
२० जेठ २०८३, बिहीबार
सुर्खेतः कर्णाली प्रदेशस्तरीय ‘प्रथम मेयर कप फुटबल प्रतियोगिता २०८३’ को उपाधि सुर्खेतले हाँसिल गरेको छ ।
कर्णाली प्रदेश सुर्खेत वीरेन्द्रनगरस्थित रंगशालामा आज सम्पन्न प्रतियोगिताको फाइनलमा सुर्खेतले जुम्लालाई शून्यको विरुद्ध दुई गोलले पराजित गरेको थियो । विजेता सुर्खेतलाई वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले ट्रफीसहित रु.चार लाख पुरस्कार प्रदान गर्नुभयो ।

त्यस्तै, उपविजेता टोली जुम्लाले रु.दुई लाख पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा प्रथम र दोस्रो हुने सुर्खेत तथा जुम्लाको टोलीलाई बधाई ज्ञापन गर्दै नगरप्रमुख ढकालले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा खेल पर्यटनको प्रवद्र्धन, खेलाडीहरुको प्रोत्साहन, स्वस्थ नागरिक उत्पादन गर्ने उल्लेख गरे बमोजिम कर्णाली प्रदेशस्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।
उहाँले दोस्रो संस्करण पनि विशेष तयारीका साथ गर्ने र कर्णालीलाई खेलकुदका माध्यमबाट मुलुक तथा विश्वमा चिनाउने उद्देश्यका साथ नगरपालिका अगाडि बढेको जनाउनुभयो । प्रतियोगिताका उत्कृष्ट खेलाडी जुम्लाका धर्मेन्द्र कुँवर, सर्वाधिक गोलकर्ता सुर्खेतका धनसिंह विक, उत्कृष्ट गोलरक्षक सुपबहादुर शाही, उत्कृष्ट डिफेन्डर दिवस बिसी, उत्कृष्ट मिडफिल्डर सुदीप गुरुङ र उत्कृष्ट कोच गणेश खड्कालाई जनही रु.१५ हजार प्रदान गरिएको छ ।

म्यान अफ द म्याच दैलेखका बिक्रम वली हुनुभएको छ । यही जेठ १५ गतेबाट सुरु भएको प्रतियोगितामा दश जिल्लाका १३ पालिकाका खेलाडीहरुको सहभागिता रहेको थियो । वीरेन्द्रनगर नगरपालिका सुर्खेतको आर्थिक तथा जिल्ला फुटबल संघ सुर्खेतको प्राविधिक सहयोग र कर्णाली प्रदेश फुटबल संघ सुर्खेतको आयोजनामा प्रतियोगिता सम्पन्न भएको थियो ।




