
१५ जेठ २०८३, शुक्रबार
कर्णाली प्रदेश यज्ञराज जोशीले गणतन्त्र जनताको जीवन पद्धति बनेको बताउनुभएको छ ।
कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेतद्वारा १९औं गणतन्त्र दिवस–२०८३ को अवसरमा आज वीरेन्द्रनगरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख जोशीले गणतन्त्र जनताको रक्तसञ्चार बनेको बताउनुभयो । “गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र हो । यसको पर्यायवाची अरु छैन र यसलाई कसैले दुत्कारेर असफल पनि बन्दैन,” उहाँले भन्नुभयो ।
गणतन्त्रका सवल पक्षको संस्थागत र दुर्वल पक्षको सुधार गर्दै जानुपर्नेमा जोड दिँदै प्रदेश प्रमुख जोशीले प्राकृतिकलगायत थुपै स्रोत र संभावनाको खानी मानिने कर्णालीको सडक स्तरोन्नतिमा संघ तथा प्रदेश सरकारको विशेष ध्यान जानुपर्ने औंल्याउनुभयो । उहाँले थुप्रै समस्या र चुनौतिका बाबजुद पनि योजनाहरुको प्रभावकारी कार्यान्वयन गरी कर्णाली प्रदेश सरकारले आफ्नो खर्च प्रतिशतलाई बढाउन सुझाउनुभयो । कर्णाली प्रदेश सरकार अन्य प्रदेशभन्दा हरेक कुरामा सहमतिसाथ अगाडि बढेको भन्दै उहाँले प्रशंसा गर्नुभयो ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आजको गणतन्त्रको अवस्थामा पुग्न देश ७० वर्ष लागेको बताउनुभयो । एक दिनमै केही गरेर यो अवस्था पुगेको भन्ने भ्रम कसैलाई नपरोस् भन्दै उहाँले भन्नुभयो, “आजको नयाँ पुस्तालाई यो व्यवस्थाबारे बुझाउन सकिएन होला स्वीकार्छु तर अग्रजहरुको सात दशकसम्मको निकै ठूलो त्याग, समर्पण र बलिदानबाट गणतन्त्र प्राप्त भएको हो । यसको संस्थागत विकासमा सबै संयन्त्रहरुको भूमिका सघन बन्नुपर्छ ।”
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा प्रमुख प्रतिपक्षी दलका नेता मंगलबहादुर शाहीेले गणतन्त्र स्थापनाले नेपाली जनता जातीय, क्षेत्रीय उत्पीडनबाट मुक्ति पाएको तर्क गर्नुभयो । उहाँले भन्नुभयो, “गणतन्त्र स्थापनाकै कारण नेपाली जनताले मुलुकमा संघीयता, समानुपातिकता, समावेशिता र सामाजिक न्यायको अनुभूति गर्न पाएका छन् । ती प्राप्त उपलब्धिहरुको रक्षा गर्नु अहिलेको सरकारको मुख्य अभिभारा हुनुपर्छ ।”
सत्ता गठबन्धन दल नेपाली काँग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले नेपाली जनताको लामो संघर्षपछि प्राप्त गणतन्त्र आजको सरकार निर्माणको जग भएको बताउनुभयो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाकै कारण आज कर्णाली, सुदूरपश्चिम, मधेश प्रदेशलगायतका क्षेत्रका जनताले राजनैतिक, सामाजिक न्याय प्राप्त गरेको उल्लेख गर्नुभयो । समारोहमा कर्णाली प्रदेशका मन्त्री, प्रमुख सचिव, प्रदेश सचिव, सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता रहेको थियो ।




