

१६ चैत २०८२, सोमबार
सुर्खेतः कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त उपाध्यक्ष प्रमोद हमाल, सदस्य–सचिव रविन्द्र चन्दसहितले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
सामाजिक विकास मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री घनश्याम भण्डारीले सोमबार शपथ ग्रहण गराउनुभएको हो । कर्णाली प्रदेश मन्त्रिपरिषद्को यही चैत १२ गते बसेको बैठकले चन्दलाई परिषद्को दोस्रो सदस्य–सचिवका रुपमा नियुक्त गरेको थियो ।
सोही अवसरमा परिषद्का सदस्यहरु पवनकुमार थापा, पंखबहादुर मल्ल, भीमाकुमारी भुसाल, गोर्खबहादुर शाही र किरण किशोर सापकोटाले पनि शपथ लिनुएको छ ।
२०८१ पुस ४ गतेदेखि सदस्य–सचिव पद नियुक्त भएपछि दोस्रो सदस्यसचिवको रुपमा चन्द नियुक्त भएको थियो । यसअघि सदस्य–सचिव छनोटका लागि गठित समितिले माघ ३ गते अन्तर्वार्ता लिएर तीन जनाको नाम सरकारसमक्ष सिफारिस गरेको थियो ।
सिफारिस सूचीमा रहेका रविन्द्र चन्द, दीपक हमाल र प्रमोद हमालमध्ये मूल्यांकनमा चन्दले सर्वाधिक ६७.१७ अंक, दीपक हमालले ६०.६३ र प्रमोद हमालले ५२.३७ अंक प्राप्त गरेका गर्नुभएको थियो । सदस्य–सचिव पदमा २१ जनाले आवेदन दिदा ती मध्ये १० जनालाई अन्तर्वार्ताका लागि छनोट गरिएको थियो ।






