६ असार २०८३, शनिबार
सुर्खेतमा भएको छुट्टा छुट्टै दुर्घटनामा एकको मृत्यु अर्को बेपत्ता भएका छन् । त्यस्तै, वीरेन्द्रनगर नगरपालिकामा भने नवजात शिशुको वेबारिसे शव फेला परेको सुर्खेत प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार भेरीगंगा नगरपालिका ७ काठेघारीस्थित २० प्रतुस सुनारकी श्रीमती १७ वर्षीय निर्मला बिकको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ । घरबाट एक किलोमिटर पूर्व दक्षिणको जंगलमा माटो खन्ने क्रममा आज दिउसो करिब १२ः०० बजेतिर उनको मृत्यु भएको हो ।
त्यस्तै, दैलेख गुँरास गाउँपालिका घर भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेतस्थित बिक्रम पुन मगरले सञ्चालन गरेको ग्रील उद्योगमा काम गर्ने १८ वर्षीय रमेश पुन मगर दहतातलमा डुबेर बेपत्ता भएका छन् । पञ्चपुरी नगरपालिका ८ स्थित दहतालमा पौडी खेल्ने क्रममा आज उनी बेपत्ता भएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक भूपेन्द्र शाहीको नेतृत्वमा पाँच र सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प गुटु सुर्खेतबाट सशस्त्र प्रहरी निरीक्षक कुलदीप जंग शाहको नेतृत्वमा छ जनाको टोली पुगेर खोजतलास गरिरहेको प्रहरीले जनाएको छ । मृत्य पुनसहित गएका अन्य सातजना सकुशल रहेको बताईएको छ ।
आजै वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेत घण्टाघरस्थित किशोर केसीको घरको पछाडि पट्टि कम्पाउण्ड भित्रको देवालको छेउमा अन्दाजी ९÷१० महिनाको जस्तो देखिने नवजात शिशु (बालक) सडिगलेको अवस्थामा फेला परेको भनी खबर गरेपश्चात जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक दिपक मगराठीको नेतृत्वमा सात जना प्रहरी टोली त्यहाँ पुगेको जनाइएको छ ।




