OnlinePana

आज : २०८३ आषाढ १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १७, २०८३काठमाडौं
३३ पटक

१७ असार २०८३, बुधबार

सुर्खेतः कर्णाली प्रदेश सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच सहमति जुट्न नसक्दा आज पनि प्रदेशसभाको बैठक बस्न सकेन ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौं अधिवेशनको मंगलबार बसेको १८औं बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपाका प्रमुख सचेतक कृष्णबहादुर जिसीले स्पष्ट देखिएका कमीकमजोरी सरकारलाई सुधार गर्न र सच्याउन सजिलो बाटो दिएपनि त्यसो नगरी विकृतिको ढाकछोप गर्दै आएको र आफुहरुले उठाएका मुद्दाहरुमा गम्भीरता नदेखाएको आरोप लगाउनुभएको थियो ।

व्यक्तिका नाममा तोकिएर आएका योजना, प्रतिपक्षीले उठाएका प्रश्न र विषयको स्पष्ट जवाफ एवं प्रतिबद्धता नआएसम्म र बजेटमा बिगतमा गरिएको सम्झौता कार्यान्वयन नगरेसम्म सभाका कार्यसूची अगाडि बढ्न नसक्ने भन्दै मंगलबार प्रतिपक्षी दलका सदस्यहरुले सभाको बैठक अवरुद्ध गरेका थिए । बैठक अगाडि बढ्न नसकेपछि सभामुख गुरुङले सभाको बैठक स्थगित गर्नुभएको थियो ।

सोही विषयमा प्रदेश सरकार र प्रमुख प्रतिपक्षी दल नेकपाबीच आज छलफल भएपनि टुंगो लाग्न नसक्दा बैठक बस्न नसकेको नेकपाका प्रमुख सचेतक कृष्णबहादुर जिसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “छलफल केही हदसम्म सकरात्मक भएको छ यद्यपि यसले पूर्णता पाएको छैन । भोलि असार ११ गते बसेर सहमतिको टुंगो लगाउने भन्नेछ तर त्यसमा सरकार तयार हुनुपर्यो ।”

प्रमुख प्रतिपक्षीले सरकारले कार्य विभाजन नियमावली मिचिएका कुरा सच्याउने भनिएपनि वेवास्ता गरेको, प्रतिष्ठान र स्मृति भवनको बारेमा बजेटमा सुधार नभएको, निजी उद्योग र फाउण्डेसनलाई व्यक्तिगत लाभ हुने गरी दिइएका अनुदानमा पुनरावलोकन गर्न कुनै पनि प्रतिवद्धता नगरेको, अधुरा योजना अलपत्र पारेर चलाखीपूर्ण तरिकाले नयाँ योजना हालेको, बैंक खाता छोरीको सुरक्षा जीवनभरिको कार्यक्रमको दुई वर्षसम्म विकल्पका रुपमा विना कुनै छलफल अगाडि बढेकोलगायतका सवाल उठान गरी त्यसको स्पष्ट जवाफ माग्दै आएको छ ।

 

प्रतिकृया दिनुहोस्