OnlinePana

आज : २०८३ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख ६, २०८३
१२ पटक

६ बैशाख २०८३, आईतबार

सुर्खेतः हुम्ला र कालीकोट जिल्लाका दुई महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । सुत्केरीपछिको जटिल स्वास्थ्य समस्याका कारण खार्पुनाथ गाउँपालिका ५ हुम्लाकी ४५ वर्षीय सरिला शाही थप उपचारका लागि आजै हवाई उद्धार गरिएको हो ।

घरमै सुत्केरी हुँदा साल अड्किएर अत्यधिक रक्तस्राव भएपछि थप उपचारका लागि सुर्खेत ल्याइएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका सूचना अधिकारी नन्दबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला अस्पताल हुम्लामा उपचार सम्भव नभएपछि उनलाई कर्णाली प्रदेश अस्पतालमा रेफर गरिएको थियो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तरगत नेपाली सेनाको हेलिकोप्टरमबाट सुत्केरी शाहीलाई सुर्खेत पठाइएको हुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारी राजेन्द्रकुमार चन्दले जानकारी दिनुभयो । शाहीको स्वास्थ्य अवस्था जटिल देखिएकोले तत्काल हवाई उद्धार गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै, पलाँता गाउँपालिकाकी ९ कालीकोट थिर्पुकी गर्भवती महिला २२ वर्षीय अप्सरा शाहीलाई पनि नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । गएराति जिल्ला अस्पताल कालीकोट मान्म पु¥याइएकी शाहीलाई थप उपचारका लागि आजै सुर्खेतस्थित प्रदेश अस्पताल पठाइएको स्वास्थ्य सेवा कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत कटक महतले जानकारी दिनुभयो ।

उहाँका अनुसार गर्भमै रहेको शिशुको मृत्यृ भएको हुनसक्ने खतरोन्मुख अवस्थाका साथै अत्यधिक रक्तस्रावका कारण स्वास्थ्यमा जटिल समस्या देखिएपछि उनलाई सुर्खेत रिफर गरिएको हो । गर्भवती शाहीलाई समेत राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको जनाइएको छ ।

 

प्रतिकृया दिनुहोस्