२५ असार २०८३, बिहीबार
यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दुर्घटना भई कर्णाली नदीमा डुबेर बेपत्ता सिर्जना खड्काको शव भेटिएको छ ।
१८ वर्षीय मृतक खड्का रास्कोट नगरपालिका २ खड्कागाउँ कालीकोटकी हुन् । खोजतलासको क्रममा प्रहरीले उनको शव चौकुने गाउँपालिका ४ सुर्खेत डङ्डगेस्थित कर्णाली नदीको छालमा बुधबार घोप्टो परेको अवस्थामा फेला पारेको थियो । फेला परेको शव सुरुमा कसको हो भन्ने पहिचान हुन नसकेपछि कर्णाली प्रदेश अस्पताल कालागाउको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।
आज सिर्जनाका बुवा धनबहादुर खड्काले उक्त शव आफ्नै छोरीको हो भनि सनाखत गर्नुभएको उहाँले बताउनुभयो । बेपत्ता चार मध्ये पचालझरना गाउँपालिका ९ कालीकोटका मेखे तिरुवा २२ गते मोहन्याल गाउँपालिका ६ कैलाली चिसापानीमा भेटिएका थिए ।
प्रहरी नायब उपरीक्षक विकका अनुसार हराएका चार मध्ये पञ्चपुरी नगरपालिका ८ सुर्खेत माझीगाउँ निवासी एकाघरका दाजुभाई चालक तुलाराम सुवेदी, सहचालक रामप्रसाद सुवेदी र फोर्स गाडी अँझै भेटाउन सकिएको छैन । उक्त फोर्स गाडी चामुण्डाबिन्द्रासैनी नगरपालिका ७ दैलेखको साङगेतडास्थित दुर्घटनाग्रस्त भई कर्णाली नदीमा खसेको थियो ।
बेपत्ता व्यक्तिहरुसहित गाडीको खोजी कार्यमा रिभर भेहीकल म्याग्नेट, सोनार, ड्रोन र बोरेस्कोप क्यामरासहितको उच्च प्रविधियुक्त गोताखोर टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेना आठ दिनदेखि कर्णाली नदी आसपासका किनारामा खोजिरहेको जनाइएको छ ।

