सुर्खेत, २५ साउन ः काठमाडौंमा यही साउन २७–३० गतेसम्म आयोजना हुने ‘राष्ट्रिय युवा सम्मेलन’मा कर्णालीका युवाहरु यहाँको परिचय लिएर सहभागी हुने भएका छन् ।
नेपाल युवा परिषद् कर्णाली प्रदेशले आज पत्रकार सम्मेलनमार्फत् कर्णालीको रैथाने खाद्यान्न, मौलिक तथा साँस्कृतिक सामग्री र पर्यटनका आकर्षक गन्तव्यहरुको परिचय बोकेर यहाँका २४ जना युवा सम्मेलनमा सहभागी हुने जानकारी दिएको हो । सम्मेलनमा १८–३० वर्षका महिला र पुरुष समावेश हुने युवा परिषद् कर्णाली प्रदेशका संयोजक ईन्द्रजित सुनारले बताउनुभयो ।
“यहाँ उत्पादन हुने रैथाने खाद्यान्नमा फापर, सिमी, कालीमार्सी धान, चिनो, जौ, कागुनो, उवा, लट्टे लिएर जान्छौं,” उहाँले भन्नुभयो, “साँस्कृतिक सामग्रीहरुमा सिमल, उत्तीस र टुनी काठबाट बनेका पिर्का, खटिया, मधुस, कोशी, बटुको, मदानीजस्ता सामग्री सम्मेलनमा प्रदर्शन गर्छौं ।” त्यस्तै, परिचयसहितको कर्णाली प्रदेशका पर्यटकीय गन्तव्य पनि प्रदर्शन गरिने संयोजक सुनारले बताउनुभयो ।
त्यस्तै, हिमाली चिया, चिराईतो, दाल, स्याउको चिप्स, सिस्नेको साग, मह, भाँगोको तेल चौंरीको छुर्पी, टिमुर, निखुरो, जिम्मुको महत्व पनि सम्मेलनमा दर्शाईने छ । ‘उद्यमी युवा समृद्ध देश ः दिगो विकास लक्ष्यमा समान परिवेश’ भन्ने नाराका साथ अन्तराष्ट्रिय दिवसको अवसरमा हुन लागेको राष्ट्रिय युवा सम्मेलनमा नेपाल भ्रमण वर्ष २०२०, लैङ्घिक समानता, दिगो विकासका लक्ष्य, युवा नेतृत्व र युवा उद्यमशीलता मुख्य विषयमा बहस हुने उहाँले बताउनुभयो ।
सम्मेलनमा प्रत्येक प्रदेशका सहभागीहरुले कार्य योजना तयारगरी त्यसबाट प्राप्त हुने सुझाव समेटेर ‘काठमाडौं घोषणापत्र २०१९’जारी गरिने उहाँको भनाई छ । उहाँका अनुसार सम्मेलनमा ७७ जिल्लाका एक महिला र एक पुरुष एवं ५० जना विभिन्न सामािजक संघ÷संघस्था, समुदाय र वर्गगरी २०४ जनाको सहभागिता रहनेछ ।
पत्रकार सम्मेलनमा युवा ममता अधिकारीले कर्णाली बोकेर सम्मेलनमा भाग लिने र सहभागीहरुलाई बहुसाँस्कृतिक, बहुभाषिक, बहुजातीय, बहुधार्मिकसहित प्राकृतिक रुपले विविधतायुक्त कर्णाली प्रदेश भ्रमणको निम्तो दिएर आउने बताउनुभयो । युवा खगेश्वर मल्लले मुलुकको अर्थतन्त्र बलियो बनाउने आधार धार्मिक, साँस्कृतिक, कृषि, खेल र पर्यापर्यटन भएकोले यसको सन्देश सम्मेलनमार्फत फैलाउने प्रतिक्रिया दिनुभयो ।
राष्ट्रिय सम्मेलनबाट जारी ‘काठमाडौं घोषणापत्र २०१९’ काठमाडौंदेखि फर्केर कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई बुझाउने र अबको दुई महिनाभित्र ‘कर्णाली युवा सम्मेलन’ सम्पन्न गर्ने नेपाल युवा परिषद् कर्णाली परिषद्ले जनाएको छ ।
कोरपाटी संवाददातासाउन २५, २०७६ सुर्खेत
४१६ पटक
- अस्थायी कर्मचारी संगठनका अध्यक्ष, शक्तिको आडमा १७ वर्षदेखि एउटै कार्यालयमा
- हिमाको ओदीमा रु दुईलाख राशीको भलिवल प्रतियोगिता
- प्रभावकारी सेवा प्रवाह र राजश्व वृद्धिमा ध्यान दिन वनमन्त्री अधिकारीको निर्देशन
- जुम्ला राजासिममा घोडादौड प्रतियोगिता : तपेन्द्र रावल प्रथम
- चन्दननाथ नगरपालिकामा बिपतमा खट्ने स्वयंसेवक व्यूरो गठन
- जिल्ला प्रहरी कार्यालयद्धारा नागरिक सुनुवाई तथा शुभकामना आदान प्रदान
- खत्याड गाउँपालिकामा १० जना गाउँपालिका प्रहरी दिक्षित
- जुम्लामा ३४ औ ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरी मनाईयो
- खेल क्षेत्रले भावनात्मक एकता बढाएको छः मन्त्री भण्डारी
- शान्ति सुरक्षा सँगै समन्वयात्मक भूमिकामा जोड दिन्छु : प्रजिअ शाही