OnlinePana

आज : २०८१ बैशाख १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दिलमाया शाही, आषाढ १२, २०७९जुम्ला
२५६ पटक

कर्णालीमा सङ्घर्षशील एक नाम हो, बिजमाया जैसी । उनी जुम्लाको गुठिचौर गाउँपालिका–५ फोइगाउँकी हुन् । उनीसँगै १२ वर्षकी छोरी र १४ वर्षको छोरा छन् । अहिले उनीहरू बस्ने एउटा टहरो छ । त्यो पनि खुला खेतमा । बिजमायाका श्रीमान् आफ्नै दुनियाँमा रमाइरहेका छन् । गाउँका दाजुभाइको सम्पर्कमा छन् तर, उनलाई घरपरिवारको वास्ता छैन । ११ वर्षदेखि सम्पर्कविहीन छन् ।

बिजमायाले यस खालको एकल हुनाको दुःख विगत ११ वर्षदेखि खेप्दै आएकी छन् । उनको कुरा न त फोइगाउँले सुन्छ, न त उनी बस्ने टहराले । पानी पर्नै हुँदैन, चुल्हामै पानीको ताल पर्छ । घाम लाग्नु हुँदैन, टहराभित्रै पसेर पोल्ने गर्छ । ओढ्ने ओछ्याउने लत्ताकपडा पनि खासै छैनन् । अभाव नै अभावमा बिजमायाले जीवन निर्वाह गरिरहेकी छन् । उनका दुई सन्तानले पनि आमाको एकल सङ्घर्षको भरमा चरम गरिबीमा जीवन गुजारिरहेका छन् ।

बिजमायाको पुरानो घर ठुलै थियो । त्यसैमा जेनतेन बालबच्चासँग जीवन निर्वाह गरिरहेकी थिइन् । त्यही घर पनि २०७७ सालको पुस महिनाको हिमपातले भत्कियो । घर लगाएको जग्गा माइतीले दिएका रहेछन् । “घर बनाउने पैसा थिएन । त्यही भत्केको घरनेर काठे टहरा बनाएको हुँ,” उनी भन्छिन्, “अरू दुःखमा परे माइत जान्छन् । आफ्नासँग सुखदुःख साट्छन् । मेरो त्यो बाटो पनि छैन ।” आफ्नो मात्रै मिहिनेतले साँझ बिहानको छाकको जोहो गर्नै गाह्रो भएको उनी बताउँछिन् ।

बिजमायाको हातमा सानो बटन मोबाइल छ । उनी जिन्दगीको बारेमा सोचेर बस्दै गर्दा हरिदेवी कोइरालाले गाएको गीत सुन्छिन्, “पाइनँ खबर घर फर्की आउनु होस् मेरो हजुर ।”

बिजमायाको बिहे २० वर्षअघि फोइगाउँका धर्मदत्त जैसीसँग भएको रहेछ । पहिले श्रीमान्‌श्रीमतीले सँगसँगै ज्याला मजदुरी गरेर जीवन राम्रै चलाएको सम्झन्छिन् उनी । पछि के भयो त ? “पछि बिस्तारै परिवारका झगडा यस्तै हुन् । अलि टाढा भयौँ,” उनी थप्छिन्, “त्यसमाथि भाइहरूको अंशबन्डा भयो । मेरो भागमा एक भारी खेत र एक हलको लेखमा रहेको जग्गा छ । त्योबाहेक अरू केही छैन ।”

बिजमायाका अनुसार, आजभन्दा ११ वर्षअघि उनका श्रीमान् डोल्पा व्यापार गर्न भनी गएका थिए । उनले करिब दुई वर्ष उतै बिताए । त्यसपछि तिहारको अघिल्लो दिन घरमा आए । तिहार मनाए । “तिहारको भोलिपल्ट खुद्रा सामान किनेर ल्याउँछु, गाउँमै व्यापार गर्छु भनेर श्रीमान् नेपालगन्ज जानुभयो । त्यसपछि कहिल्यै फर्किनुभएन,” त्यसपछिका दिनहरू सम्झँदै उदास भएर भन्छिन्, “न त तिनी आए । न त खबर आयो । ११ वर्ष भयो, श्रीमान्‌काे अत्तोपत्तो छैन ।”

बिजमायाको हातमा सानो बटन मोबाइल छ । उनी जिन्दगीको बारेमा सोचेर बस्दै गर्दा हरिदेवी कोइरालाले गाएको गीत सुन्छिन्, “पाइनँ खबर घर फर्की आउनु होस् मेरो हजुर ।”

