नेपाली क्रान्ति नायक प्रचण्डसँग दुई हजार एक सय नब्बे दिनपछि भएको भेटमा म भावुक हुनु स्वाभाविकै थियो । सन् २०१५ मा नेपाल छोड्नुअघि मेरो संक्षिप्त भेट भएको थियो । त्यतिबेला मैले उहाँलाई अलिकति आलोचना र बढी गुनासो गरेको थिएँ । मेरो आलोचनाप्रति खुशी र गुनासोप्रति गम्भीर हुँदै उहाँले संविधान बनेपछि अब नयाँ ढंगले जान खोजिएको र ठूला चुनौतीका बीच पनि देशको नेतृत्व क्रान्तिकारीहरूले लिने परिस्थिति निर्माण हुँदै गरेको बताउनुभएको थियो ।
संविधान निर्माण भएपछि क्रान्तिलाई नेतृत्व गरेका शक्तिलाई फुटाउने चौतर्फी कोसिस भइरहेको र केही आफ्ना जिम्मेवार कमरेडहरू पनि कस्सिएर लागेकोमा उहाँको चिन्ता थियो । क्रान्तिकारी पार्टीलाई फुटाएर कमजोर बनाउन लागेका जिम्मेवार कमरेडहरूसँग इमानदार, क्रान्तिकारीहरू पनि भ्रमवश प्रभावित भएर केही समय अल्मलिने उहाँको विश्लेषण थियो । खासगरी निक्कै टाढा पुग्न लाग्नुभएका जिम्मेवार नेता डा बाबुराम भट्टराईलाई पार्टीमै रहन सबै इमानदार कार्यकर्ताले पनि पहल गरौँ भन्ने उहाँको अनुरोध थियो ।
मेरो उहाँलाई आलोचना थियो, तपाई ठूला नेताहरू मिल्दा पनि हामीलाई थाहा हुँदैन र फुट्दा पनि । कसरी मिल्ने र फुट्ने, त्यो तपाईंहरूलाई मात्रै थाहा भएकाले हामी स–साना कार्यकर्ताको केही लाग्दैन भन्ने थियो । तर, उहाँले बाबुरामजीको अहिलेको मुभ निक्कै टाढाको छ, उहाँ कता–कता पुग्नुहुन्छ, फेरि सकभर सबैले पहल गरेर रोकौँ, नभए उहाँको भ्रमबाट बचौँ ।
मेरो उहाँलाई आलोचना थियो, ‘तपाई नै बाबुराममाथि अन्याय गर्नुहुन्छ र हामीलाई भ्रममा पार्नुहुन्छ । सोमबार बिहानको भेट अलिकति त्यही बिन्दुको स्मरणबाट भयो ।
उहाँले केही इमानदार कार्यकर्ता र बुद्धिजीवीहरूमा त्यस्तो भ्रम त्यो बेला रहेको र त्यसलाई आफूले अन्यथा नलिएको विचार राख्दै मैले लेखेका प्रचण्डबिनाका पुष्पकमल दाहाल र लालध्वजबिनाका बाबुराम भट्टराईसँग रहन सकिँदैन’ र ‘आफ्नै पुरानो घर लिपपोत गर्छु’ भन्ने लेखले आफूलाई निकै राहत मिलेको र त्यो बेला बाबुरामजीसँग लाम लागेका धेरै इमानदार क्रान्तिकारीलाई रोकिन निकै सहयोग मिलेको पनि बताउनुभयो ।
हुन पनि हिजोका दिनमा हामीलाई प्रचण्डले बाबुरामलाई लगाउने आरोपजस्ता लाग्ने कुरा – ‘यी माक्र्सवादी होइनन्, गणतन्त्र आएपछि यी सँगसँगै नहुन सक्छन्, पार्टी र संगठन बनाउन सक्दैनन्, उनको संगठनसम्बन्धी व्यक्तिवादी अराजकतावादी चिन्तनले उनलाई नै नोक्सानी पुर्याउँछ’ जस्ता कुराहरू अहिले आएर बाबुरामजी आफैँले पुष्टि पनि गरिदिनुभएको छ । र, त्यो बेला हामी वैचारिकरुपमा भ्रममा रहेका धेरै मुक्त पनि भैसकेका छौं ।
