OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र २९, २०७६ सुर्खेत
४४४ पटक

सुर्खेत, २९ चैत्र ः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नोबेल कोरोना भाईरस (कोभिड–१९) को प्रतिकार्य, रोकथाम, नियन्त्रणार्थ सरकार, जनप्रतिनिधि र दलको एकीकृत संयन्त्र आवश्यक भएको बताउनुभएको छ ।
मुख्यमन्त्री शाहीको अध्यक्षतामा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सर्वदलीय बैठकमा कोरोना विरुद्धको लडाईमा सरकार एक्लैले मात्र केही गर्न नसक्ने भन्दै यसमा सबैको सहयोग आवश्यक रहेको जनाउनुभयो । “कोरोना प्रतिकार्य विश्वव्यापी साझा मुद्दा हो र यसमा नागरिकदेखि सबै क्षेत्र, तह तप्काको उत्तिकै दायित्व छ,” उहाँले भन्नुभयो, “त्यसैले यसको प्रतिकार्य तथा रोकथामका लागि सरकार, जनप्रतिनिधि र राजनीतिक दलको एकीकृत कार्यदल गठन हुन आवश्यक छ ।”
उहाँले जिल्लामा समन्वय समितिको प्रमुख र नगर तथा गाउँपालिकामा प्रमुख÷अध्यक्षको संयोजकत्वमा संयन्त्र निर्माणगरी आपसी समन्वय र सहकार्यबाट कर्णालीलाई कोरोनाबाट सुरक्षित राख्ने योजना प्रभावकारी बनाउन दलसँगको बैठक बोलाईएको बताउनुभयो । कोरोना भाइरसबाट प्रभाव हुन नदिन शुरुमा कर्णाली प्रदेशले लकडाउन शुरु गरेको बताउँदै हाल अलपत्र परेका, मजदुर र वृद्धको राहत तथा उद्धार कसरी गर्ने भन्नेमा सरकार केन्द्रित रहेको जनाउनुभयो ।
बैठकमा नेपाली काँगे्रसका केन्द्रीय सदस्य एवं पूर्व सहकारीमन्त्री हृदयराम थानीले कोरोना प्रतिकार्य तथा रोकथाममा कर्णाली सरकारले प्रभावकारी भूमिका निर्वाह गरेको टिप्पणी गर्नुभयो । “यो लडाईमा हामी पनि छौं,” पूर्वमन्त्री थानीले भन्नुभयो, “सरकारले सहयोग मागे नेपाली काँग्रेस फिल्डमै आउन तयार छ ।” उहाँले सीमाना रहेका कर्णालीका नागरिकहरुलाई सकेसम्म कर्णालीमै पुर्याएर व्यवस्थापन तथा जुम्ला, सुर्खेत र चौरजहारीमा कोरोना परीक्षणको उपयुक्त ल्याब स्थापना गर्न सुझाउनुभयो ।
सर्वदलीय बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले विषयगत मन्त्रालय तथा कार्यकारी समितिले हालसम्म कोरोना प्रतिकार्य तथा रोकथाममा गरेका कामबारे जानकारी दिनुभएको थियो ।
बैठकमा नेपाल कम्यूनिष्ट पार्टी नेकपाका कर्णाली प्रदेश सचिव एवं राष्ट्रियसभा सदस्य मार्याप्रसाद आचार्य, नेकपा कर्णालीका सचेतक एवं प्रदेशसभा सदस्य सीता नेपाली, सुर्खेत जिल्ला ईन्चार्ज नरबहादुर विष्ट, नेपाली काँगे्रसका जिल्ला सभापति कमलराज रेग्मी, राप्रपाका कर्णाली प्रदेश उपप्रमुख सूर्य खत्री, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य रत्नविक्रम राना, नेमकिपा सुर्खेतका अध्यक्ष हरिबहादुर बोहोरा, कर्णाली प्रदेशका प्रमुख सचिव टेकनारायण पाण्डे, सचिव लक्ष्मीकुमारी बस्नेतसहितको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्