बिजमायाको माइतमा बुढा भइसकेका बाबु छन् । दुई भाइहरू छन् । दिदी छन् । माइतमा पनि आर्थिक अवस्था कमजोर नै छ । “घर बनाइदेऊ पनि भन्न सकिँदैन । यस्तै छ,” उनी भन्छिन् । बिजमायाका भाइ नन्दप्रसाद आचार्य पनि दुःखी छन् । भन्छन्, “दिदीको अवस्था देखेर मन खिन्न हुन्छ । के गर्ने ? हामीसँग उनको समस्या समाधान गर्ने कुनै उपाय छैन ।” उनी खेतीपाती गरेर घरपरिवार पालेको र आफ्नै परिवारको पालनपोषणको लागि समस्या रहेको बताउँछन् ।

बिजमायाका छोराछोरी त्रिभुवन माध्यमिक विद्यालय झारजुवालामा पढ्दैछन् । छोरा १० र छोरी ७ कक्षामा छन् । सरकारी स्कुल हो । आफूले स्कुलको पोसाकसमेत किनिदिन नसकेका कारण उनीहरू विद्यालय जान खासै मान्दैनन् भन्ने बिजमायाको बुझाइ छ । भन्छिन्, “घर बनाएर छोराछोरी पढाउने ठुलो सपना छ ।”

बिजमाया एक प्रतिनिधि पात्र मात्रै हुन् । “उनी जस्ता समस्या भएका अरू महिला र बालबालिकाका लागि पनि शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकता पूरा गर्नका लागि मेरो पहिलो प्राथमिकता रहने छ ।”

गुठीचौर गाउँपालिका–५ को फोइगाउँ जुम्लाको सदरमुकामदेखि पाँच किलोमिटर टाढा पश्चिममा पर्दछ । भर्खरै कच्ची सडक पुगेको छ । जेनतेन साना गाडी, मोटरसाइकल र ट्याक्टर गुड्न थालेका छन् । गाउँको माथिल्लो भेग ओखर र स्याउका बगैँचा र सल्लाका रुखले हराभरा छ । फोइगाउँ त्यसैको बिचमा रहेको छ ।

फोइगाउँका सबै घर एकैनासका नभए पनि एकै ठाउँमा बनेका छन् । “हामी बस्ने काठको टहरा बस्तीको बिचमा छ,” बिजमाया भन्छिन्, “वरिपरि ठुला महल जस्ता घर छन् ।” पुर्व वडाध्यक्ष चन्द्र नेपालीका अनुसार फोइगाउँको घरदुरी सङ्ख्या ८४ र जनसङ्ख्या २५० रहेको छ ।

“आमा ! हाम्रो घर कहिले बनाउने ? हामीलाई साथीहरूले लगाए जस्तै कपडा ल्याइदिनू भन्छन्,” बिजमाया भक्कानिँदै भन्छिन्, “छोराछोरीको यो कुराले म त्यही काठको टहरामा बसेर मुख छोपेर रुने गरेको छु ।”

“हामी पहिले नै अंशबन्डा गरेर छुट्टै बसेका थियौँ । जेठी जेठानी र देवरको परिवार छन् ।” कसैसँग पनि धेरै ठुलो आशा र अपेक्षा छैन बिजमायाको । भन्छिन्, “आफू ३९ वर्षको भइसकेँ । छोरा र छोरीलाई छाक टार्ने केही जोहो भए हुन्थ्यो ।” फोइगाउँको मुख्य पेसा कृषि हो । गर्नसके स्याउ, सिमी, फापर, कोदो, मार्सीधान, आलु, गहुँ र जौ उत्पादन हुन्छ ।

नेपालमा ६० वर्षभन्दा पनि लामो राजनीतिक सङ्घर्ष गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याइएको छ । यही व्यवस्थाअनुसार दोस्रोपटक स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । गाउँपालिकामा उपाध्यक्ष वा अध्यक्ष महिला हुनैपर्ने व्यवस्था छ । उपाध्यक्षलाई न्यायिक समितिको संयोजक तोकिएको छ । त्यो समितिबाट पनि न्याय मिल्ने भनेको पहुँचवालाका लागि मात्रै त होइन नि ? गुठीचौर गाउँपालिकाकी नवनिर्वाचित उपाध्यक्ष शान्ति मल्ल भण्डारी बिजमायाका सम्बन्धमा भन्छिन्, “उनको बारेमा केही जानकारी लिएकी छु । म मेरो कार्यकालमा बिजमायाको बस्ने आवास, गास र बच्चाको शिक्षाको लागि पहल गर्ने छु ।” आफ्नो पालिकाका विपन्न तथा हिंसापीडित महिलाको लागि बिशेष खालका कार्यक्रम लागु गर्ने बताउँदै उनी भन्छिन्, “उनीहरूको दैनिकीमा सकारात्मक परिवर्तन ल्याउने छु ।”