पार्टीले क्रान्तिकालमा ममाथि गरेको लगानी र शान्तिकालपछिको अपेक्षा विपरीत मैले लिएको ‘दुई हजार एक सय नब्बे’ दिनको फरक घुम्तीबारे अध्यक्षसँग आत्मालोचना पनि गरें । अध्यक्ष कमरेडले मलाई तपाई जहाँ भए पनि विचार, आन्दोलन, देश र पार्टीका पक्षमा रहेको रिपोर्ट आफूले पाउने गरेको र प्रवासमा रहेर त्यहाँका नेपालीलाई देशप्रति र पार्टी समर्थकलाई पार्टीप्रति ऊर्जावान् बनाउन योगदान गरेको आफूलाई थाहा भएको बताउनुभयो ।
अध्यक्ष प्रचण्डले ‘मनऋषि धिताल’ जहाँ भए पनि हाम्रो आन्दोलनको एक इमानदार पात्र हो भन्ने पार्टीलाई गहिरो वोध भएको भन्दै अब फेरि देशमै बसेर काम गर्न ‘हार्दिक स्वागत गर्छु’ भन्नुभएको क्षण मेरा लागि थप भावुक थियो । र, लामो समय छुट्टिएका परिवारका प्रियजनहरुसँगको पुनर्मिलनको क्षणजस्तै थियो । यो क्षण मैले अब देशमै रहेर काम गर्छु भन्ने मेरो इच्छालाई थप प्रतिबद्ध बनाउने क्षण पनि थियो ।
पार्टीले सञ्चालन गरेको दशवर्षे जनयुद्ध र त्यसपछिका सबै जोखिमपूर्ण योजनामा सक्रिय सहभागी भएर संविधान बनेपछिको अवस्थामा ‘जेसुकै’ कारणले होस्, देश छोड्न बाध्य भएका मध्ये गणनामा पर्ने एक पात्र हुनुका नाताले अब देश फर्कने क्रमको सुरुवात पनि मजस्तै पात्रहरूले गर्नुपर्छ भन्ने मेरो विचारलाई अध्यक्ष प्रचण्डको स्वागतले झन उर्जा दिएको छ । उहाँले ‘तपाईं जस्ता पुराना, इमानदार कार्यकर्तालाई पार्टीले पूर्ण राजनीतिक संरक्षण र उपयुक्त पार्टी जिम्मेवारी दिने’ भनेको कुरालाई औपचारिक भेटको कृत्रिम भलाकुसारी होइन भन्ने मैले पूर्णवोध गरेको छु ।
र, यो अवसरमा म इमान्दारिताका साथ मेरा प्रवासी कमरेडहरूलाई आह्वान गर्छु कि : अध्यक्ष प्रचण्डले हामीजस्ता युवालाई स्वदेशमा फर्कन गर्नुभएको स्वागतले कुनै पनि दिन हामीले पश्चाताप ९रिग्रेट० गर्नुपर्ने छैन ।
लामो कुराकानीमा विदेश जान बाध्य नेपालीलाई कसरी स्वदेशमै भविष्य निर्माण गर्ने वातावरण बनाउन सकिन्छ भन्ने स्पष्ट योजना पनि उहाँसँग भएको मैले पाएँ । पार्टी समर्थक, शुभचिन्तक मात्रै होइन, बिदेशिन बाध्य नेपाली युवालाई मातृभूमिमै आफ्नो सुन्दर भविष्य निर्माणको योजना उहाँसँग छ । आउनुहोस् हामी साझा सपना र भविष्य निर्माणको यात्रामा कमरेड प्रचण्डसँगै यात्रा गरौँ ।
उहाँका एकमात्र छोरा कमरेड साकार ९क।प्रकाश० को निधनपछि उहाँले सबै नेपाली युवायुवती आफ्ना छोराछोरी हुन् भन्दै सबैको भावुकतालाई ऊर्जामा परिणत गरेको कुरा हामीमा ताजै छ । अध्यक्ष कमरेड प्रचण्डकी जीवनसंगिनी आदरणीय सीता दाहालको स्वास्थ्य अवस्था लामो समयदेखि कमजोर र स्थिर छ । तर, भर्खरै उहाँमाथि हमला गर्न आइलागेको महामारी कोरोनालाई भने पराजित गर्नुभएको सुखद खबर पनि छ । उहाँको स्वास्थ्य अवस्थामा अझै सुधारको कामना गरौँ ।
