२८ बैशाख २०७८, मंगलबार
‘आमा’ जनजिब्रोमा झुन्डिएको शब्द । बालबालिकाले बोल्ने कोसिस गर्दादेखि सारोगारो पर्दा, खुसी, सजिलो र मर्ने बेलामा पनि उच्चारण गरिने शब्द ।
‘आमा’ यस्तो सम्बन्ध हो, जसको अनुपस्थितिमा सारा सृष्टिका कुनै जीवको कल्पना गर्न सकिन्न । आमाका यस्ता कैयौँ गुण छन् जसलाई शब्दमा वर्णन गरेर साध्य छैन । त्यसैले हुनसक्छ हिन्दु धर्मशास्त्रले वैशाख कृष्ण औँशीको दिनलाई मातातीर्थ औँशीको व्यवस्था गरेको छ । यो दिनलाई आमाको मुख हेर्ने पर्वका रूपमा लिइन्छ ।
सानै छँदा रेडियोमा आज आमाको मुख हेर्ने दिन भन्ने सुनेपछि मैले उहाँलाई आँ… गर्न लगाएकी थिएँ । किशोरावस्था पार गरेलगत्तै जब मैले जन्मघर छोडेर कर्मघर लागेँ, त्यसपछि प्रत्येक वैशाख कृष्ण औँशी नजिकिँदै जाँदा बाल्यकालसँगै आमासँग बिताएका ती स्वर्णीम यादहरू मानसपटलमा घुम्न थाल्छन् । यो वर्ष मातातीर्थ औँशी वैशाख २८ गते परेको छ । हो यही पर्वका पूर्वसन्ध्यामा मेरो मस्तिष्कमा जेलिएका बाल्यकालका संस्मरणलाई यसरी शब्दमा उतार्दैछु ।
सायद नौ महिनासम्म कोखमा बसेर प्रसव पीडा दिँदै बाहिरिए लगत्तै च्याँ.. गरेर रुँदा नरुँदै गुन्युको फेरले पुछपाछ पार्दै दूध चुसाउनुभयो । अनि थाङ्नामा पोको पारेर काखी च्याप्दै माया र ममता बाँड्ने सायद आमाबाहेक कोही हुन सक्दैन ।
पलपलमा भोकतिर्खा लागेर रुँदा दूध चुसाउनेदेखि दिसापिसाबपछि सरसफाइ गर्ने अनि अलिक ठूली भएपछि लिटोपिठो ख्वाएर पेट भरिदिने, चिसो हुँदा तातो अनि गर्मीमा शीतल बनाइदिने पनि ‘आमा’ । आफ्ना आवश्यकता व्यक्त गर्न नसकेर छटपटिँदा कत्ति पीडा हुन्थ्यो होला ? बिरामी पर्दा अनि चिसोतातो नमिलेर झगडा गर्दा आँखा मिच्दै काखमा बोकेर कति रात जागा बस्नुभयो होला । एकैछिन म निदाएका बखत ढिकीजाँतो गर्दै खाना बनाएर परिवारका सदस्यको पेट भर्ने जिम्मेवारी पनि तपार्इंकै थियो । अनि गाईभैसी भोकाउदा तिर्खादा घाँसपानीदेखि मेलापात गर्ने र भकारो सोहोर्ने जिम्मेवारी पनि तपाईंकै हुन्थ्यो होला ।
मैले आफ्नो भोक तिर्खा मेटाउन तपाईंको दूधबाट रगत निस्कने गरी चुस्दा पनि सन्तुष्ट मानेर निदाउने पनि ‘आमा’ ।
धर्ती अनि सृष्टि रूपी ‘आमा’ । यो संसार पनि आमा शब्दभित्र अटाउँदैन सायद । आमा प्रेमकी साक्षात मूर्ति तपाईंकै काखमा लडीबुडी गर्दै म हुर्किएँ । छातीमा टाँसिएर मनको बह पखाल्थे । अनि मलाई घरमा छोडेर कतै जानुभएका बखत तपाईंका कपडा काखी च्यापेर घर फर्किने बाटो कुरिरहन्थेँ ।
आमाले नै मलाई बोल्न सिकाउनुभयो, तातेताते गर्दै हिँड्न र खेल्न सिकाउनुभयो । अलि ठूलो भएपछि हातमा हात समातेर मेलापात गर्दै हुर्काउनुभयो । मलाई राम्रोसँग थाहा छ कुनै दिन आमाले केही चपाए जस्तो गरेर मुख चलाउँदा किन मलाई नदिई खाएको भनेर झगडा गरेको क्षण ।
समय बित्दैजाँदा जब आफू आमा बनेपछि ‘आमा’ हुनको थप महत्त्व बोध गरेँ । तपाईंले सन्तानलाई प्राण दिनकै लागि आफ्नो प्राणलाई दाउमा राख्नुभएको छ । आफूले मृत्यु झेलेर सन्तानलाई जीवन दिनुभएको छ ।
आज तिनै तपाईंलाई सम्झने दिन । आमाको महिमा स्मरण गर्ने दिन । भौतिक रूपमा ‘आमा’भन्दा टाढा रहेका छोराछोरीका मानसपटलमा सायद यी र यस्तै अतितहरू फनफनी घुमिरहेका होलान् ।
पोहोर साल लकडाउनका कारण तपाईंलाइ भेट्न नपाएका मजस्ता हजारौँ छोराछोरीले यो वर्ष पनि यस्तै व्यथा बोक्नुपरेको छ ।
संसार स्वार्थी छ । छोराछोरीलाई फुर्सद छैन । पैसा कमाउने चटारो छ । धन–दौलत जोड्नुपर्छ । सामाजिक प्रतिष्ठा आर्जन गर्नुछ । मान–सम्मान लिनुछ । देश–दुनियाँ घुम्नु छ । आमालाई भेट्न त पर जाओस सम्झने पनि फुर्सद छैन । कतिपय आमाहरू त छोराछोरीले बोझ मानेकै कारण वृद्धाश्रममा पु¥याइएका छन् । धेरै आमाहरू छोराछोरीको इज्जत ढाक्न एक्लै सङ्घर्ष गरिरहेछन् । अनि प्रायः आमाहरू छोराछोरी भोकै भए कि भनेर चिन्ताले जलिरहेछन् ।
मैले कतै पढेकी थिएँ । ‘आमा उहिल्यै छोराछोरीले खाना नखाइदिँदा रुन्थिन् रे, अहिले तिनै छोराछोरीले खान नदिँदा आमा रुँदैछिन् ।’
निष्कर्षमा ‘आमा’ त्यसै तीर्थ हुन आमालाई भेट्न र सेवा गर्न कुनै पर्व कुरिराख्नु पर्दैन । आमाको वर्णन गरेर साध्य छैन ।
आमा सदैव सबैका लागि स्वर्ग अनि भगवान् हुन । आमाका साथ रहने जोकोही भाग्यशाली ठहर्नु स्वाभाविक छ । यद्यपि बिहेवारी गरेर जन्मघरबाट टाढिएका अनि मजदुरीका क्रममा घर छोडेर हिँडेका जोकोहीका लागि भने मातातीर्थ औँशी आमासँग भेट गर्ने गहकिलो माध्यम हुनसक्छ । त्यसैले जय आमा ! जय मातातीर्थ ! रातोपाटीबाट