३० साउन २०८३, शनिबार
सुर्खेतः नेपालको आर्थिक उन्नतिका लागि लघु, घरेलु तथा साना उद्योगको विकास अनिवार्य भएको बताइएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशद्वारा आज सुर्खेत वीरेन्द्रनगर आयोजित महासंघको २६औं राष्ट्रिय महाधिवेशन तथा २३औं राष्ट्रिय महिला उद्यमी सम्मेलनमा कर्णाली प्रदेशबाट निर्वाचित पदाधिकारीलाई बधाई, सम्मान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै महासंघका केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर बुढाक्षेत्रीले घरेलु तथा साना उद्योग रोजगार तथा आर्थिक उन्नतिको आधार भएको बताउनुभयो ।
औद्योगिक तथा आर्थिक नीति र यसको विकास तथा प्रवद्र्धनमा सबैको साझा भूमिका हुनुपर्नेमा जोड दिँदै उपाध्यक्ष बुढाक्षेत्रीले त्यसको लागि उद्यमीहरु संगठित भएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।
कर्णाली प्रदेशमा ठूला उद्योगको तत्काल संभावना नभएको जनाउँदै उहाँले भन्नुभयो, “लघु तथा घरेलु उद्योग कर्णाली प्रदेशको आर्थिक आयको मेरुदण्ड नै मान्न सकिन्छ । तीन तहका सरकारहरुले यहाँका औद्योगिक क्षेत्रको पहिचान गरी उत्पादनमूलक उद्योगको विकासमा लाग्नुपर्दछ ।”





