
१९ चैत २०८२, बिहीबार
सुर्खेतः बलात्कारपछि हत्या गरिएको भनिएकी सुर्खेतकी इनिशा विकको २७ दिनपछि दाहसंस्कार गरिएको छ ।
सुर्खेत जिल्ला अदालतले मंगलबार इनिशा मृत्यु प्रकरणसँग जोडिएका चारै जना किशोरलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको दुइ दिनपछि परिवारले आज कर्णाली प्रदेश अस्पतालको शव गृहबाट उनको शव बुझेका थिए । उनलाई आजै साँस्कृतिक विधि अनुसार भेरी नदीमा दाहसंस्कार गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाले जानकारी दिनुभयो ।
मंगलबार न्यायाधीश दीपक ढकालको एकल इजलासले आज आरोपित चारै जनालाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन आदेश गरेको हो । आरोपित चारै जना नाबालक हुन् । उनीहरुलाई बाल सुधार गृहमा पठाइएको अदालतका सूचना अधिकारी उज्ज्वल रावलले जानकारी दिनुभयो । उहाँका अनुसार विकको बलात्कारपछि हत्या भएको आरोपमा चारै जनाविरुद्ध जबरजस्ती करणी र ज्यान मार्ने उद्योगमा अभियोग पत्र दायर गरिएको थियो ।
फागुन २३ गते शनिबारका दिन उनी वीरेन्द्रनगर नगरपालिका ४ सुर्खेतको उत्तरतर्फ पर्ने जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन् । उपचारका लागि प्रदेश अस्पताल पु¥याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । सोही दिन प्रहरीले घटनास्थलबाट उनका प्रेमी भनिएका एक किशोरलाई नियन्त्रणमा लिएको थियो ।
इनिशाकी आमाले सामुहिक बलात्कारपछि छोरीको हत्या भएको भन्दै फागुन २४ गते अन्य तीन जनाविरुद्ध प्रहरीमा निवेदन दिएसँगै प्रहरीले तीन किशोरलाई पनि सोही दिन पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई कानून अनुसन्धानको दायरामा ल्याइ आफूलाई न्यायको अनुभूति नदिलाएसम्म शव नबुझ्ने अडान लिएको इनिशाको परिवारले अदालतले पुर्पपक्षका लागि थुनामा पठाएपछि आज उनको शव बुझेर अन्त्येष्टि गरेको छ ।
गुर्भाकोट नगरपालिका ६ सुर्खेत बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका १ सुर्खेतमा बस्दै आएकी १६ वर्षीय इनिशा बालबाटिका स्कुल सुर्खेतमा ११ कक्षामा अध्ययनरत थिइन् । परिवारका अनुसार उनी फागुन २३ गते शनिबार बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन् ।





