OnlinePana

आज : २०८२ माघ २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ १९, २०८२
१० पटक

१८ माघ २०८२, आईतबार

सुर्खेतः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले संविधान मिचेर हुने कुनैपनि निर्णय प्रदेशलाई स्वीकार्य नहुने बताउनुभएको छ ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौ अधिवेशनको आज सुर्खेत वीरेन्द्रनगरमा बसेको पहिलो बैठकमा बोल्दै मुख्यमन्त्री कँडेलले संघीय सरकारसँग टक्राव नभई सम्मानजनक सहकार्य चाहेको बताउनुभयो । सदनमा बोल्दै उहाँले भन्नुभयो, “प्रदेश सरकार न कुनै वैकिल्पक व्यवस्था हो न संघीय सरकारको एकाई हो, यो त जनआन्दोलनको उपलब्धि र संविधानको मेरुदण्ड हो ।”

संघीय सरकारबाट बजेट प्राप्त हुने नाममा भएको पत्रचारमाथि हामी प्रदेश सरकारहरुको सामुहिक प्रतिवादले निर्णय सच्याउन तयार भएको जनाउँदै त्यसबाट केही सुधार भएको मुख्यमन्त्री कँडेलले बताउनुभयो । जेनजी आन्दोलनपश्चात् बनेको नागरिक सरकारको मुख्य काम आसन्न फागुन २१ गते चुनाव सम्पन्न गर्ने भनिएपनि चुनाव हुनेमा संशय रहेको उहाँको भनाई थियो ।

नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशसभा दल नेता मंगलबहादुर शाहीले जेनजी आन्दोलनले ल्याएको परिवर्तनसँगै हरेक सच्चिन जरुरी रहेको बताउनुभयो । भ्रष्टाचारमुक्त र सुशासनयुक्त देश हुनुपर्छ भनेर सडकमा आएको युवा पुस्ताले व्यहोरेको क्षतिमा तत्कालीन सत्तासीन दललले जिम्मा लिनेमात्र नभई सबै दलले संस्कार, पद्धति र शैलीमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो ।

नेपाली काँग्रेस कर्णाली प्रदेशसभा दल नेता जीवनबहादुर शाहीले कुनै पनि देशमा न्यूनतम आवश्यकता पुरा नहुँदा त्यहाँ बेथिति धेरै हुने टिप्पणी गर्नुभयो । कुरा राम्रो र मिठो गरेर सुशासन नहुने भन्दै उहाँले सहि प्रणाली र पद्धतिको विकास एवं संस्थागत हुन सकेमात्र मुलुक सहि दिशामा जाने बताउनुभयो । आज देश रहने कि नरहने भन्ने चिन्ताको विषय बढेकोले यसमा सबै गम्भीर हुनुपर्ने उहाँको भनाई थियो ।

नेकपा एमाले कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक टेकराज पछाईले पुराना पार्टीहरु सबै गलत हुन् भन्ने भाष्य चल्नु दुर्भाग्य भएको बताउनुभयो । जेनजीहरुको आन्दोलनको मक्सद सहि हुँदाहुँदै त्यसमा संघीय व्यवस्था विरोधी शक्तिहरुले फाईदा उठाएको उहाँले जिकिर गर्नुभयो ।

राप्रपा प्रदेशसभा सदस्य सन्तोषी शाहीले सुशासनका नाममा नातावाद र कृपावाद हावी हुँदा त्यसको परिणामस्वरुप आजको परिस्थिति सिर्जना भएको बताउनुभयो । सभामुख नन्दा गुरुङले अर्को बैठक यही माघ १९ गते दिउसो ३ः०० बजे बस्ने जानकारी दिनुभयो ।

 

 

प्रतिकृया दिनुहोस्