OnlinePana

आज : २०८२ चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
चैत्र १६, २०८२
१७ पटक

१६ चैत २०८२, सोमबार

सुर्खेतः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशका मन्त्री र सचिवहरुलाई सँगै राखेर पुरानै शैलीबाट काम गर्ने प्रवृति अन्त्य गर्न निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेत वीरेन्द्रनगरमा आज आयोजित बजेट कार्यान्वयनको अवस्था, आयोजना छनोट मापदण्ड र कार्यविधि सम्बन्धी छलफल कार्यक्रममा बजेट कार्यान्वयनमा भइरहेको ढिलाई र कामको ढिलासुस्तीप्रति असन्तुष्टि व्यक्त गर्दै उक्त निर्देशन दिनुभएको हो । मुख्यमन्त्री कँडेलले भन्नुभयो, “पुरानो शैलीलाई सुधार्नुस्, सकिदैन भने बेलै सोच्नुस् ।”

उहाँले हालसम्म बजेट खर्चको प्रगति कमजोर देखिएको उल्लेख गर्दै सम्बन्धित मन्त्रालय तथा निकायहरूलाई तत्काल सुधार गर्न सुझाउनुभयो । “बजेट किन प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेन भन्ने प्रश्नको जवाफ तपाईंहरूले खोज्नुपर्छ,” उहाँले भन्नुभयो, “समस्या देखाउने होइन, समाधान गर्ने जिम्मेवारी तपाईंहरुकै हो, त्यसमा गम्भीर हुनुस् ।”

पुरानो कार्यशैलीका कारण विकास निर्माणका काम प्रभावित भएकोले काम गर्ने तरिका परिवर्तन गर्न र नयाँ ढंगले काम गरेर परिणाम देखाउन उहाँले आग्रह गर्नुभयो । कार्यालयमा फाइल रोकिने प्रवृत्तिप्रति कडा असन्तुष्टि व्यक्त गर्दै मुख्यमन्त्री कँडेलले भन्नुभयो, “कुनै पनि मन्त्रालयमा आएका फाइल अनावश्यक रोकेर काममा अवरोध गर्ने प्रवृत्ति तुरुन्त अन्त्य गर्नुहोस् । यदि कुनै समस्या छ भने मलाई जानकारी गराउनुहोस्, समाधानका लागि म स्वयं अघि बढ्छु ।”

बजेट कार्यान्वयनमा देखिएका समस्याहरु समाधान गर्ने प्रमुख जिम्मेवारी आर्थिक मामिला मन्त्रालयको भएकोले उक्त मन्त्रालयलाई सक्रिय र उत्तरदायी बन्न आग्रह गर्दै ती अवरोधहरु हटाउन ठोस पहल गर्न उहाँले निर्देशन दिनुभयो । विकास निर्माणका काममा ढिलाइ हुँदा जनताबाट गुनासो आउने भएकाले त्यस्तो अवस्था आउन नदिन सबै निकाय सचेत हुनुपर्नेमा मुख्यमन्त्री कँडेलले जोड थियो ।

जिल्लास्तरमा रहेका कार्यालयहरुबाट काम सन्तोषजनक नभएको गुनासो आएकोले त्यसमा सुधार गर्न विशेष ध्यान दिन र स्थानीय तहसँग समन्वय गरी परिणाममुखी काम गर्न उहाँले अनुरोध गर्नुभयो । मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेशको नाममा प्रदेश बाहिर हुने बैठकहरूमा अनावश्यक रूपमा सहभागी नहुन पनि निर्देशन दिए। “जरुरी बाहेक प्रदेशका नाममा हुने बैठकका लागि बाहिर नजान र जानै परे कर्णालीका मुद्दा के–के उठाउने भन्नेबारे पहिले छलफल गर्न उहाँले सुझाउनुभयो । कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, प्रमुख सचिव तथा विषयगत मन्त्रालयका सचिवहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्