OnlinePana

आज : २०८३ जेठ १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १५, २०८३काठमाडौं
७ पटक

 

१५ जेठ २०८३, शुक्रबार

सुर्खेतः संघीय सरकारले ल्याएको आगामी आव.०८३÷०८४ को बजेटमा कर्णालीको पूर्वाधार निर्माणमा जोड दिइएको छ । अर्थमन्त्री डा.स्वर्णीम वाग्लेले आज प्रस्तुत गर्नुभएको बजेट वक्तव्य पूर्वाधारलाई प्राथमिकता दिइएको हो ।

जसमा कर्णाली राजमार्गअन्तरगत सुर्खेत–जुम्ला–गमगढी सडकको स्तरोन्नतिका लागि रु.एक अर्ब बजेट विनियोजन गरेको छ । कर्णालीको जनजीवनलाई सहज गर्न जाजरकोटको मुल्सामदेखि जुम्लाको टोप्लासम्मको सुरुङ मार्गको संभाव्यता अध्ययन, कर्णाली करिडोरको ३१ किलोमिटर कालोपत्र र ग्राभेल गरिने अर्थमन्त्री वाग्लेले वक्तव्यमार्फत जानकारी दिनुभयो ।

त्यस्तै, कर्णाली करिडोरको ३१, कालीकागण्डकी करिडोरको २१ र कोशी करिडोरको १५ किलोमिटर कालोपत्र गर्न रु.छ अर्ब २५ करोड बजेट विनियोजन गरिएको र भेरी करिडोर स्तरोन्नतिका लागि पनि आवश्यक प्रक्रिया अगाडि बढाइने बताइएको छ । जाजरकोट तथा रुकुमपश्चिम लगायतका जिल्लामा भूकम्पबाट क्षतिग्रस्त निजी आवास र सरकारी भवन पुनःनिर्माण गर्न पनि सरकारले आवश्यक बजेट विनियोजन गरेको छ ।

मध्यपहाडी (पुष्पलाल), कर्णाली राजमार्ग, भेरी करिडोर र रारा जुम्लाहुँदै शे–फोक्सुण्डोको ‘कर्णाली चतुर्भुज’ जडीबुटी, जलबिद्युत, पर्यटन र खानीजन्य क्रियाकलापले प्रश्रय पाउने व्यवस्था गरिएको छ । सरकारले मध्यपहाडी राजमार्गसँग ओलाङचुकगोला, किमथाङ्का, तातोपानी, रसुवागढी, कोरला, हिल्साजस्ता उत्तरी पर्या–व्यापारिक गन्तव्यसँग जोड्ने लक्ष्य राखेको छ ।

४१६ मेगावाटको नलगाड जलबिद्युत आयोजनाको अध्ययन प्रक्रिया अगाडि बढाउने, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको समेत लगानीमा ४३९ मेगावाटको बेतन कर्णाली जलबिद्युत आयोजना निर्माणको ठेक्का प्रक्रिया सुरु गर्ने, कर्णाली करिडोर राष्ट्रिय प्रसारण लाइन निर्माणलाई तीव्रता दिने । राष्ट्रिय ग्रीड नपुगेका कर्णालीका स्थानीय तहमा विद्युतीकरणलाई तीव्रता दिने नीति सरकारले लिएको छ ।

कर्णालीका स्वास्थ्य जोखिमलाई ध्यानमा राखेर एयर एम्बुलेन्स सञ्चालन गर्ने, कर्णाली नदीको व्यवस्थापन, कर्णाली प्रदेशमा गुणस्तरीय टेलिफोन सेवा र नेट विस्तार गर्ने, यहाँका दुर्गमा क्षेत्रमा टेलिमेडिसिन सेवा विस्तार तथा भिडियो कन्सल्टेसनमार्फत विशेषज्ञ स्वास्थ्य सेवा सुनिश्चित गर्ने, सुर्खेतमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्नका लागि आवश्यक पूर्वाधारण निर्माण गरिने तथा कम्तीमा दुई क्षमताको ईण्डोर मल्टिप्रपोज स्टेडियम बनाउने लक्ष्य राखेको बजेटमा उल्लेख गरिएको छ ।

 

कर्णालीमा स्याउ ओखरलगायतको फलफुलको जोन सञ्चालन गर्ने र चिस्यान केन्द्र स्थापना कार्य अगाडि बढाउने, हुम्लाको हिल्सा सीमा नाकामा पशु क्वारेन्टिन स्थापना गर्ने, काक्रेबिहार–पञ्चकोशी–रारालाई प्रादेशिक पर्यटकीय करिडोरको प्रवद्र्धन गर्ने, उच्च पहाडी पर्या–पर्यटन पदमार्ग (डाँफे रुट) अन्तरगत रारालाई जोड्ने, सुर्खेत विमानस्थलको विस्तार र मुगुको ताल्चा विमानस्थलको स्तरोन्नति गर्नेलगायका विषयमा बजेटमा समेटिएको छ ।

 

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले संघीय सरकारले आज प्रस्तुत गरेको बजेटले कर्णालीमा एयर एम्बुलेन्स सञ्चालन गर्ने तथा हुम्लाको सीमा नाका हिल्सामा पशु क्वारेन्टिन राख्ने दुई नयाँ कार्यक्रम ल्याएको र अरु सबै नियमित आयोजनाका रुपमा सञ्चालन भइरहेको बताउनुभयो । सरकारले कर्णाली विशेष नयाँ देखिने दुरगामी प्रभाव पार्ने आयोजना बजेटमा ल्याउन नसकेको उहाँको तर्क रहेको छ ।

 

कर्णालीका नागरिक अगुवा पिताम्बर ढकालले सरकारले प्रादेशिक पर्यटकीय करिडोर निर्माण गर्ने राम्रो नीति ल्याएको बताउनुभयो । माथिल्लो कर्णाली जोड्ने सडक पूर्वाधार निर्माणमा ध्यान दिइएन भने यहाँको विकास हुन नसक्ने भन्दै उहाँले भेरी बबई डाईभर्सन र दैलेको जलजलेमा उत्खनन् भइरहेको पेट्रलियम पदार्थ संकलन तथा भण्डारण गर्ने महत्वपूर्ण विषयमा सरकारको ध्यान जान नसकेको उल्लेख गर्नुभयो ।

नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशका निवर्तमान अध्यक्ष पदमबहादुर शाहीले नीजि क्षेत्र नीतिगत रुपमा उत्साहित भएको तथापि यहाँको भूगोल सुहाउँदो बजेट आउन नसकेको प्रतिक्रिया दिनुभयो । बिगतका प्रावधान हटाएर ऐन कानूनमा सुधार ल्याउने र सार्वजनिक नीजि साझेदारी नीति सकरात्मक रहेको उहाँको भनाई थियो ।

 

 

 

प्रतिकृया दिनुहोस्