OnlinePana

आज : २०८३ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पौष २६, २०७८
११६४ पटक

२६ पुस २०७८, सोमबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीपुत्री सुनमाया बुढाले विश्वमाझ नेपालको शिर उँचो बनाएको धारणा व्यक्त गर्नुभयो । बुढालाई आज कर्णाली प्रदेशमा गरिएको अभिनन्दन कार्यक्रमको क्रममा मुख्यमन्त्री शाहीले उच्च प्रशंसा गर्नुभएको हो ।

सन् २०२१ डिसेम्बर १२ मा थाइल्याण्डको उत्तरपश्चिममा पर्ने सबैभन्दा उच्च पर्वत डोर्ड इथानन्मा सम्पन्न ११० किलोमिटको अल्ट्रा ट्रेल रेसमा महिला प्रतियोगीहरुमा विश्वमा प्रथम आएर बुढाले कर्णाली र नेपालको नामको संसारभर चिनाएको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो । सुनमायाको सफलताले कणालीवासीको गर्वले छाती फुलेको उहाँको भनाई थियो । बुढाले दुई हजार प्रतियोगी सहभागी रहेको उक्त रेसमा महिलामा प्रथम र पुरुषसहितको दौडमा तृतीय स्थान प्राप्त गर्नुभएको थियो ।

“विश्वमा विकासमा सबैभन्दा पछि परेको देश नेपाल र नेपालमा अति नै पछि परेको कर्णालीले सुनमायाको जीतसँगै आज विश्वसामु आफ्नो इतिहास लेखाउन सफल भएको छ,” मुख्यमन्त्री शाहीले भन्नुभयो, “कर्णालीपुत्री बुढालाई हार्दिक बधाई छ । बुढाको सम्मानका लागि कर्णाली प्रदेश सरकारले रु.दुई लाख छुट्याएको छ ।” प्रदेश सरकारले खेल र खेलाडी प्रवद्र्धनमा जोड दिएको बताउनुभएका उहाँले नेपालमै भलिबल कभर्ड हलसहित सुर्खेतमा रु.एक अर्ब ७० करोडको अत्याधुनिक रंगशाला निर्माणको कार्य तीव्ररुपमा अगाडि बढाइएको जनाउनुभयो ।

कर्णाली प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमालले विकट भूगोल सफलताको मानक बन्दो रहेछ भन्ने उदाहरण सुनमायाले देखाएको प्रतिक्रिया व्यक्त गर्नुभयो । जुम्ली छोरी बुढाको योगदानको उच्च मूल्याङ्कन स्थानीय, प्रदेशसहित नेपाल सरकारले गर्नुपर्नेमा उपाध्यक्ष हमालले जोड दिनुभयो ।

कर्णाली प्रदेशका सदस्य सचिव विश्वामित्र सञ्ज्यालले कर्णाली प्रदेश सान सुनमायाले नेपालको नाम उँचो राख्न सफल भएको बताउनुभयो । सदस्य सचिव सञ्ज्यालले मुख्यमन्त्री शाहीसमक्ष हरेक वर्षको ओलम्पिक दिवसमा ‘काक्रेबिहार अल्ट्रा ट्रेल रेस’ प्रतियोगिता सञ्चालन गर्ने प्रस्ताव राख्नुभयो । उहाँले भन्नुभयो, “कर्णाली क्षेत्र अल्ट्रा ट्रेल रेसको संभाव्य भूमि हो । यहाँको खेल क्षेत्रको विकास लागि प्रदेश सरकारले विशेष जोड दिनुपर्दछ ।”

उद्योग बाणिज्य संघ सुर्खेतका महासचिव लक्ष्मण कँडेलले सुनमायाको सफलताले नेपालको नाम विश्व इतिहासमा स्वर्णीम अक्षरले लेखिने बताउनुभयो । सुनमाया जस्ता हिराहरु जन्माउने कर्णाली कमजोरी नभएको जिकिर गर्दै महासचिव कँडेलले खेल क्षेत्रको विकास र खेलाडीहरुको प्रोत्साहनका लागि नीजि क्षेत्रबाट अपेक्षित सहयोग गर्ने प्रतिवद्धता गर्नुभयो ।

पातारासी गाउँपालिका २ जुम्ला पेरे गाउँ निवासी अल्ट्रा ट्रेल रेस विजेता २३ वर्षीय सुनमाया बुढाले जीवनका कठिन कर्मले मिठो फल मिल्ने अनुभूति व्यक्त गर्नुभयो । “गाह्रो काममा मात्र नाम छ,” बुढाले भन्नुभयो, “गाह्रो कामले सिकाउने र जिताउने दुवै गर्दो रहेछ ।” उहाँले स्वदेशी तथा विदेशी खेलाडीले प्रशिक्षण लिने खालको कर्णाली हाइअल्टिच्यूड ट्रेनिङ् सेन्टरको विकासमा जोड दिन मुख्यमन्त्री शाहीलाई आग्रह गर्नुभएको थियो ।

थाइल्याण्डमा सम्पन्न उक्त अल्ट्रा ट्रेल रेस प्रतियोगितामा बुढाले नर्थ फेस टिमबाट भाग लिनुभएको थियो ।

 

प्रतिकृया दिनुहोस्