OnlinePana

आज : २०८३ आषाढ ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ५, २०८३काठमाडौं
३९ पटक

५ असार २०८३, शुक्रबार

कर्णाली प्रदेश रंगशाला सुर्खेत वीरेन्द्रनगरमा ‘४६औं नेशनल एथ्लेटिक्स च्याम्पियनसिप २०८३’ शुभारम्भ गरिएको छ ।

नेपाल एथ्लेटिक्स संघका आयोजना तथा कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोग तथा समन्वयमा सञ्चालित उक्त च्याम्पियनसिपको उद्घाटन आज कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री एवं संघका केन्द्रीय अध्यक्ष राजीवबिक्रम शाहले गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शाहले प्रदेश सरकारले कर्णालीलाई खेल क्षेत्रका केन्द्र बनाउने लक्ष्य लिए अनुसार पहिलो पटक कर्णालीमा राष्ट्रियस्तरको एथ्लेटिक्स च्याम्पियनसिप आयोजना गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मुलुकको आर्थिक समृद्धि, सामाजिक विकास र पर्यटन प्रवद्र्धनमा खेल क्षेत्रको धेरै ठूलो भूमिका छ । कर्णाली त्यो सम्भाव्य भूमि हो जसले खेल क्षेत्रबाट देशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा चिनाउन महत्वपूर्ण योगदान पुर्याएको छ । विकट भूगोल र पिछडिएको भनिएको प्रदेशमा राष्ट्रियस्तरको खेलकुद हुनु राष्ट्रकै लागि गौरवको विषय हो ।”

प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले ट्रयाक र फिल्डको परीक्षणका लागि एथ्लेटिक्स खेलको आयोजना गरिएको बताउनुभयो । परिषद्मा ४३ विभिन्न खेल दर्ता भएको र ती खेल ओलम्पिक कमिटि दर्ता गराई उनीहरुको संस्थागत विकास गर्नु प्रमुख उद्देश्य रहेको उहाँको भनाई थियो ।

नेपाल एथ्लेटिक्स संघका केन्द्रीय उपाध्यक्ष कोमल ओलीले कर्णाली प्रदेशको सुन्दर नगरी वीरेन्द्रनगरमा राष्ट्रियस्तरको एथ्लेटिक्स खेलकुद हुनुले यसको गरिमा र क्षमता बढाएको बताउनुभयो । “कर्णाली खेल क्षेत्रमा धेरै माथि छ । यसले हिमचितुवा भनेर चिनिने जुम्लाका हरि रोकाय जस्ता खेल क्षेत्रका प्रतिभावान् व्यक्तित्व जन्माएको छ । यहाँका भरका देशैभरका खेलाडीहरुलाई स्वागत गर्न पाएको हर्षित छु,” उपाध्यक्ष ओलीले भन्नुभयो ।

आयोजकका अनुसार च्याम्पियनसिपमा पुरुष तथा महिलातर्फ १४÷१४ गरी २८ इभेन्ट छन् । यसमा सात प्रदेश, तीन विभागीय टोली नेपाली सेना त्रिभुवन आर्मी क्लब, नेपाल सशस्त्र प्रहरीको एपीएफ र नेपाल प्रहरीतर्फको पुलिस क्लब रहेको छ । दश टोलीबाट १२० महिला र १२० पुरुष गरी २४० जना खेलाडीहरुले २८ स्वर्ण पदकका लागि स्पर्धा गर्नेछन् । दक्ष प्राविधिक, जज, टाइमकिपरसहित ६० जना अफिसियल, दश प्रशिक्षक, दश म्यानेजर र प्राविधिक ६० गरी ३२० जनाको सहभागिता रहेको छ

‘४६औं नेशनल एथ्लेटिक्स च्याम्पियनसिप २०८३’ अन्तरगत आजै वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा सञ्चालन भएको दश किलोमिटर दौड प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मीका राजन रोकाय र महिलातर्फ वाग्मती प्रदेशका सन्तोषी श्रेष्ठ प्रथम हुनुभएको छ । च्याम्पियिनसिपका विजेता खेलाडीहरुलाई क्रमशः १५÷१५ हजार नगद पुरस्करसहित टफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतिकृया दिनुहोस्