OnlinePana

आज : २०८३ आषाढ २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २१, २०८३काठमाडौं
६ पटक

१ असार २०८३, आईतबार

सुर्खेतः प्राकृतिक तथा मानवीय विपत्तिका कारण कर्णालीमा आजसम्म तीन जनाको मृत्यु भएको छ । दैलेख र डोल्पा जिल्लामा भएको गाडी दुर्घटनामा दुई र डोल्पामै बाढीमा कारण एकजना गरी तीन जनाको मृत्यु भएको हो ।

असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी चामुण्डाबिन्द्रासैनी नगरपालिका ७ दैलेखको साङगेतडास्थित दुर्घटनाग्रस्त भई कर्णाली नदीमा खस्दा पचालझरना गाउँपालिका ९ कालीकोटका जेखे तिरुवाको मृत्यु भएको दैलेख प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो । उहाँका अनुसार भीरमा अचेत अवस्था अड्केका तिरुवालाई उद्धार गरी उपचारका लागि दैलेख जिल्ला अस्पताल लैजादै गर्दा मृत्यु भएको थियो ।

कालीकोट पचालझरना ९ का मेखे तिरुवा, रास्कोट नगरपालिका २ खड्कागाउँका सिर्जना खड्का, पञ्चपुरी नगरपालिका ८ सुर्खेत माझीगाउँका चालक तुलाराम सुवेदी र सहचालक रामप्रसाद सुवेदीसहित फोर्स गाडी सोही दिनदेखि बेपत्ता छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना गरेर करिब १०० जना जनशक्ति खोजी कार्यमा परिचालन भएपनि आजसम्म भेटाउन नसकेको प्रहरी नायब उपरीक्षक विकले बताउनुभयो ।

त्यस्तै, जगदुल्ला गाउँपालिका ४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप डोल्पाको मौरेलेखमा आईतबार दिउसो करिब २ः०० दुर्घटना भयो । दुर्घटनामा त्रिपुरासुन्दरी नगरपालिका ८ डोल्पाका ३८ वर्षीय विष्णु बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पदम रावलले जानकारी दिनुभयो । चालकसहित १२ जना रहेको उक्त दुर्घटनामा ११ जना घाइते भए ।

घाइेत हुनेहरुमा डोल्पा त्रिपुरासुन्दरी नगरपालिका ७ का ४६ वर्षीय नन्दराम शाही, वडा नं.३ का २६ वर्षीय धनबहादुर डाँगी, जगदुल्ला गाउँपालिका ६ का २८ वर्षीय लालदेवी रोकाय, चार वर्षीय आवास रोकाय, २४ वर्षीया कर्णसरा बुढा, २४ वर्षीय धिरेन्द्र बुढाथोकी, दुई वर्षीय प्रितम बुढा, काइके गाउँपालिका ३ का ४४ वर्षीय भीमप्रसाद बुढा, जुम्ला सिंजा गाउँपालिका ३ का ६२ वर्षीय डिल्लीप्रसाद उपाध्याय, गोठीचौर गाउँपालिका ४ का ६४ वर्षीय नित्यानन्द अधिकारी र बोलेरो चालक चन्दननाथ नगरपालिका ८ का अन्दाजी ३५ वर्षीय बिन्दास रावल रहेका छन् ।

घाईतेहरुको उद्धार गरी उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाईएको सूचना अधिकारी रावलले बताउनुभयो । त्यस्तै, जगदुल्ला गाउँपालिका ५ गैरीगाउँमा आईतबार राति ३ः०० बजेतिर निरन्तर वर्षापछि धुलाखोला र आसपासका खोल्सामा आएको बाढी गाउँमा पस्दा स्थानीय अन्दाजी ५६ वर्षीया आनन्दी विकको मृत्यु भएको छ ।

राति सुतिरहेको बेला आएको बाढीका कारण सोही गाउँका स्थानीय ५० वर्षीय चाउरी विक, ४४ वर्षीय रेउली विक, ४८ वर्षीय विष्णु विक, १५ वर्षीया निरुता विक, १३ वर्षीया सीता विक र ६५ वर्षीय जस विक घाइते भएको सूचना अधिकारी रावलले बताउनुभयो । उहाँका अनुसार उनीहरुको स्थानीय झ्याकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

घाइतेमध्ये रेउलीको अवस्था गम्भीर भएका कारण नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याई उपचार भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो । उहाँका अनुसार तीन दिनमा भएका तीन दुर्घटनामा तीनको मृत्यु, चार बेपत्ता र १७ जना घाईते भएका छन् ।

प्रतिकृया दिनुहोस्