OnlinePana

आज : २०८३ जेठ १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ११, २०८३काठमाडौं
१६ पटक

११ जेठ २०८३, सोमबार

सुर्खेतः पछिल्लो समय अटोचालक व्यवसायमा महिलाहरु आकर्षित हुँदै गएका छन् । पाँच वर्ष अघिसम्म महिलाहरु यसमा आवद्ध थिएनन् र यो पेशा उनीहरुका लागि जोखिम पनि थियो । त्यसबेला महिलाले कही कतै सवारी साधन चलाउँदा अचम्म मानिन्थ्यो तर अहिले अटोदेखि अन्य सवारी साधनहरु महिलाहरुले सजिलै चलाएको पाउन सकिन्छ ।

अहिले सुर्खेतमा मात्र १०० भन्दा बढी महिलाहरु अटो सञ्चालन गरिरहेका छन् । सहर पसेसँगै उनीहरुले श्रम, सीप र साहसका साथ पेशालाई आत्मनिर्भर बनाउँदै लिएका छन् । जसबाट उनीहरुको दैनिकी मात्र चलेको छैन, परिवार र बालबालिकाको पढाई खर्च समेत यही व्यवसायबाट धान्न सफल भएका छन्, उनीहरु ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, जिल्ला ट्राफिक कार्यालय सुर्खेतको समन्वय तथा कर्णाली महिला स्वास्थ्य क्लिनिक सुर्खेतको सहयोगमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतद्वारा सोमबार वीरेन्द्रनगरमा आयोजित ‘महिला अटो चालकहरुलाई सेफ्टी ज्याकेट वितरण तथा स्वास्थ्यसम्बन्धी अभिमुखकरण कार्यक्रम’मा सहभागी ५४ जना अटोचालक महिलाहरु सहभागी रहे ।

महिला अटोचालकहरु कार्यक्रममा सहभागी मात्र भएनन्, त्यहाँ उनीहरुले पेशाको जोखिम, समाजले उनीहरुप्रति राख्ने दृष्टिकोण, गर्ने व्यवहार र सामना गर्नुपरेको चुनौतिका बारेमा पनि खुलेर कुरा राखे । कार्यक्रममा महिला अटोचालकहरुको प्रतिनिधित्व गर्दै चालक सुशीला सापकोटाले समाजमा महिलाले पनि चुनौतिपूर्ण कामलाई अवसरमा ढाल्न सक्ने र उनीहरु कमजोर नभएको तर्क गुर्नुभयो ।

उहाँले दुखेसो पोख्दै भन्नुभयो, “अटो व्यवसायी महिलाहरुले चलाएको अटो चढ्ने अधिकांश पुरुष यात्रुहरुले श्रीमान्, छोरा छोरी छन् कि छैनन् भनेर सोध्ने ? किन यो पेशामा लाग्नुभएको ? तपाईले हामीलाई एक÷दुई घण्टा समय दिँदा पैसा कति लिनुहुन्छ । के छ समय दिनुहुन्छ कि नाई भन्ने जस्ता अप्ठ्यारा र असहज प्रश्न गर्दा निरुत्साहित बनाउने गर्दछ । किन यस्तो व्यवहार हामीमाथि गरिन्छ जहाँ पुरुषहरुले चलाउँदा त्यसप्रति कुनै सरोकार हुँदैन ?”

अटोचालक कल्पना सिंहले महिलाले चुलो चौको बाहेक अरु केही गर्न सक्दैनन् भन्ने यो समाजको बुझाईले महिलालाई कमजोर बनाएको टिप्पणी गर्नुभयो । “महिलाले सवारी साधन चलाउँदा वा अन्य जोखिमका काम गर्दा समाजले कुरा काटिरहेको हुन्छ । यसमा समाजले महिलामाथि हेर्ने दृष्टिकोण बदल्नुपर्छ । महिलाहरु पनि गरेर खान सक्छन् यद्यपि उनीहरुले अवसर पाउनुपर्छ । त्यसमा आउने चुनौतिहरुलाई सामना गर्ने साहस राखेर हामी अगाडि बढेका छौं,” उहाँले भन्नुभयो ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले आफ्नो पेशालाई माया गर्न र त्यसमै प्रतिबद्ध भएर कर्म गर्न महिला चालकहरुलाई सुझाउनुभयो । उहाँले भन्नुभयो, “तपाईहरुले जोखिम पेशा अपनाउनुभएको छ । चुनौति थुपै्र आउन सक्छन् । त्यसलाई सामना गर्ने मात्र नभई संभावनामा बदल्न सक्नुपर्छ । अनि मात्र हाम्रो काम र लगानीले वास्तविक नतिजा दिनेछ ।” महिला व्यवसायीहरुलाई नगरपालिकाले पनि आवश्यक सहयोग गर्दै आएको प्रमुख ढकालको भनाई थियो ।

कर्णाली महिला स्वास्थ्य क्लिनिक सुर्खेतका प्रमुख तथा कर्णाली प्रदेश अस्पतालका स्त्रीरोग विशेषज्ञ तथा डा.ललित शाहीले महिलाहरुको प्रसुती तथा पाठेघरमा कुनै समस्या आएमा क्लिनिकले रजिष्ट्रेसन निःशुल्क गर्ने बताउनुभयो । अटो सञ्चालन गर्दा त्यसमा पानी राखेर खान सुझाउँदै डा.शाहीले त्यसो नगरेमा पिसाब नली र मिर्गौलामा समस्या देखिने बताउनुभयो । बच्चा र आमाको स्वास्थ्य अवस्था ठिक राख्न महिला अटोचालकलाई उहाँले बेला बेलामा अस्पतालमा जाँच गर्नसमेत सल्लाह दिनुभयो ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालले महिला अटोचालकहरुको व्यवसायलाई मर्यादित, सम्मानित र सुरक्षित बनाउने हेतुले यो कार्यक्रम गरिएको बताउनुभयो । उहाँले उपलब्ध ज्याकेटमा ट्राफिक प्रहरीका महत्वपूर्ण नम्बर राखिएकोले सवारी सञ्चालनका क्रममा आउने कुनैपनि समस्याको समाधानमा सहयोगी भूमिका निर्वाह गर्ने बताउनुभयो । कर्णाली प्रदेशमा ट्राफिक प्रहरीले सुरक्षित अभियान थालेकोले यससँगै जोडिएर जान पनि उहाँले आग्रह गर्नुभयो ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका क्षयकुष्ट अधिकृत खगेन्द्रप्रकाश गैरेले महिला अटोचालकहरुलाई मानसिक र नसर्ने रोगका बारेमा अभिमुखीकरण गर्नुभयो । उहाँले मानसिक, शारिरीक र सामाजिक रुपले मान्छे स्वस्थ हुनुपर्ने बताउँदै चिन्ता, निराशालगायतका रोग लाग्न नदिन आफै सजग हुनुपर्नेमा जोड दिनुभयो । मानसिक रोगका कारण कर्णालीमा दैनिक एकजनाले आत्महत्या गरेको बताउँदै उहाँले उक्त रोगको १२ प्रकारका औषधि अस्पतालमा निःशुल्क पाइनेबारे जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्