उपाध्यक्ष मल्ल भण्डारीका अनुसार, बिजमाया एक प्रतिनिधि पात्र मात्रै हुन् । भन्छिन्, “उनी जस्ता समस्या भएका अरू महिला र बालबालिकाका लागि पनि शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकता पूरा गर्नका लागि मेरो पहिलो प्राथमिकता रहने छ ।”

घरेलु हिंसा, महिला सशक्तीकरण जस्ता सचेतना कार्यक्रम गर्दै आए पनि श्रीमान्‌ले बेवास्ता गरी एकल भएका, दुःख पाइरहेका, कठिनताका साथ बच्चा हुर्काइरहेका बिजमाया जस्ता महिलाहरूलाई समेट्न नसकिएको उनी बताउँछन् ।

दुर्गममा रहेर हातमुख जोर्नका लागि रातदिन सङ्घर्षरत बिजमाया जस्ता महिलाका दिन कहिले फिर्ने हुन् थाहा छैन । दैनिक छाक टार्नका लागि नै १८ घण्टा हाड घोट्नुपर्ने उनीहरूको समस्यामा केही कमी भएको छैन । कहीँ कतैबाट राहतको आभास पनि पाउन सकेका छैनन् । छोराछोरीको भविष्य बनाउनका लागि एकल सङ्घर्षरत बिजमायाले अहिलेसम्म पाएको भनेको आई.एन.एफ. जुम्लाले दिएको खाद्यान्न र प्रशासनले दिएको तीन वटा कम्बल रहेछन् । कोरोनापीडितलाई राहत शीर्षकको त्यो कार्यक्रम फालुराम चौधरीले सञ्चालन गरेका थिए । त्यही खाद्यान्नले नौ महिना खान पुगेको बताउँछिन् उनी ।

स्थानीय तहमा महिलाको हकहितमा काम गर्ने भनी खोलिएका सङ्घसंस्थाहरू पनि छन् । जुम्लामा हिंसापीडित महिला र बालबालिकाका लागि काम गर्ने जिल्ला सेवा केन्द्र पनि छ । त्यो केन्द्र बिजमायाको बारेमा जानकार रहेको पाइँदैन । केन्द्रकी अध्यक्ष भगवती श्रेष्ठ भन्छिन्, “हाम्रो सेवा केन्द्रमा आएको खण्डमा हामीले सेवा दिने हो ।” कानुनी सेवा, स्वास्थ्य उपचार, मनोसामाजिक परामर्शलगायत पीडितको आवश्यकताको आधारमा सेवा दिने गरेको उनी बताउँछिन् । उनका अनुसार, सेवा केन्द्रमा खासगरी हिंसापीडित र यौन दुर्व्यवहारमा परेकाहरू आउने गरेका छन् ।

“गरिब, दुःखी, एकल महिलाका लागि खासै काम गरिएको छैन,” केन्द्रकी अध्यक्ष श्रेष्ठ भन्छिन्, “घरपरिवारबाट एकल भएका पीडित महिलालाई भिन्न संस्थासँग समन्वय गरेर सिपमूलक तालिम भने दिने गरिएको छ ।” उनका अनुसार, बिजमायाका छोराछोरीको पढाइलेखाइका लागि अरू संस्थासँग समन्वय गरेर स्टेशनरी जस्ता सामग्री सहयोग गर्न सकिन्छ ।

महिला तथा बालबालिका कार्यालय खारेज भएपछि कर्णाली प्रदेशको सामाजिक मन्त्रालयअन्तर्गतको सामाजिक विकास कार्यालय, जुम्लाले गरिब, दुःखी र एकल महिलाका बालबालिकाका लागि काम गर्ने भनिएको छ । यसले के गरिरहेको छ त ? सो कार्यालयका प्रमुख तुलाराज चौलागाईं भन्छन्, “श्रीमान्‌को बेवास्ताले एकल भएका महिलाका लागि भनेर छुट्टै कार्यक्रम छैन ।” किन त ? “प्रदेशको सामाजिक मन्त्रालयले नै कार्यक्रम तयार पारेर पठाउँछ,” उनी भन्छन्, “त्यसैमा टेकेर काम गर्नुपर्ने भएकाले यहाँका समस्याको बारेमा काम गर्न गाह्रो छ ।”

