
२६ असार २०८३, शुक्रबार
सुर्खेतः फुटबलका राष्ट्रिय कप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा केन्द्रित भएका छन् ।
ग्रीनल्याण्ड फुटबल एकेडेमी र ह्युमन राइट्स सोसाइटीको संयुक्त आयोजनामा सुर्खेतमा भोलि असार २७ गते शनिबारका दिन सञ्चालन हुने मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सहभागी हुन नेपालका पूर्व राष्ट्रिय कप्तानहरु आज सुर्खेतमा केन्द्रित भएका हुन । प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष तथा पूर्व राष्ट्रिय कप्तानहरु गणेश थापा, उपेन्द्रमान सिंह, अनिल गुरुङ, बालगोपाल महर्जन, हरि खड्का, सागर थापा, राकेश शाहीलगायत सुर्खेत आईपुगेको एकेडेमीले सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
एकेडेमीका अध्यक्ष शशी केसीका अनुसार कर्णाली प्रदेशमै पहिलो पटक पूर्व राष्ट्रिय खेलाडीहरुको सहभागितामा हुने प्रतियोगितामा कर्णाली प्रदेश बाहिर र कर्णालीका पूर्व राष्ट्रिय खेलाडीहरुबीच मैत्रीपूर्ण प्रतियोगितामा हुनेछ । प्रतियोगितामा कलाकार बद्री पंगेनी र दुर्गेश थापाको पनि सहभागिता रहनेछ । कर्णाली प्रदेशका तर्फबाट राष्ट्रिय खेलाडी रोहित चन्द, प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्र चन्द, नवीन भण्डारी, जनक रावल, जनक थापा, नारायण कोइराला, ऋषि गिरी, ललित बसेललगायतका खेलाडीहरु सहभागी हुने जनाईएको छ ।
कर्णालीमा फुटबलप्रतिको आकर्षण बढाउने, स्थानीय प्रतिभालाई पहिचान गर्ने तथा पूर्व खेलाडीहरुको सम्मान तथा कर्णालीले पनि राष्ट्रियस्तरको खेल सञ्चालन गर्न सक्छ भन्ने विश्वास दिलाउने र फुटबलको दियोग कर्णालीबाट बाल्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको एकेडेमीका महासचिव ललिट भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताले आगामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गर्न थप उर्जा र दबाब सिर्जना गर्नेछ ।
कार्यक्रममा पूर्व कप्तान थापाले कर्णालीले निकै ठूलो साहस राखेर पहिलो पटक पूर्व राष्ट्रिय कप्तानहरुबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरेकोप्रति कृतज्ञता प्रकट गर्नुभयो । पूर्व कप्तान सिंहले कर्णालीकाे क्रियाशीलता यहाँका कला संस्कृतिले लाेभ्याएकाे बताउँदै कर्णाली प्रदेश रंगशाला निर्माणमा आफूहरुकाे पहल र प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकाे प्रशंसनीय याेगदान रहेकाे जनाउनुभयाे
प्रतियोगितामा विभिन्न विधामा उत्कृष्टता प्रदर्शन गर्ने खेलाडीलाई समाजसेवी स्व.खड्कबहादुर बस्नेतको नाममा ‘म्यान अफ द म्याच’, शिक्षाविद् स्व.विष्णुप्रसाद गौतमको नाममा ‘बेस्ट प्लेयर’, समाजसेवी स्व.डीबी समदर्शीको नाममा ‘बेस्ट गोलकिपर’, शिक्षाप्रेमी स्व.डा.सञ्जु खातीको नाममा ‘बेस्ट डिफेन्डर’ र समाजसेवी स्व.डा.हरि सापकोटाको नाममा ‘बेस्ट स्कोरर’ पुरस्कार प्रदान गरिनेछ ।




