OnlinePana

आज : २०७९ आषाढ १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ २५, २०७८सुर्खेत
७०३ पटक

२५ माघ २०७८, मंगलबार

कर्णाली प्रदेशसभा सदस्य नरेश भण्डारीले नेपालको मूल सभ्यता ‘सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८’ माटोको लागि योगदान गर्ने अवसर भएको बताउनुभएको छ ।

कर्णाली प्रदेशसभाको नवौं अधिवेशनको सातौं बैठकमा उक्त विधेयकमाथि भएको सैद्धान्तिक छलफलका क्रममा आएका प्रदेशसभा सदस्यहरुको सुझाव तथा जिज्ञासामाथि जवाफ दिँदै प्रदेशसभा सदस्य भण्डारीले सिंजा सभ्यता हाम्रा पुर्खाले छोडेर गएको सुन्दर उपहार भएको जनाउनुभयो ।

प्रत्यक्षरुपले नसमेटिएको सभ्यताको अभिन्न रुपमा जोडिएको समुदाय दलित समुदायलाई यो विधेयक सम्बोधन गर्ने जनाउँदै उहाँले यसलाई बढी परिमार्जित सुसंस्कृत बनाएर लैजाने धारणा राख्नुभयो । यो सामान्य छलफल भएकोले संशोधन प्रस्ताव आउने जनाउनुभएका उहाँले सभाबाट अनुरोध गर्दै भन्नुभयो, ‘विश्वका मूल सभ्यताको पंक्तिमा पर्ने हाम्रो सभ्यतालाई बुझ्न नसके बिडम्बना ! हुनेछ । पूर्व निर्धारित दिमागबाट नभए फराकिलो कोणबाट यसको छलफल गर्न म सबै प्रदेशसभा सदस्यहरुलाई अनुरोध गर्दछु ।’

सरकारले विधेयक ल्याउने र हामीले थपडी बजाउने अनि दस्तखत गर्ने मान्यताबाट माथि उठ्नुपर्नेमा जोड दिँदै यो विधेयक सरकार हामी सबैको भएको जनाउनुभयो । त्यसको पूर्णताका लागि सबैको सहयोग पुग्ने विश्वास रहेको जनाउँदै उहाँले भन्नुभयो, ‘सकिन्छ, संभव छ । हिँडे पुगिन्छ । छरे उम्रिन्छ र रोपे फल्छ ।’

‘सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७’८ उपर सैद्धान्तिक छलफल सभामा मङ्गलबार सकिएको छ । संशोधन दर्ता गर्ने प्रयोजनका लागि ७२ घण्टाको समयसीमा प्रारम्भ भएको सभामुख राजबहादुर शाहीले सूचना गर्नुभयो । छलफलका क्रममा छ जना प्रदेशसभा सदस्यहरुले प्रस्तुत गर्नु भएका जिज्ञासा सुझाव, धारणा र दृष्टिकोणमाथि प्रदेशसभा सदस्य भण्डारीले प्रष्टीकरण दिएको मूल अंशः

माननीय सभामुख महोदय,

कर्णाली प्रदेश नेपाली भाषा, सभ्यता र संस्कृतिको उद्गम प्रदेश हो जुन हाम्रो सुख र खुसीका लागि एक असाधारण अवसर हो । बिडम्वना यो अवसरलाई हामीले उपयोग गर्न अरुची देखाइरह्यौं । नेपालको मुल सभ्यता सिंजा सभ्यतालाई केवल पढिरह्ययौं, मात्र टुलुटुल हेरिरह्यौं । परिणामतः सिंजा सभ्यता ओझेलमा परिरह्यो । विदेशी भाषा, सभ्यता र संस्कृतिको अतिक्रमण भोगिरहेका छौं । भाषा, सभ्यता र संस्कृतिको विनासले सम्बन्धित सामाजिक संरचनाको विघटन हुने वास्तविकतालाई हृदयंगम गरेर भाषा, सभ्यता र संस्कृतिको संरक्षण र विकासका लागि विशेष कानुन र संरचना निर्माणका लागि यो विधेयक ल्याइएको छ ।

कर्णाली प्रदेशसभामा प्रस्तुत सिञ्जा सभ्यता संरक्षण तथा विकास ऐन, २०७८ संघी व्यवस्था स्थापना पश्चात् प्रदेशसभा सदस्यले नेपालका सात प्रदेशसभा मध्ये कर्णाली प्रदेशसभामा पेश गरेको सिंजा सभ्यता विधेयक नेपालकै पहिलो ऐतिहासिक गैरसरकारी विधेयक बनेको छ । कर्णाली प्रदेशसभामा नयाँ र मौलिक अभ्यासको थालनी भएको छ ।

