

१७ चैत २०८२, मंगलबार
सुर्खेतः कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव विपिन आचार्यले कर्णाली जस्तो विकट भूगोलको लागि हुलाकको उपदेयता महत्वपूर्ण भएको बताउनुभएको छ ।
नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, हुलाक सेवा विभाग, हुलाक प्रशिक्षण केन्द्र बबरमहल काठमाडौंद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित नायब सुब्बा÷खरिदार अभिमुखीकरण प्रशिक्षण कार्यक्रममा बोल्दै सचिव आचार्यले यसको सेवालाई परिस्कृत एवं डिजिटलाईज बनाउँदै लैजानपर्नेमा बताउनुभयो । उहाँका अनुसार हुलाकको व्यवसायीकरण र विविधिकरणका लागि प्रशिक्षण कार्यक्रमबाट सहयोग पुग्नेछ ।
हुलाक प्रशिक्षण केन्द्र काठमाडौंका मुख्य प्रशिक्षक ध्रुवराज आचार्यले हुलाक सेवालाई अपेक्षित भन्दा उपेक्षित अवस्थामा पुर्याइएको उल्लेख गर्नुभयो । सरकारले यही चैत १४ गते सार्वजनिक गरेको शासकीय सुधारको १०० कार्यसूचीको बुँदा नम्बर २७ अनुसार सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले हुलाक सेवालाई आधुनिकीकरण गरी सरकारी कुरियर सेवाका रुपमा विकास गर्ने र त्यसमार्फत पासपोर्ट, नागरिकता प्रतिलिपि, लाइसेन्सलगायतका कागजजात÷सामग्रीहरु घरमै पुर्याउने लक्ष्य राखेकोले यसको उपदेयता बढेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार कर्णालीलाई प्राथमिकता राखेर सञ्चालन गरिएको अभिमुखीकरण प्रशिक्षणले कर्मचारीहरुको कार्यसम्पादन, नवीन ज्ञान, सीप, सोच र उत्प्रेरणामा सहयोग पुर्याउनेछ । यसलाई सरकारले अपेक्षा गरेको गतिमा अगाडि बढाउन तीनै तहका सरकार, आम सेवाग्रही र मिडियासहितको भूमिका आवश्यक रहेको मुख्य प्रशिक्षक आचार्यको भनाई थियो ।
हुलाक निर्देशनालय सुर्खेतका निर्देशक गोविन्दप्रसाद पाण्डेले संसारका कुनैपनि देशले हुलाकको उपदेयतालाई कम आँक्न नसकेको बरु परिस्कृत बनाउँदै लगेको बताउनुभयो । जापानमा सरकारलाई सबैभन्दा बढी राजश्व उपलब्ध गर्ने पाँच उत्कृष्ट संस्थामा हुलाक नै रहेकोले नेपालको हुलाकको सेवालाई पनि बढोत्तरी गर्दै लैजान सकिने तर्क गर्नुभयो । त्यही मर्म अनुरुप ‘घर घरमा हुलाक, मन मनमा हुलाक’ भन्ने अभियान अगाडि बढाइएको निर्देशक पाण्डेको भनाई थियो ।
छ दिनसम्म सञ्चालन हुने अभिमुखीकरण प्रशिक्षणमा कर्णाली प्रदेशका १० जिल्लाका नायबसुब्बा र खरिदार तहका कर्मचारीहरुको सहभागिता रहेको छ ।











