
८ असार २०८३, सोमबार
सुर्खेतः नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सुर्खेत वीरेन्द्रनगरबाट पक्राउ पर्नुभएको छ ।
सम्पत्ति शुद्धीकरणको कसुरमा उपाध्यक्ष पौडेललाई आज साँझ ६ः०० पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पाेखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पूर्जी लिएर प्रहरीले वीरेन्द्रनगर नगरपालिका ३ सुर्खेतस्थित शुभ होटलको सभाहलबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका उहाँलाई आजै काठमाडौं पठाउनका लागि स्थलगत मार्गबाट सुर्खेत प्रहरीले नेपालगञ्ज लिएर गएको प्रहरी उपरीक्षक पाेखरेलले बताउनुभयो । उपाध्यक्ष पौडेल एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रमका लागि सुर्खेत आउनुभएको बताइएको छ ।
पूर्वअर्थमन्त्री समेत रहेका उपाध्यक्ष बुटवल उपमहानगरपालिका ९ रुपन्देही घर भई हाल ललितपुर महानगरपालिका २५ ललितपुरस्थित सैबु आवास आयोजनामा बसोबास गर्दै आउनुभएको प्रहरीले जनाएको छ । उहाँलाई प्रहरी उपरीक्षक पाेखरेलको नेतृत्वमा १० विशेष प्रहरी टोलीले पक्राउ गरेको थियो ।


