OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
लक्ष्मी भण्डारीमाघ १३, २०७८सुर्खेत
३८४ पटक

१३ माघ २०७८, बिहीबार

कर्णाली प्रदेशसभाले अबदेखि खुला संसदको अभ्यास शुरु गर्ने भएको छ । कर्णाली प्रदेशसभाले हरेक महिनाको दुई दिन सर्वसाधारणको लागि खुला गर्ने भएको हो । प्रत्येक महिनाको १५ र २९ गते संसद खुला राख्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

सभामुख राजबहादुर शाहीको अध्यक्षतामा बिहीबार बसेको पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । प्रदेशसभाका सचिव जीवराज बुढाथोकीका अनुसार संसद खुला हुनुपर्ने मान्यता बमोजिम कर्णाली प्रदेशसभा पनि खुला गर्ने निर्णय गरिएको हो । ‘अबदेखि कर्णाली प्रदेश सभाभित्र के कस्तो छ र सांसदहरु बैठक गर्ने ठाउँ कस्तो छ सबै कुरा सर्वसाधारण नागरिकले पनि प्रत्यक्षरुपमा अवलोकन गर्न पाउने भएका छन्’ उहाँले भन्नुभयो, ‘सभाभित्रका सबै कुराहरुको विषयमा जानकारी दिएर घुमाउने कर्मचारीको समेत व्यवस्था गरिएको छ ।’

संसद खुला हुनुपर्छ भनिएपनि अहिलेसम्म व्यवहारमा लागु नभएका कारण यहाँका भौतिक संरचना तथा हाउस हेर्नको लागि खुला गरिने अभ्यासमा लागेको उहाँले बताउनुभयो । खुला संसदको अभ्यास जाने नेपालका सातवटै प्रदेश मध्य कर्णाली पहिलो हो ।

‘संसदभित्र बैठक हुँदाको दिनमा बैठकको पनि अवलोकन गर्ने र अन्य दिन भए हल तथा त्यहाँ भएका अन्य संरचनाको अवलोकन गर्न पाइनेछ’ उहाँले भन्नुभयो, ‘संसद खुला हुनुपर्छ र संसदभित्रका गतिविधिहरु नागरिकले पनि जान्न पाउनुपर्छ भनेर यो अभ्यासमा लागेका हौ ।’

बेलायतलगायतका देशहरुमा संसदको वरिपरि पर्खाल पनि नलाएर नागरिको लागि खुला राख्ने अभ्यास भएको हुँदा खुलापनको अभ्यास गर्न जरुरी रहेको सचिव बुढाथोकीको भनाई थियो । यसैबीच, कर्णाली प्रदेशसभाले स्थापनाको चौथो वार्षिकोत्सव मनाउने भएको छ । माघ २१ गते प्रदेशसभाले विभिन्न कार्यक्रमहरु गरेर स्थापना दिवस मनाउने भएको हो । माघ १७ गते देखि विभिन्न कार्यक्रमहरु आयोजना गरेर वार्षिकोत्सव मनाउने जनाईएको छ ।

सचिव बुढाथोकीका अनुसार माघ १७ गते प्रदेश सभा परिसरको सरसफाई गर्ने, विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरिने छ । माघ १८ गते खेलकुद गतिविधि हुनेछन् । यस्तै युवासँग प्रदेशसभा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने भएको छ । स्थापना दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता समेत आयोजना गरिने भएको छ ।

प्रतियोगिताका लागि ‘म प्रदेश सभाको सदस्य भएँ’ भने शीर्षक तय भएको प्रदेशसभा सचिव बुढाथोकीले जानकारी दिनुभयो । माघ २१ गते बिहान ११ बजे औपचारिक कार्यक्रमको आयोजना गरि पुरस्कार वितरण, स्मारिका विमोचनको कार्यक्रम तय भएको छ । त्यसैगरी विभिन्न विद्यालयका विद्यार्थीहरुलाई प्रदेशसभामा अवलोकनका लागि ल्याइने बुढाथोकीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्