म भेटघाटको अर्को महत्वपूर्ण पक्षबारे यहाँ उल्लेख गर्न चाहन्छु । आठ लाख सदस्य भएको पार्टीको म साधारण सदस्यलाई अध्यक्ष कमरेड प्रचण्ड र उहाँको सचिवालयले उपलब्ध गराएको सोमबार बिहानको समय मेरा लागि निक्कै बढी र महत्त्वको थियो नै, कमरेड प्रचण्डले यो भेटमा तत्कालीन राजनीतिक परिस्थितिबारे पनि जानकारी गराउनुभयो ।
उहाँले अहिले एमसीसी र चुनाव दुई मुख्य राजनीतिक मुद्दा भएको र यी दुई मुद्दा वरिपरि अहिलेको राजनीतिक गठबन्धन टुट्ने वा जोगिने संघारमा रहेको कुरा पनि बताउनुभयो । राष्ट्रिय सहमतिसहित नेपाली जनताको साझा बुझाइ नबनाएर र सम्झौताका कतिपय बुँदाहरू संशोधन नगरेर यथास्थितिमा पारित नगर्ने उहाँको स्पष्ट अडान मैले पाएँ । राष्ट्रिय सहमति निर्माण हुने परिस्थितिका लागि आउँदै गरेको चुनावको परिणामसम्म कुर्न सहयोगी मित्रराष्ट्रलाइ मनाउने आफ्नो पहल निरन्तर रहने र लिक बाहिर गएको संवैधानिक संकटबाट देशलाई जनताको सहयोगमा बचाउने लोकतान्त्रिक शक्तिहरुबीचको एकतालाई समेत आगामी चुनावसम्म कायम राख्ने आफ्नो पहल रहने विचार पनि राख्नुभयो ।
पार्टीले अहिले बनाउन चाहेको नेपाली मौलिकताको समाजवाद निर्माणको मोडेल येनान वा ‘थवाङ’ कुन हो भन्ने प्रश्नको जवाफमा उहाँले प्रष्ट भन्नुभयो कि ः कर्णाली र बागमती प्रदेशले समाजवाद निर्माणको पहलको नेतृत्व गर्नेछन् । पुराना व्यवस्थाहरूबाट सबैभन्दा पछाडि पारिएको कर्णाली र संघीय केन्द्र समेत भएकाले बागमतीले समाजवाद निर्माणका ‘थवाङ’ वा येनान’ को भूमिका निर्वाह गर्ने भन्ने कुरा नेपाली समाजवादी क्रान्तिको अबको रणनीतिक प्रश्न हो भन्नेमा म सहमत छु ।
भारतसँग सिमाना नजोडिएको कर्णाली र अमेरिकाले इन्डोप्यासिफिक रणनीतिको अड्डा जमाउन खोजेको बागमतीलाई स्वाधीन आर्थिक रणनीतिबाट जोगाउने कुरा हामी क्रान्तिकारीहरूले सहजै बुझ्नुपर्दछ । नेपाली क्रान्तिको समाजवाद निर्माणको अबको अग्रमोर्चा बागमती र कर्णाली हो, जहाँबाट जनता र नेतृत्वले पहलकदमी लिनुपर्दछ । यो पहलकदमी लिन अध्यक्ष प्रचण्ड र उहाँले नेतृत्व गरेको राष्ट्रिय राजनीतिको लोकतान्त्रिक टीम सक्षम हुनेछ भन्ने विश्वास पनि पैदा भएको छ ।
समुद्रमै हराउन खोजेको ‘एक थोपा’लाई यो ‘महासागर’ बन्न तेरो पनि भूमिका छ भन्ने बोध गराउने मालेमावादी बिचार र त्यो बिचारलाई यो धर्तीमा प्रयोग गर्न सक्षम कमरेड प्रचण्ड र उहाँको टीमलाई सलाम गर्दै ‘दुई हजार एक सय नब्बे दिन’ छटपटाएको माछा आफ्नै पानीमा सगौरव पौडिन लागेको सहर्ष खुसीयालीमा यी एक हजार शब्द यहीँ रोक्छु ।