प्रमुख चौलागाईंका अनुसार, खासगरी जिल्लाको आवश्यकताको आधारमा कार्यक्रम हुनुपर्ने हो तर त्यो भएको पाइँदैन । तर घरेलु हिंसा, महिला सशक्तीकरण जस्ता सचेतना कार्यक्रम गर्दै आए पनि श्रीमान्‌ले बेवास्ता गरी एकल भएका, दुःख पाइरहेका, कठिनताका साथ बच्चा हुर्काइरहेका बिजमाया जस्ता महिलाहरूलाई समेट्न नसकिएको उनी बताउँछन् ।

बिजमाया जस्ता सङ्घर्षशील र मिहिनेती महिलाले भोगिरहेको समस्या सामान्य होइन । यो ‘मौन आपत्काल’ हो । यसको लागि राज्यले घरैदेखिको लैङ्गिक विभेदको जरो काटेर समतामुखी समाधान दिन ढिला भइसकेको छ ।

त्यसो त प्रमुख चौलागाईं बिजमाया जस्ता धेरै महिलाको समूह भएको खण्डमा सिपमूलक तालिम दिएर आत्मनिर्भर बनाउन सकिने पनि बताउँछन् । उनका अनुसार, जोखिममा परेका बालबालिकाहरूलाई कार्यालयले पोसाक, झोला र स्टेशनरी जस्ता सामग्री सहयोग गर्ने गरेको छ ।

प्रमुख चौलागाईंको विचारमा समाजमा पुरुषत्व हावी रहेको र महिलाले १८ घण्टा काम गरे पनि मूल्यहीन मानिएका कारण हिंसा निम्तिएको छ । उनी भन्छन्, “बालविवाह गरेका कारण सानो उम्मेरमा बच्चा जन्माउने, स्वास्थ्य समस्याका कारण घरकी श्रीमतीलाई नराम्री मान्ने र श्रीमान्ले अर्कैसँग सम्बन्ध राखेर यातना दिने गरेको पाइन्छ ।” यस्तालाई राज्यले पनि तह लगाउन सकेको छैन । बिजमाया र उनका छोराछोरी दोहोरो मारमा छन् । परिवार र राज्य दुवै सत्ताबाट पीडित हुन पुगेका छन् ।

बिजमाया अहिले पनि आफ्ना श्रीमान् घर आउँछन् भन्ने आशामा बसेकी छन् । “म तिनकै प्रतीक्षामा छु । बच्चा पालेर बसेको हुँ,” श्रीमान् सम्पर्कविहीन भएकोमा उनलाई गहिरो दुःख छ । एकल सङ्घर्षका दिनहरू सुखद् रहेनन् । अब झन् भविष्यको चिन्ता थपिएको छ । भन्छिन्, “अब के गर्ने ?” उनलाई स्वास्थ्यको पनि चिन्ता छ । उनलाई शरीरले साथ दिन छाडेको छ । भन्छिन्, “शरीर पनि कमजोर हुँदै गएको छ । काम गर्ने अवस्था पनि छैन ।”

यसको दीर्घकालीन समाधान के होला त ? प्रमुख चौलागाईं नै भन्छन्, “श्रीमान्ले श्रीमतीको कामलाई सम्मान दिनसकेको खण्डमा यसको समस्या समाधान हुन्छ । अनि मात्रै हिंसारहित समाज बन्छ ।” साथै, बिजमाया जस्ता एकल सङ्घर्षरत महिला कार्यालयको सम्पर्कमा आएको खण्डमा उनीहरूको क्षमता अभिवृिद्ध गराउन र सिपमूलक तालिम दिन सकिने उनी ठान्छन् । नेपालमा जहिले पनि क्षमता अभिवृिद्ध र सिपमूलक तालिमका कुरा हुन्छन् ।

बिजमाया जस्ता सङ्घर्षशील र मिहिनेती महिलाले भोगिरहेको समस्या सामान्य होइन । यो ‘मौन आपत्काल’ हो । यसको लागि राज्यले घरैदेखिको लैङ्गिक विभेदको जरो काटेर समतामुखी समाधान दिन ढिला भइसकेको छ । यसले केही समयका लागि विभेदकारी व्यवहारविरुद्ध आक्रामक र हस्तक्षेपकारी कदमको समेत माग गर्दछ ।

प्रकाशन मिति : २०७९ असार १२, आईतवार ।

प्रतिकृया दिनुहोस्