
२४ साउन २०८३ आइतबार
सुर्खेत: कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीले मन्त्रिपरिषद् विस्तार छिट्टै हुने बताउनु भएको छ ।
नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच भएको राष्ट्रिय तीन बुँदे सहमतिको मर्म अनुसार सरकार गठन गर्ने मामिलामा केही ढिलाई भएपनि अब मन्त्रिपरिषद् विस्तार छिट्टै हुने उहाँले जानकारी दिनुभयो । मुख्यमन्त्री शाहीले भन्नुयो, “हामीले मन्त्रिपरिषद् विस्तारका विषयमा प्रदेशमा पनि छलफल गरिरहेका छौं । करिब करिब सहमतिको नजिक पुगेका छौं । अबको केही दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ ।”
कर्णालीमा मात्र नभएर सातै प्रदेशमा तीन बुँदे सहमति अनुसार दुवै दल जानुपर्ने भएकोले मन्त्रिपरिषद् विस्तारको काममा केही समय लम्बिएको उहाँले बताउनुभयो । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तारमा केही ढिलाई भएपनि काम कारवाही नरोकिएको मुख्यमन्त्री शाहीले जनाउनुभयो ।
सत्ता साझेदार दल नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बन्नुभएका शाहीले हाल यहाँका बाँकी छ वटा मन्त्रालयको जिम्मेवारी पनि आफैले सम्हाल्नुभएको छ । उहाँले यही साउन १२ गते मुख्यमन्त्री नियुक्त भई १३ गते पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण गर्नुभएको थियो ।