प्रथमतः विषयवस्तुका दृष्टिले मात्र होइन प्रस्तुति अग्रताका दृष्टिलेपनि एतिहासिक बनेको यो विधेयकलाई यो चरणससम्म पुर्याएर माटोको लागि योगदान गर्ने यो ऐतिहासिक अवसर प्रदान गर्ने मा∙ मुख्यमन्त्री ज्यू, मा∙ सभामुख ज्यू, प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेता ज्यूहरु, कार्य व्यवस्था परामर्श समितिका माननीय सदस्यज्यूहरु, जुम्ला जिल्लाबाट प्रतिनिधित्व गर्ने माननीय ज्यूहरु, सचिवालयका सचिव एवं कर्मचारीहरु, विज्ञहरु, कर्णालीवासीहरु, विधेयक मस्यौदामा सहयोग गर्नै व्यक्तित्वहरु, आजको छलफलमा भाग लिएर विधेयकलाई परिस्कृत बनाउन सघाउने समस्त माननीय ज्यूहरुप्रति हृदयदेखि आभार प्रकट गर्दछु। साथै, जजसले जहाँकाट जसरी यस विधेयकमा प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा योगदान गर्नुभयो उहाँहरुपनि धन्यवादको पात्र हुनुहुन्छ ।

संविधानको अनुसूची ५ अन्तर्गत प्रदेशको अधिकारको सूचीको क्रम संख्या १८ मा उल्लेखित विषयहरुभित्र रही विधेयकका उदेश्य कार्यान्वय गर्न यस विधेयकका कानुनी, नीतिगत तथा संरचानगत व्यवस्था गरिएको छ । विधेयकमा माननीय मुख्यमन्त्रीको अध्यक्षमा नीति निर्माण गर्ने सर्वोच्च निकाय (सिञ्जा सभ्यता संरक्षण तथा विकास सभा, कार्यान्वयन निकाय (सिञ्जा सभ्यता संरक्षण तथा विकास प्राधिकरण र कार्यकारी परिषद्को व्यवस्था गरिएको, उपाध्यक्ष, कार्यकारी निर्देशक र कर्मचारी प्रदेश सरकारले उपलब्ध गराउने र विधेयकको कार्यान्वयनबाट सालवसालीरुपमा आर्थिक व्ययभार पर्ने प्रावधान राखिएको, संघीय कानुनसँग नबाझिनेगरी परिच्छेद ६, दफा ३३ मा संरचित यस ऐतिहासिक महत्वको विधेयक पारित गरेर नेपालको मूल सभ्यता सिञ्जा सभ्यताको उद्‍गम स्थल जुम्ला जिल्लास्थित सिञ्जा क्षेत्र र सिञ्जा सभ्यतासँग सम्बन्धित कर्णाली प्रदेशका अन्य भूभागको ऐतिहासिक, साँस्कृतिक, सामाजिक, पुरातात्विक, धार्मिक एवं भाषिक पर्यटन प्रवर्द्धन गरी आर्थिक समृद्धि तथा खुसी हासिल गर्ने कर्णालीवासीको उत्कट अभिलाषालाई न्याय गर्न यहाँहरु समस्तबाट थप योगदानको अपेक्षा गर्दछु ।

उत्पतिकर्ता म भएपनि यस विधेयक केवल मेरो मात्र होइन सरकार एवं सम्पूर्ण प्रदेशसभा सदस्यज्यूहरुको साझा विधेयक भएको मेरो बुझाइ रहेको छ । आम कर्णालीबासी तथा यस विधेयकका उद्देश्यबाट प्रभावित सम्पूर्ण नेपालीहरुले अपनत्व लिइ हाम्रा पुर्खाले हामीलाई हस्तान्तरण गरेको यो उपहार, कर्णालीबासीको सुख, समृद्धि एवं गौरवको आधार सिंजा सभ्यताको संरक्षण र विकासका लागि विलम्ब भइसकेको छ । एउटा नयाँ सोचले गरिवीको जन्जीर तोडेर सुख र खुसीको संसार निर्माण गरेको दृष्टान्तले हामीलाई उत्पेरित गर्नै पर्दछ ।

कानुन र नीति निर्माणको मुल जिम्मेवारीका साथ संसदमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरु बजेट विनियोजन गर्ने, कार्यपालिकीय कार्यक्षेत्रमा आफुलाई व्यस्त गराइरहेको आलोचनाबाट मुक्त हुने अवसरको ढोका यस विधेयकले खोल्ने विश्वास लिएको छु । अन्तमा छलफल प्रक्रियामा सहभागी हुने समस्त माननीय ज्यूहरुप्रति आभार प्रकट गर्दछु ।

प्रतिकृया दिनुहोस्