OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र १८, २०७८सुर्खेत
७४३ पटक

 १८ चैत २०७८ शुक्रबार

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विपद् जोखिम न्यूनीकरणका लागि तीनै तहबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल सरकार गृह मन्त्रालयअन्तरगत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका ७ इत्राम सुर्खेतमा निर्माण भएको मानवीय सहायता स्थलको आज समुद्घाटन गर्दै मुख्यमन्त्री शाहीले विपद् जोखिम न्यूनीकरणको पूर्व तयारीमा सबैले गहिरो ध्यान दिनुपर्नेमा जोड दिनुभयो । “विपद्सँग सामना गर्न जनशक्ति परिचालन, उपकरणको उपलब्धता र पूर्वतयारी आवश्यक हुन्छ,” उहाँले भन्नुभयो, “त्यसका लागि तीन तहका सरकारबीचको समन्वय र सहकार्य नितान्त जरुरी छ ।”

संघ, प्रदेश र स्थानीय तह सबै नेपालका सरकार भएको जनाउँदै मुख्यमन्त्री शाहीले विपद् जोखिमको प्रतिकार्य, उद्धार, राहतका लागि पूर्व तयारी र समयको सदुपयोग महत्वपूर्ण कुरो भएको जनाउनुभयो । यस्ता प्राकृतिक विपद्मा सरकार विकास साझेदारहरुको सहयोग आवश्यक रहेको बताउँदै उहाँले बेलायत सरकार तथा विश्व खाद्य संगठनको लामो समयदेखिको योगदानको उच्च प्रशंसा गर्नुभयो । कर्णाली पनि विपद्को उच्च जोखिम रहेको यसको पूर्वतयारी लाग्न हरेकले समय महत्व दिएर काम गर्नुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हिमबहादुर शाहीले विपद मानव जातिको आजात शत्रु भएकोले त्यसको रोकथाम, न्यूनिकरण र नियन्त्रणा साझा प्रयास भएको बताउनुभयो । गृह मन्त्रालयले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माण गरेको मानवीय सहायता स्थलमा बेलायत सरकार तथा विश्व खाद्य संगठनको सहयोग गरेकाप्रति धन्यवाद व्यक्त गर्दै उक्त संरचनालाई ठूलो पूँजीका रुपमा ग्रहण गरिने जनाउनुभयो ।

कर्णाली प्रदेश सरकारका निमित्त प्रमुख सचिव आनन्द सारुले विपद् व्यवस्थापनमा राज्यको अभिभावकीय भूमिका हुनुपर्ने जनाउनुभयो । राज्यले यसमा आफ्नो सक्षमता कायम गर्नुपर्ने भन्दै निमित्त प्रमुख सचिवले विपद् प्रतिकार्यका लागि तीनवटै सरकारको आपसी समन्वय, सहकार्य आवश्यक हुने जनाउनुभयो ।

विश्व खाद्य संगठनका कन्ट्री डाइरेक्टर रोवर्ट कास्काले लामो समयदेखि विपद् जोखिमको क्षेत्रमा संगठनले काम गर्दै आएको र अब पनि कर्णालीमा समन्वय निरन्तर राख्ने जनाउनुभयो । उहाँले कर्णाली आइलाग्ने विपद्को सम्बोधनका लागि आफू सँधै तयार रहेको जनाउँदै सरकारले विपद् प्रतिकार्यको पूर्व तयारी गर्न सुझाउनुभयो ।

नेपाल सरकार गृह मन्त्रालय विपद् तथा द्वन्द्व शाखाका प्रमुख प्रदीपकुमार कोइरालाले संघ, प्रदेश तथा स्थानीय तहमा विपद् व्यवस्थापन समितिको संरचना भएको बताउनुभयो । कर्णालीको विपद् जोखिमको अवस्थालाई ध्यानमा राखेर सुर्खेतमा आपतकालीन सहयोगका लागि मानवीय सहायता केन्द्र राखिएको जनाउनुभएका उहाँले विपद्का सामग्री भण्डारणका लागि गोदाम घर निर्माण गरिएको र यो सातै प्रदेशमा नेपाल सरकारले व्यवस्थापन गरेको बताउनुभयो ।

उहाँले वीरेन्द्रनगर नगरपालिकाका प्रमुखलाई खुला क्षेत्र बचाई राख्न र विपद् कोषको व्यवस्थापन गर्न अनुरोध गर्नुभयो । वीरेन्द्रनगरका प्रमुख सुवेदीले मानवीय सहायता स्थल कर्णालीको ठूलो उपलब्धि भएको जनाउनुभयो । सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले कर्णालीमा विपद् प्रतिकार्यका लागि आवश्यक उपकरण नहुँदा समस्या भएको जनाउँदै यसलाई जनशक्ति र उपकरणयुक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।

विश्व खाद्य संगठनका सञ्चार अधिकृत मोनिका उपाध्याय कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मानवीय सहायता स्थल करिब रु.चार करोड लागनमा निर्माण भएको जनाउनुभयो । उक्त कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव झक्कप्रसाद आचार्य, आन्तरिक मामिला तथा कानून मन्त्रलायका सचिव प्रेमराज गिरी, सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।

 

 

 

प्रतिकृया दिनुहोस्