज्ञान संकाय सञ्चालन गरिएको उहाँको भनाई थियो ।
उक्त वडाका स्थानीय शिक्षाप्रेमी तथा विद्यालय वि.व्य.स.सदस्य गोविन्दप्रसाद शर्माले कृषि बाली विज्ञानका विद्यार्थीहरुले पढ्दै उत्पादन गर्दै गरेको बताउनुभयो । “बाली विज्ञानका विद्यार्थीहरुले उत्पादन गरेको तरकारी डेढ टन जति भयो । परीक्षण वर्षलाई आम्दानीसँग तुलना गरिएन तर यो काम देखेर निकै खुशी पनि लाग्यो । कृषि शिक्षा लागू भएपछि विद्यालयको बाँझो जमिन हरियो भएको छ । यसले समुदायका नागरिकहरुलाई समेत खेती गर्न उत्प्रेरणा जगाएको छ,” शिक्षाप्रेमी शर्माले भन्नुभयो ।
उहाँका अनुसार जैविक अनुसन्धान केन्द्र निर्माणको पूर्वाधारको रुपमा उक्त विद्यालयद्वारा स्थापित एकीकृत जैविक कृषि मोडेल फार्म प्रदर्शनी तथा अनफार्म अनुसन्धान प्लटको गत फागुन ६ गते उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नुभएको थियो ।
यता कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले चन्द्रगङ्गा माविले जैविक अनुसन्धान केन्द्र तयारीको पूर्वाधार निर्माण गरिसकेकोले सो कार्य अगाडि बढाउन विद्यालय परिवारलाई सुझाउनुभयो । लकडाउनकै क्रममा सो विद्यालयको अनुगमनमा आज त्यहा पुग्नुभएका कृषिमन्त्री केसीले भन्नुभयो, “विद्यालय परिवारले मानव जीवनका लागि अत्यावश्यक हुने कृषिको महत्व र मूल्यलाई बुझेर सपनासहितको योजना निर्माण गरेको छ । त्यसका लागि सक्दो सहयोग गर्न सरकार तयार छ ।” यसबाट सरकारको अर्गानिक प्रदेश निर्माणको अभियानमा सहयोग पुग्ने उहाँको भनाई थियो ।
विश्वव्यापी महामारीका रुपमा फेलिएको नोबेल कोरोना भाईरस (कोभिड–१९) को प्रभावले सबै क्षेत्रको काम अबरुद्ध भएको जनाउँदै कृषिमन्त्री केसीले त्यहाँका किसानहरुलाई बीउबिजन, बाली भित्र्याउन काम नरोक्न तर सामाजिक दूरी कायम गर्न अनुरोध गर्नुभयो । त्यसका साथै तरकारी, दुध, अण्डा, माछा र मासु जस्ता उपभोग्यवस्तुहरु बजारीकरण गर्न अवरोध भएमा मन्त्रालयले पशुपंक्षीजन्य उत्पादनका लागि पशुपंक्षी विकास निर्देशनालय र तरकारीजन्य वस्तुका लागि कृषि विकास निर्देशनालयबाट दुईवटा गाडीको व्यवस्था गरेको भन्दै किसानहरुलाई त्यसमा सम्पर्क राख्न सुझाउनुभयो ।

प्रतिकृया दिनुहोस्