OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख १०, २०७९सुर्खेत
८७८ पटक

१० बैशाख २०७९, शनिबार

मुलुक संघीयता संरचना गएपछि कर्णाली प्रदेश लोक सेवा आयोग सुर्खेत पहिलो पटक प्रदेश निजामति कर्मचारीको परीक्षा सञ्चालन गरेको छ । आयोगले शनिबार विविध सेवाअन्तरगत खुला तथा समावेशी सहायकस्तर पाँचौ तहको महिला विकास निरीक्षक पदको परीक्षा सञ्चालन गरेको हो ।

कर्णाली प्रदेश लोक सेवा आयोग ऐन, २०७५ को दफा ३ बमोजिम गठित प्रदेश लोक सेवा आयोगले गत पुस महिनाको २७ गते खोलेको महिला विकास निरीक्षक पदको ५१५–५१६÷०७८÷०७९ को विज्ञापन अनुसार खुलामा आठ र महिलातर्फ एकजना गरी नौ कर्मचारी माग गरेको थियो । उक्त विज्ञापन अनुसार आज सञ्चालित परीक्षामा दुई हजार १९७ परीक्षार्थी सम्मिलित भएको आयोगका सचिव भुपेन्द्र थापाले जानकारी दिनुभयो ।

“परीक्षा अत्यन्तै सौहार्द र मर्यादित वातावरणमा सम्पन्न भएको छ,” सचिव थापाले भन्नुभयो, “प्रदेश निजामती तथा स्थानीय सेवाअन्तरगत भएको परीक्षा सञ्चालनका लागि ११ वटा परीक्षा केन्द्र व्यवस्था गरिएको थियो ।” जसमा ११ केन्द्राध्यक्ष, ८७ जना सहायक केन्द्राध्यक्ष र ११९ जना निरीक्षकको परिचालन गरिएको उहाँले बताउनुभयो ।

प्रदेश लोक आयोग कर्णाली प्रदेशका अध्यक्ष रामप्रसाद उपाध्यायले संघीयताको इतिहासमा पहिलो पटक परीक्षा सञ्चालन गर्ने अवसरले आयोग परिवारलाई गौरवान्वित तुल्याएको बताउनुभयो । आफ्नै सरकार अन्तरगत गठित प्रदेश लोक सेवा आयोगले सञ्चालन गरेको परीक्षाले परीक्षार्थीहरुलाई संघीयताको अनुभूति गराएको अध्यक्ष उपाध्यायको भनाई थियो । उहाँका अनुसार यो परीक्षाबाट प्रदेश लोक सेवा आयोगप्रति नागरिकहरुको विश्वास बढ्ने अपेक्षा गरिएको छ ।

आयोगले सञ्चालन गरेको महिला विकास निरीक्षकको परीक्षामा सहभागी हुन पाउँदा निकै खुशी लागेको परीक्षार्थी सन्जु शाहीले जानकारी दिनुभयो । “शनिबार दिउसो १ः०० बजेबाट परीक्षा सञ्चालन भएको थियो,” शाहीले भन्नुभयो, “व्यवस्थित परीक्षा र शान्त वातावरणले डेढ घण्टाको समयलाई भरपुर उपयोग गरेको जस्तो लागेको छ ।” आयोगको परीक्षाले पढ्न उत्प्रेरित गराएको उहाँको भनाई थियो ।

प्रतिकृया दिनुहोस्