OnlinePana

आज : २०८२ फागुन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन १९, २०८२
१३ पटक

१९ फागुन २०८२, मंगलबार

१९ फागुन ः यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि कर्णालीका सबै मतदान केन्द्रहरुमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगेका छन् ।

निर्वाचन आयोग कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईका अनुसार १० जिल्लाका नौ सय ४१ मतदानस्थल र एक हजार एक सय ३७ मतदान केन्द्रमा नेपाली सेनासहितको सबै तहका सुरक्षाकर्मी, निर्वाचन सामग्रीसहित कर्मचारी मतदान केन्द्रमा पुगेका छन् । भौगोलिक विकट मानिएका डोल्पा, हुम्ला र मुगु जिल्लामा हेलिकोप्टर र पैदल यात्रामार्फत कर्मचारीहरु मतदान केन्द्रमा पुगिसकेको उहाँले बताउनुभयो ।

माथिल्लो डोल्पाका २० मतदान केन्द्रमा नेपाली सेनाको हेलिकोप्टरको सहयोगमा निर्वाचन कर्मचारीसहित सामग्री पुर्याइ सकिएको र तीन मतदान केन्द्रमा तीन दिनको पैदल यात्रा गरी कर्मचारीसहित निर्वाचन सामग्री पुगेको जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिनुभयो । उहाँका अनुसार कारागार र कर्मचारीका लागि बालमन्दिर दुई अस्थायीसहित ७० मतदान केन्द्र रहेका छन् ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले एक अस्थायीसहित जिल्लाका ७० वटै मतदान केन्द्रमा सुरक्षाकर्मी तथा निर्वाचन कर्मचारीसहित सामग्री पुगेको बताउनुभयो । त्यसैगरी, जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले चार वटा मतदान केन्द्रमा निर्वाचन कर्मचारी र सामग्री हेलिकोप्टरमार्फत पुर्याइएको बताउनुभयो । उहाँका अनुसार हुम्लामा ६० मतदानस्थल तथा एक अस्थायीसहित ६५ मतदान केन्द्र रहेका छन् ।

पुरुष पाँच लाख २७ हजार आठ सय ८६ र महिला पाँच लाख नौ हजार तीन सय ६१ मतदाता गरी कर्णाली प्रदेशमा दश लाख ३७ हजार मतदाता रहेका छन् । जसमा सबैभन्दा बढी मतदाता संख्या सुर्खेतमा दुई लाख ४८ हजार नौ सय ४३ छ भने सबैभन्दा कम डोल्पामा २४ हजार एक सय १५ मतदाता संख्या रहेको छ ।

 

प्रतिकृया दिनुहोस्